२०८३ असार २१ आइतवार | Sunday, Jul 05 2026

देशभर मनसुन सक्रिय, सुदूरपश्चिमसहित तीन प्रदेशमा भारी वर्षाको चेतावनी

Untitled
Untitled
Untitled

काठमाण्डू, देशभर मनसुन प्रणाली सक्रिय रहेकाले आइतबार पनि अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वी नेपालतर्फ औसत स्थानभन्दा दक्षिणमा तथा पश्चिमी क्षेत्रमा औसत अवस्थाकै आसपास रहेकाले देशभर वर्षाको प्रभाव कायम रहने देखिएको हो।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका विभिन्न स्थानका साथै लुम्बिनी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो हिमाली र पहाडी क्षेत्रका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रहनेछ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्यदेखि पूर्ण बदली रहने अनुमान गरिएको छ भने कोशी, मधेश र बागमती प्रदेशका तराई क्षेत्रमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ।

दिउँसो हिमाली तथा पहाडी भू-भागका केही स्थानमा मेघगर्जन, चट्याङ र मध्यम वर्षा हुने सम्भावना रहेको छ।

साथै गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान, कोशी र बागमती प्रदेशका तराई क्षेत्र तथा मधेश प्रदेशका एक/दुई स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

विशेषगरी गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराईका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले ती क्षेत्रमा बाढी, पहिरो, डुबान तथा नदी–नालामा पानीको बहाव बढ्ने जोखिम रहेको भन्दै सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन्।

आज राति कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहनेछ भने बाँकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने पूर्वानुमान गरिएको छ।

हिमाली भू-भागका केही स्थानमा मेघगर्जनसहित वर्षा र उच्च हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यस्तै, सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्र, कोशी र कर्णाली प्रदेशका पहाडी भू-भाग तथा बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

कोशी प्रदेशको तराई र मधेश प्रदेशका एक/दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

महाशाखाले विशेषगरी सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी किनार, पहिरोको जोखिम भएका बस्ती तथा सडकमार्गमा यात्रा गर्नेहरूले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

साथै वर्षाका कारण दैनिक जनजीवन, सडक तथा हवाई यातायात र कृषि गतिविधिमासमेत असर पर्न सक्ने भएकाले आवश्यक सावधानी अपनाउन सर्वसाधारणलाई अनुरोध गरिएको छ।

Untitled
Untitled
Untitled