२०८३ असार २१ आइतवार | Sunday, Jul 05 2026

डोल्पामा बाढी गाउँमा पस्दा एक महिलाको मृत्यु, ६ जना घाइते

Untitled
Untitled
Untitled

डोल्पा, डोल्पाको जगदुल्ला गाउँपालिकामा अविरल वर्षापछि आएको लेदोसहितको बाढी गाउँमा पस्दा एक महिलाको ज्यान गएको छ भने छ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार आइतबार बिहान करिब ३ बजे जगदुल्ला गाउँपालिका–५ गैरीगाउँस्थित धुलाखोला र आसपासका खोल्सामा आएको बाढी बस्तीमा पसेको थियो।

बाढीले बगाउँदा ५६ वर्षीया आनन्दी विक गम्भीर घाइते भएका थिए ।

उनलाई स्थानीयको सहयोगमा उद्धार गरी उपचारका लागि स्वास्थ्य चौकी लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक पदम रावलले जानकारी दिए ।

उक्त घटनामा अन्य छ जना स्थानीयवासी घाइते भएका छन्।

घाइते हुनेमा ५० वर्षीय चाउरी विक, ४४ वर्षीय रेउली विक, ४८ वर्षीय विष्णु विक, १५ वर्षीया निरुता विक, १३ वर्षीया सीता विक र ६५ वर्षीय जस विक रहेका छन्।

घाइतेहरूको जगदुल्लास्थित झ्याकोट स्वास्थ्य चौकीमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घाइतेमध्ये रेउली विकको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि जुम्ला रिफर गरिएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी माझगाउँबाट प्रहरी सहायक निरीक्षकको नेतृत्वमा खटिएको टोलीले स्थानीयवासीसँगको समन्वयमा घाइतेहरूको उद्धार गरेको थियो।

त्यसपछि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षकको नेतृत्वमा थप पाँच जना प्रहरी, नेपाली सेनाका १० जना र सशस्त्र प्रहरी बलका ११ जना घटनास्थलतर्फ परिचालन गरिएको छ।

प्रमुख जिल्ला अधिकारी जुनु हमाल ढकालले बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको विस्तृत विवरण संकलन भइरहेको बताउँदै प्रभावित क्षेत्रका बासिन्दाको उद्धार, राहत तथा आवश्यक व्यवस्थापनका लागि जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायसँग समन्वय गरिरहेको जानकारी दिए।

लगातारको वर्षासँगै थप जोखिम रहन सक्ने भएकाले स्थानीयलाई सतर्क रहन प्रशासनले आग्रह गरेको छ।

Untitled
Untitled
Untitled