काठमाण्डौ । नेपाली कृषक समुदायका लागि विशेष महत्त्व बोकेको असार १५ आज देशभर राष्ट्रिय धान दिवस तथा दही–चिउरा खाने पर्वका रूपमा मनाइँदै छ।
खेतमा धान रोप्ने, असारे भाका गाउने र दही–चिउरा खाएर श्रमको सम्मान गर्ने परम्परासँग जोडिएको यो दिन नेपाली समाजको कृषि र संस्कृतिको प्रतीकका रूपमा स्थापित भएको छ।
धान रोपाइँको मुख्य मौसम मानिने असार १५ मा किसान बिहानैदेखि खेतमा व्यस्त हुन्छन्।
रोपाइँको थकान मेटाउन र शरीरमा ऊर्जा तथा शीतलता प्रदान गर्ने विश्वासका साथ दही–चिउरा खाने चलन रहिआएको छ।
यही कारण यो दिनलाई ‘दही–चिउरा खाने पर्व’ का रूपमा पनि व्यापक रूपमा मनाइन्छ।
खेतीपातीमा संलग्न नभएका धेरै नेपालीले पनि पारिवारिक जमघटमा दही–चिउरा खाएर यो पर्व मनाउने गर्छन्।
नेपाली संस्कृतिमा दहीलाई शुभताको प्रतीक मानिन्छ।
कुनै शुभकार्य, यात्रा वा विदेश प्रस्थानअघि दही–अक्षता लगाउने र सगुनका रूपमा दही खुवाउने परम्परा आज पनि जीवित छ।
दही खाएर घरबाट निस्कँदा शुभफल प्राप्त हुने जनविश्वास समाजमा गहिरोसँग स्थापित छ।
स्वास्थ्यका दृष्टिले पनि दहीलाई पोषणयुक्त आहार मानिन्छ।
पाचन प्रणालीलाई सुदृढ बनाउन, शरीरलाई चिस्यान दिन तथा पखालाजस्ता समस्यामा लाभदायी हुने भएकाले आयुर्वेदमा दही र त्यसबाट बनेको मोहीलाई विशेष महत्त्व दिइएको छ।
भोजनपछि मोही सेवन गर्नुलाई स्वास्थ्यका लागि लाभदायक मानिने आयुर्वेदिक मान्यता आज पनि प्रचलनमा छ।
नेपालमा राष्ट्रिय धान दिवस मनाउने परम्परा विसं २०६२ सालदेखि सुरु भएको हो।
कृषिप्रधान मुलुकका रूपमा धान उत्पादनको महत्त्वलाई उजागर गर्न सरकारले असार १५ लाई राष्ट्रिय धान दिवस घोषणा गरेको थियो।
त्यसयता प्रत्येक वर्ष विभिन्न सरकारी तथा निजी निकायले रोपाइँ महोत्सव आयोजना गर्दै किसानप्रति सम्मान व्यक्त गर्ने गरेका छन्।
असारे भाका गुञ्जाउँदै हिलोमा रमाउने परम्परा पनि यस पर्वको अर्को विशेषता हो।
खेतमा रोपाइँ गर्दै लोकगीत गाउने, हिलो खेल्ने र सामूहिक रूपमा श्रममा सहभागी हुने संस्कृतिले ग्रामीण जीवनमा उत्साह थप्ने गरेको छ।
तर, यस वर्ष भने पर्याप्त वर्षा नहुँदा देशका धेरै क्षेत्रमा धान रोपाइँ अपेक्षाअनुसार अघि बढ्न सकेको छैन।
किसानहरूले कतिपय स्थानमा वर्षाको अभावसँगै रासायनिक मलको उपलब्धताबारे पनि गुनासो गरिरहेका छन्।
यद्यपि कृषि, वन तथा वातावरण मन्त्रालयले आवश्यक मात्रामा रासायनिक मल मौज्दात रहेको जनाएको छ।


































