काठमाण्डू, नेपाली कांग्रेसभित्र १५औँ महाधिवेशनको तयारीसँगै आन्तरिक ध्रुवीकरण थप तीव्र बनेको छ।
संस्थापन इतर समूहले महाधिवेशनलाई केन्द्रमा राखेर काठमाडौंको चुनदेवीमा सम्पर्क कार्यालय सञ्चालन गर्ने निर्णय गरेको छ भने साझा महाधिवेशनको सम्भावना दिनप्रतिदिन कमजोर बन्दै गएको निष्कर्ष पनि निकालेको छ।
शुक्रबार निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा बसेको संस्थापन इतर समूहको बैठकले असार २२ गते चुनदेवीस्थित सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्ने निर्णय गरेको हो।
समूहका नेताहरूका अनुसार उक्त कार्यालय महाधिवेशनसँग सम्बन्धित सम्पूर्ण गतिविधिको समन्वय केन्द्रका रूपमा सञ्चालन हुनेछ।
बैठकपछि नेता मीनबहादुर विश्वकर्माले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको नियमित बैठक पनि अब सोही कार्यालयबाट सञ्चालन गरिने जानकारी दिए ।
उनले महाधिवेशनको तयारीलाई व्यवस्थित बनाउन र देशभरका नेता–कार्यकर्तासँग प्रभावकारी समन्वय गर्न कार्यालय स्थापना गरिएको बताए ।
बैठकले पार्टीभित्र एकतामूलक महाधिवेशनका लागि भइरहेको संवादले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको निष्कर्ष निकालेको छ।
संस्थापन इतर समूहले अझै पनि सहमतिका आधारमा एउटै महाधिवेशन सम्पन्न गर्नुपर्ने अडान कायम राखे पनि वर्तमान राजनीतिक परिस्थिति हेर्दा त्यसको सम्भावना कमजोर बन्दै गएको जनाएको छ।
नेता विश्वकर्माले भने, हाम्रो पहिलो प्राथमिकता सहमतिमै १५औँ महाधिवेशन सम्पन्न गर्नु हो। तर, पछिल्ला घटनाक्रमले त्यो सम्भावना क्रमशः साँघुरिँदै गएको देखिन्छ।
विशेष महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापा नेतृत्वको समितिले आगामी असोजमा १५औँ महाधिवेशन गर्ने निर्णय गरिसकेको छ।
तर, संस्थापन इतर समूहले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समिति र विशेष महाधिवेशनबाट बनेको समितिलाई एकीकृत गरेर मात्रै महाधिवेशन आयोजक समिति गठन गर्नुपर्ने अडान दोहोर्याएको छ।
इतर समूहको तर्क छ, दुवै पक्षलाई समेटेर बनाइएको संरचनाले मात्र महाधिवेशनलाई निष्पक्ष, वैधानिक र सर्वस्वीकार्य बनाउन सक्छ।
त्यसका साथै निर्वाचन समिति तथा महाधिवेशनसँग सम्बन्धित अन्य संयन्त्रमा पनि सबै पक्षको समान सहभागिता सुनिश्चित हुनुपर्ने उनीहरूको माग छ।
यद्यपि गगन थापा पक्षले १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई आयोजक समितिमा समावेश गर्ने प्रस्ताव अस्वीकार गरेपछि दुई पक्षबीचको मतभेद अझ गहिरिएको छ।
संस्थापन इतर समूहले सहमतिका लागि संवाद जारी राख्ने प्रतिबद्धता दोहोर्याए पनि सहमति कायम हुन नसके एउटै समयमा समानान्तर महाधिवेशन आयोजना गर्ने विकल्पलाई समेत खुला राखेको संकेत दिएको छ।
महाधिवेशनको तयारीस्वरूप इतर समूहले यसअघि सातै प्रदेशमा नेता–कार्यकर्ता भेला सम्पन्न गरिसकेको छ।
अब केन्द्रीय सम्पर्क कार्यालय सञ्चालनमा आएपछि संगठन विस्तार, समन्वय र महाधिवेशन केन्द्रित गतिविधिलाई थप गति दिने तयारी गरिएको समूहले जनाएको छ।


































