काठमाण्डू, नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा व्यापक कटौती गर्दै नयाँ मूल्य बुधबार बिहानदेखि लागू हुने गरी सार्वजनिक गरेको छ।
निगम सञ्चालक समितिको मंगलबारको निर्णयअनुसार पेट्रोल, डिजेल, मट्टितेल, हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य घटाइएको हो।
नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर २० रुपैयाँ सस्तो भएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ३० रुपैयाँले घटेको छ।
यसपछि काठमाडौं, पोखरा र दिपायललगायत तेस्रो वर्गका क्षेत्रमा पेट्रोल प्रतिलिटर १९७ रुपैयाँ तथा डिजेल र मट्टितेल प्रतिलिटर १९५ रुपैयाँमा बिक्री हुनेछ।
एलपी ग्यास प्रयोग गर्ने उपभोक्ताले पनि राहत पाउने भएका छन्।
निगमले १४.२ केजी क्षमताको ग्यास सिलिन्डरमा १०० रुपैयाँ मूल्य घटाएर नयाँ खुद्रा मूल्य २ हजार ६० रुपैयाँ कायम गरेको छ।
यसअघि यही सिलिन्डरको मूल्य २ हजार १६० रुपैयाँ थियो। हवाई इन्धनको मूल्य पनि उल्लेख्य रूपमा घटाइएको छ।
आन्तरिक उडानका लागि प्रयोग हुने हवाई इन्धन प्रतिलिटर ४० रुपैयाँले सस्तो भई २२९ रुपैयाँ कायम भएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फको हवाई इन्धनमा प्रति किलोलिटर २६५ अमेरिकी डलरले मूल्य समायोजन गरिएको छ।
निगमले इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट प्राप्त नयाँ खरिद मूल्यमा आएको कमीका आधारमा स्वचालित मूल्य निर्धारण प्रणालीअनुसार पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिएको स्पष्ट पारेको छ।
निगमका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्य प्रवृत्तिअनुसार आवश्यक परे आगामी दिनमा पनि मूल्य पुनः संशोधन हुन सक्नेछ।


































