एजेन्सी, संयुक्त राज्य अमेरिकाले आफ्नो २५०औँ स्वतन्त्रता दिवस भव्य रूपमा मनाइरहेको छ।
ऐतिहासिक अवसरलाई स्मरणीय बनाउन देशभर विशेष कार्यक्रम आयोजना गरिएका छन्।
अमेरिकाका सबै ५० राज्यमा परेड, सांस्कृतिक प्रस्तुति, ऐतिहासिक प्रदर्शनी, संगीत कन्सर्ट तथा विविध सार्वजनिक कार्यक्रम भइरहेका छन्।
विशेषगरी फिलाडेल्फिया, न्युयोर्क र वासिङ्टन डीसीमा हजारौँ मानिसको सहभागितामा उत्सव मनाइँदै छ।
ह्वाइट हाउसका अनुसार राष्ट्रपति डोनाल्ड ट्रम्पले स्वतन्त्रता दिवसका अवसरमा राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ।
सम्बोधनपछि राजधानी वासिङ्टन डीसीमा अमेरिकाको इतिहासकै सबैभन्दा भव्य आतिशबाजी प्रदर्शन गरिने तयारी गरिएको छ।
केही क्षेत्रमा अत्यधिक गर्मी र प्रतिकूल मौसमको अवस्था भए पनि उत्सवप्रति जनसहभागितामा कुनै कमी आएको छैन।
विभिन्न स्थानमा नागरिकहरू राष्ट्रिय झण्डासहित स्वतन्त्रता दिवसका कार्यक्रममा उत्साहपूर्वक सहभागी भइरहेका छन्।
अमेरिकी स्वतन्त्रताको प्रतीक मानिने फिलाडेल्फियामा स्थानीय समयअनुसार दिउँसो १२ बजे ऐतिहासिक स्वतन्त्रताको घण्टी बजाइएको थियो।
इन्डिपेन्डेन्स मलमा स्वतन्त्रता आन्दोलनका महत्वपूर्ण घटनालाई झल्काउने विशेष सांस्कृतिक तथा ऐतिहासिक प्रस्तुति गरिएको थियो।
सन् १७७६ को जुलाई ४ मा उत्तरी अमेरिकाका १३ वटा ब्रिटिस उपनिवेशले स्वतन्त्रताको घोषणा गर्दै बेलायती शासनबाट अलग हुने ऐतिहासिक निर्णय गरेका थिए।
यही घटनाको स्मरणमा प्रत्येक वर्ष जुलाई ४ लाई अमेरिकाको स्वतन्त्रता दिवसका रूपमा मनाइन्छ।
यस वर्षको उत्सवलाई अमेरिकाले ‘अमेरिका २५०’ अभियानका रूपमा विशेष महत्वका साथ मनाइरहेको छ।
देशको २५० वर्षे इतिहास, लोकतान्त्रिक मूल्य र राष्ट्रिय एकतालाई उजागर गर्ने उद्देश्यले वर्षभर विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना पनि सार्वजनिक गरिएको छ।


































