काठमाण्डू, नेपालमा यस वर्षको मनसुन अन्ततः देशभर फैलिएको छ।
गतअसार ५ गते पूर्वी नाकाबाट भित्रिएको मनसुनी प्रणाली सोमबारदेखि गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भू-भाग हुँदै कर्णाली र सुदूरपश्चिमसम्म विस्तार भएसँगै मनसुन देशव्यापी रूपमा सक्रिय भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागका अनुसार यस वर्ष मनसुन औसत समयभन्दा ६ दिन ढिलो नेपाल प्रवेश गरेको थियो।
सामान्यतया मनसुन प्रवेश गरेपछि करिब एक साताभित्र देशभर फैलिने भएपनि यसपटक गण्डकी र लुम्बिनी प्रदेशको केही क्षेत्रमा केही दिन स्थिर रहेकाले सम्पूर्ण देशमा फैलिन १२ दिन लागेको हो।
देशभर मनसुन सक्रिय भएसँगै काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा वर्षा भइरहेको छ। तर, वर्षाको वितरण भने असमान देखिएको छ।
हाल पश्चिम नेपालमा मनसुनी प्रभाव बढी रहेकाले त्यहाँ राम्रो वर्षा भइरहेको छ भने पूर्वी नेपाल, विशेषगरी तराईका जिल्लामा अपेक्षाकृत कम वर्षा भएको मौसमविद्हरूले बताएका छन्।
मौसमविद् विनोद पोखरेलका अनुसार मनसुन देशभर पुगेको भएपनि सबै क्षेत्रमा समान रूपमा वर्षा नहुने बताउँछन्।
उनका अनुसार वर्षाको मात्रा मनसुनको न्यूनचापीय रेखाको अवस्थाले निर्धारण गर्छ।
अहिले उक्त रेखा पश्चिम नेपालको नजिक रहेकाले पश्चिमी क्षेत्रमा वर्षा बढी र पूर्वी तराईमा कम भएको हो। यही अवस्था यो साताभर कायम रहने सम्भावना रहेको उनको भनाइ छ।
लगातारको वर्षासँगै पश्चिम नेपालका केही जिल्लामा बाढीको जोखिम पनि बढ्दै गएको छ।
बाढी पूर्वानुमान महाशाखाले बाँके, बर्दिया र कैलाली भएर बग्ने साना नदी तथा खोलाहरूमा जलसतह बढ्न सक्ने भन्दै नदी किनार र डुबान जोखिम भएका क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भू-भागका अधिकांश स्थान तथा हिमाली क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ।
तराईका केही स्थानमा पनि वर्षा हुने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक/दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।
त्यस्तै, कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही पहाडी तथा तराई क्षेत्रमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेको छ।
मधेश प्रदेश र बागमती प्रदेशका केही स्थानमा पनि भारी वर्षा हुन सक्ने विभागले जनाएको छ। आज राति पनि मनसुनी गतिविधि सक्रिय रहने अनुमान गरिएको छ।
हिमाली भूभागका केही स्थान, पहाडी क्षेत्रका केही स्थान तथा तराईका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा रातिको समयमा समेत भारी वर्षा हुन सक्ने विभागको पूर्वानुमान छ।
यसैबीच, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिन देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले नागरिकलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
प्राधिकरणले पहाडी क्षेत्रमा पहिरो, नदी तथा खोलामा आकस्मिक बाढी र तराईका होचा भू-भागमा डुबानको जोखिम बढ्न सक्ने भन्दै अनावश्यक यात्रा नगर्न, मौसमसम्बन्धी आधिकारिक सूचना नियमित रूपमा पछ्याउन तथा स्थानीय प्रशासन र सुरक्षा निकायको निर्देशन पालना गर्न सबैसँग अनुरोध गरेको छ।


































