२०८३ असार १८ बिहीवार | Thursday, Jul 02 2026

हर्मुज स्ट्रेटमा इरानको दाबी दोहोरियो, नियन्त्रणमा कुनै सम्झौता छैन

Untitled
Untitled
Untitled

एजेन्सी, इरानले विश्वकै महत्त्वपूर्ण सामुद्रिक व्यापारिक मार्गमध्ये एक मानिने स्ट्रेट अफ हर्मुजमाथिको आफ्नो नियन्त्रण कायम रहने स्पष्ट गर्दै यस विषयमा कुनै पनि प्रकारको सम्झौता वा दबाबका आधारमा आफ्नो अडान परिवर्तन नहुने जनाएको छ।

इरानी नेतृत्वले हर्मुज स्ट्रेटलाई देशको रणनीतिक शक्ति र राष्ट्रिय सुरक्षासँग जोडिएको संवेदनशील क्षेत्रका रूपमा व्याख्या गरेको छ।

इरानको संसद्का सभामुख मोहम्मद बाकर गालिबाफले अमेरिकासँग भएको समझदारीपत्र (एमओयू) अन्तर्गत समुद्री सेवा शुल्कमा दिइएको ६० दिनको छुटलाई केवल अस्थायी प्रशासनिक व्यवस्था भएको स्पष्ट पारे।

उक्त निर्णयलाई इरानले हर्मुज स्ट्रेटमाथिको आफ्नो अधिकार कमजोर बनाएको वा नियन्त्रणमा कुनै परिवर्तन आएको रूपमा व्याख्या गर्न नहुने उनले बताए।

सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा गालिबाफले स्ट्रेट अफ हर्मुज इरानको क्षेत्रीय जलक्षेत्रभित्र पर्ने भएकाले त्यसमाथिको सार्वभौम अधिकार यथावत् रहेको दोहोर्‍याए।

उनका अनुसार इरानले आफ्नो समुद्री सीमासम्बन्धी नीतिमा कुनै परिवर्तन नगरेको र भविष्यमा पनि त्यसबाट पछि नहट्ने स्पष्ट संकेत दिएको छ।

उनले भने, “हर्मुज स्ट्रेटमाथिको आफ्नो अधिकार इरानले कहिल्यै त्यागेको छैन र त्याग्ने पनि छैन।

यस विषयमा हाम्रो राष्ट्रिय अडान स्पष्ट छ। कुनै पनि राजनीतिक, कूटनीतिक वा सैन्य परिस्थितिले हाम्रो नीति परिवर्तन गर्न सक्दैन।”

गालिबाफले विशेषगरी क्षेत्रीय तनाव र युद्धको अवस्थाको सन्दर्भ उल्लेख गर्दै हर्मुज स्ट्रेटलाई इरानका लागि “ईश्वरको उपहार” भएको टिप्पणी गरे।

उनका अनुसार यो सामुद्रिक मार्गले इरानलाई रणनीतिक लाभ प्रदान गर्ने भएकाले राष्ट्रिय हितको संरक्षणमा यसको भूमिका अत्यन्त महत्त्वपूर्ण रहेको छ।

विश्वको ठूलो परिमाणमा कच्चा तेल तथा प्राकृतिक ग्यास ओसारपसार हुने प्रमुख समुद्री मार्गका रूपमा परिचित स्ट्रेट अफ हर्मुज लामो समयदेखि अन्तर्राष्ट्रिय शक्ति प्रतिस्पर्धाको केन्द्र बन्दै आएको छ।

यस मार्गलाई लिएर इरान र पश्चिमी मुलुकहरूबीच बेलाबेलामा तनाव उत्पन्न हुँदै आएको छ।

यस्तो अवस्थामा इरानी नेतृत्वको पछिल्लो अभिव्यक्तिलाई क्षेत्रीय सुरक्षा र ऊर्जा आपूर्तिसँग जोडेर महत्त्वका साथ हेरिएको छ।

Untitled
Untitled
Untitled