चितवन, चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको भरतपुर महानगरपालिका–२३ बेलहट्टामा जङ्गली हात्तीको आक्रमणले फेरि एकपटक मानव–वन्यजन्तु द्वन्द्वको गम्भीर समस्या उजागर गरेको छ।
शनिबार मध्यराति बस्तीमा पसेको हात्तीको आक्रमणबाट एक महिलासहित उनका चार वर्षीय छोराको ज्यान गएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातिको समयमा जङ्गली हात्ती स्थानीय पूर्ण बोटेको घरमा प्रवेश गरेको थियो।
घरभित्र निदाइरहेका बेला हात्तीले २५ वर्षीया आशिका बोटे र उनका चार वर्षीय छोरा भरत बोटेमाथि आक्रमण गरेको थियो।
आक्रमणबाट दुवैको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
अचानक हात्ती घरभित्र पसेपछि परिवारका अन्य सदस्यले भागेर ज्यान जोगाएका थिए। हात्तीलाई बस्तीबाट धपाउने प्रयासमा घरधनी पूर्ण बोटेले आगो बालेका थिए ।
तर, आगो नियन्त्रणबाहिर जाँदा कच्ची घरमा समेत आगलागी भएको र घरमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय गीतानगरबाट प्रहरी टोली घटनास्थल पुगेको थियो।
स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको तथा घटनास्थलको सुरक्षा व्यवस्थापन गरिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार घटनास्थलको मुचुल्का, शव परीक्षणलगायत कानूनी प्रक्रिया पूरा गरिएको छ।
साथै, चितवन राष्ट्रिय निकुञ्जसँग समन्वय गरी घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको उनले बताए ।
स्थानीयवासीका अनुसार निकुञ्ज आसपासका बस्तीमा पछिल्लो समय जङ्गली हात्तीको आवतजावत बढ्दो क्रममा छ।
हात्तीले घरमा क्षति पुर्याउने, अन्नबाली नष्ट गर्ने र मानवमाथि आक्रमण गर्ने घटना दोहोरिन थालेपछि स्थानीयमा असुरक्षा र त्रास बढेको छ।
विशेषगरी रातिको समयमा बस्तीमा हात्ती प्रवेश गर्ने घटनाले जनजीवन प्रभावित बन्दै गएको उनीहरूको भनाइ छ।
यस घटनाले निकुञ्ज संरक्षण र स्थानीय बासिन्दाको सुरक्षाबीच सन्तुलन कायम गर्ने चुनौतीलाई फेरि सतहमा ल्याएको छ।
स्थानीयले वन्यजन्तुको आवागमन नियन्त्रण गर्न प्रभावकारी पूर्वसूचना प्रणाली, सुरक्षित बारबेर, नियमित गस्ती तथा जोखिमयुक्त बस्तीमा विशेष सुरक्षा व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।
घटनापछि निकुञ्ज प्रशासन, स्थानीय तह र सुरक्षा निकायले प्रभावित क्षेत्रमा निगरानी बढाएका छन्।
साथै पीडित परिवारलाई राहत, उचित क्षतिपूर्ति तथा मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका दीर्घकालीन कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने आवश्यकता थप टड्कारो बनेको सरोकारवालाहरूले बताएका छन्।


































