काठमाण्डू, महिलाका लागि सञ्चालन गर्न लागिएको ‘ब्लू बस’ कार्यक्रमलाई लिएर सामाजिक सञ्जालमा चर्को बहस भइरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद राजीव खत्रीले त्यसको बचाउ गरेका छन्।
बसको निलो रङलाई लिएर भइरहेको राजनीतिक टिप्पणीलाई उनले अनावश्यक र जनसेवाको विषयलाई रंगसँग जोड्ने प्रवृत्ति भएको बताएका छन्।
सरकारले शासकीय सुधारसम्बन्धी कार्ययोजनाअन्तर्गत सातै प्रदेशमा महिला यात्रुका लागि ‘ब्लू बस’ सञ्चालन गर्ने योजना अघि सारेको थियो।
सोही योजनाको सुरुआतस्वरूप काठमाडौंमा साझा यातायातका केही बसलाई निलो रङमा सञ्चालन गर्ने तयारी गरिएको हो।
सरकारले प्रारम्भिक चरणमा १०० दिनभित्र २४ वटा ब्लू बस सञ्चालन गर्ने लक्ष्य राखेको भएपनि नयाँ बस खरिद हुन नसकेपछि हाल सञ्चालनमा रहेका साझा यातायातका आठवटा बसलाई निलो रङमा रूपान्तरण गरेर सेवा शुरु गर्ने तयारी गरेको छ।
यही विषयलाई लिएर सामाजिक सञ्जालमा सरकारको आलोचना भइरहेको छ।
कतिपयले नयाँ सेवा विस्तार गर्नुको सट्टा बसको रङ मात्र परिवर्तन गरेर उपलब्धि देखाउन खोजिएको आरोप लगाएका छन्।
यही आलोचनापछि रास्वपाका सांसद राजीव खत्रीले फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै निलो रङलाई कुनै राजनीतिक दलको पहिचानसँग जोड्नु अनुचित भएको बताएका छन्।
उनले व्यंग्यात्मक शैलीमा लेखेका छन्, के निलो रङ रास्वपालाई दाइजोमा दिएको हो ? आकाश निलो छ, त्यसलाई पनि पार्टीको सम्पत्ति भन्ने ? राष्ट्रिय झण्डाको निलो किनार हटाउने कि समुद्रमाथि पनि ट्रेडमार्क लगाइदिने ?
उनको भनाइमा रङलाई लिएर राजनीतिक विवाद सिर्जना गर्नु भन्दा नागरिकलाई प्रदान गरिने सेवाको गुणस्तर र उद्देश्यलाई प्राथमिकता दिनुपर्छ।
रङसँग डराउने मानसिकतालाई उनले राजनीतिक फोबियाको संज्ञा दिएका छन्।
सांसद खत्रीले चिनियाँ नेता देङ सियाओपिङको चर्चित भनाइ उद्धृत गर्दै बिरालो कालो होस् वा सेतो, मुसा मार्नुपर्छ भन्ने उदाहरण प्रस्तुत गरेका छन्।
उनका अनुसार सरकारको काम जनतालाई सेवा दिनु हो, र त्यसमा बसको रङभन्दा सेवाको प्रभावकारिता महत्वपूर्ण हुन्छ।
महिलालाई सुरक्षित तथा निःशुल्क सार्वजनिक यातायात उपलब्ध गराउने उद्देश्यले ल्याइएको ब्लू बस अवधारणालाई सकारात्मक रूपमा लिनुपर्ने उनको धारणा छ।
उनले शासकीय सुधारको कार्यक्रमलाई राजनीतिक पूर्वाग्रहका आधारमा व्याख्या गर्नु उचित नहुने बताएका छन्।
खत्रीले थप प्रश्न गर्दै राज्यको स्रोत प्रयोग गरेर विभिन्न दलका नेताहरूका नाममा सडक, भवन, पार्क र स्मारक निर्माण हुँदा मौन बस्नेहरूले जनताको सेवाका लागि सञ्चालन गरिने बसको रङमाथि विवाद गर्नु दोहोरो मापदण्ड भएको टिप्पणी गरेका छन्।
उनले कांग्रेसका नेता कृष्णप्रसाद भट्टराईको सादगीपूर्ण जीवनको उदाहरण दिँदै अहिले नेताहरूका नाममा सार्वजनिक संरचना निर्माणमा राज्यकोष खर्च हुँदा प्रश्न नउठ्ने, तर महिलाको सेवाका लागि सञ्चालन हुने बसको रङमाथि विवाद गरिनु विडम्बनापूर्ण भएको उल्लेख गरेका छन्।
अन्त्यमा सांसद खत्रीले निलो रङ कुनै दल वा व्यक्तिको निजी सम्पत्ति नभएको उल्लेख गर्दै महिलाले सुरक्षित, सहज र निःशुल्क यात्रा गर्न पाउने अधिकार नै मुख्य विषय भएको बताएका छन्।
उनले रंगको बहानामा राजनीतिक विवाद सिर्जना गर्नुको सट्टा जनमुखी सेवाको प्रभावकारितामाथि बहस गर्न सबैलाई आग्रह गरेका छन्।


































