२०८३ असार १६ मंगलवार | Tuesday, Jun 30 2026

मनसुन थप फैलिँदै, कोशीसहित विभिन्न प्रदेशमा भारी वर्षा हुने

Untitled
Untitled
Untitled

काठमाण्डौ । देशका अधिकांश क्षेत्रमा मनसुनी गतिविधि सक्रिय बन्दै गएको छ।

जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश र बागमती प्रदेशका सबै भू-भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा मनसुनी वायुको प्रभाव रहेको छ।

अन्य प्रदेशमा भने पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ।

विभागले आगामी दुईदेखि तीन दिनभित्र गण्डकी र लुम्बिनीका बाँकी भू-भागसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशभर पनि मनसुन विस्तार हुने सम्भावना जनाएको छ।

हाल कोशी र मधेश प्रदेशका साथै देशका अधिकांश पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि पूर्ण बदली रहेको छ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थान तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।

सोमबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा पनि वर्षा हुने अनुमान छ। तराईका केही क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ।

विशेषगरी कोशी प्रदेशका पहाडी तथा तराई क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ।

त्यस्तै कोशीको तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्न सक्ने सम्भावना पनि रहेको छ।

रातिको समयमा पनि मौसममा उल्लेख्य सुधार नआउने विभागको प्रक्षेपण छ।

देशभर सामान्यदेखि पूर्ण बदली रहने, कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही क्षेत्रमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ।

यसैगरी मधेश प्रदेश तथा कोशी, बागमती र गण्डकीका तराई क्षेत्रमा धेरै स्थानमा वर्षा हुन सक्ने अनुमान गरिएको छ।

कोशी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा मधेश, बागमती र गण्डकीका एक/दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेकाले नदी/नाला आसपासका बासिन्दा, यात्रु तथा सर्वसाधारणलाई आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ।

साथै कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराई क्षेत्र तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरी चल्ने सम्भावना पनि औँल्याइएको छ।

Untitled
Untitled
Untitled