२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

रियललाई हराउँदै तीन खेल अगावै बार्सिलोनाले जित्यो ला लिगाको उपाधि

Untitled
Untitled
Untitled

एजेन्सी, इङ्ल्यान्डका फरवार्ड मार्कस रासफोर्डले शानदार फ्रिकिक गोल गरेपछि बार्सिलोनाले चिरप्रतिद्वन्द्वी रियल मड्रिडलाई हराउँदै सिजन सकिन तीन खेल बाँकी रहँदै आफ्नो २९औँ ला लिगा उपाधि जितेको छ।

क्याम्प नोउमा भएको एल क्लासिकोमा रासफोर्डले घरेलु टोलीलाई अग्रता दिलाएका थिए भने फेरान टोरेसले उत्कृष्ट फिनिसमार्फत दोस्रो गोल थपेपछि हान्सी फ्लिकको टोली सहज जिततर्फ अघि बढ्यो।

दुवै खेलाडीले गोल गरेपछि साताको अन्त्यमा आफ्ना बुबा गुमाएका मुख्य प्रशिक्षक फ्लिकतर्फ दौडिएर समर्पण गरेका थिए।

लगातार दोस्रो सिजन स्पेनिस शीर्ष डिभिजन जितेको बार्सिलोना अहिले सर्वाधिक ३६ पटक उपाधि जितेको रियल मड्रिडभन्दा सात उपाधि पछाडि छ।

बार्सिलोनाले ला लिगामा लगातार ११ खेल जित्दै उपाधि यात्रा तय गरेको हो। उसले रियलमाथि १४ अंकको अग्रता बनाएको छ।

घरेलु मैदानमा बार्सिलोनाको प्रभावशाली प्रदर्शनले पनि उपाधिमा ठूलो भूमिका खेलेको छ। आफ्ना समर्थकमाझ खेलेका १८ वटै खेलमा टोली विजयी भएको छ।

ऋण सम्झौतामा म्यानचेस्टर युनाइटेडबाट बार्सिलोनामा आएका रासफोर्डले खेलको सुरुमै आकर्षक फ्रिकिकमार्फत गोल गरे।

रियलका गोलरक्षक थिबाउट कोर्टुवाले हल्का छोए पनि बललाई जाली चुम्नबाट रोक्न सकेनन्।

१८औँ मिनेटमा डानी ओल्मोको चतुर फ्लिक पासमा टोरेसले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए।

रियलका मिडफिल्डर ओरेलियन चुआमेनीले खेल सुरु गरेका थिए, जबकि केही दिनअघि उनी सहकर्मी फेडेरिको भाल्भेर्डेसँग विवादमा परेका थिए।

उक्त घटनामा भाल्भेर्डे घाइते भएपछि यो खेल गुमाएका थिए। दबाबमा रहेका रियल प्रशिक्षक आल्भारो अर्बेलोआले टोलीलाई प्रेरित गर्न सकेनन्।

गोन्जालो गार्सियाले पहिलो हाफमा पाएको अवसर सदुपयोग गर्न सकेनन्। रासफोर्डले दोस्रो गोल गर्ने अवसर पनि पाए तर कोर्टुवाले उत्कृष्ट बचाउ गरे।

दोस्रो हाफमा भिनिसियस जुनियर बार्सिलोनाको गोलतर्फ अघि बढे पनि गोलरक्षकजोआन गार्सियाले उनलाई रोकिदिए।

खेलको अन्त्यतिर ‘च्याम्पियोनेस, च्याम्पियोनेस’को नारा पुनर्निर्मित नाउ क्याम्पभरि गुञ्जिएको थियो। रोबर्ट लेवान्डोस्कीले अन्तिम समयमा तेस्रो गोल गर्ने नजिक पुगे पनि सफल हुन सकेनन्।

स्पेनमा चम्किए रासफोर्ड, तर भविष्य अन्योलमा

रासफोर्डको ऋण सम्झौता सिजनको अन्त्यमा सकिँदैछ। बार्सिलोनाले २ करोड ८० लाख पाउन्डमा उनलाई स्थायी रूपमा भित्र्याउने विकल्प प्रयोग गर्छ वा गर्दैन भन्नेमा अझै अन्योल छ।

खेलपछि आफ्नो भविष्यबारे बोल्दै रासफोर्डले भने, ‘मलाई थाहा छैन। म जादुगर होइन, तर यदि हुन्थेँ भने बार्सिलोनामै बस्ने थिएँ। फुटबल अनिश्चित हुन्छ।

अहिलेका लागि यो क्षणको आनन्द लिन्छु र सिजनपछि सम्भावनाबारे सोच्नेछु।’ तर, यो प्रदर्शनले उनले बार्सिलोनालाई अझै धेरै दिन सक्ने संकेत दिएको छ।

उनको फ्रिकिक गोल यो सिजनको १४औँ गोल थियो। उनले सबै प्रतियोगितामा ४७ खेल खेल्दै १४ असिस्ट पनि दिएका छन्।

२४ खेल मात्रै सुरुआती रोजाइमा परेका कारण बार्सिलोनाले उनलाई स्थायी रूपमा अनुबन्ध गर्ने विषयमा अझै निर्णय नगरेको हुन सक्छ।

तर, स्पेनमा आफ्नो पहिलो सिजनमै उनले उल्लेखनीय प्रभाव पारेका छन्। बार्सिलोनाले यो सिजन ला लिगाका सबै ३५ खेलमा गोल गरेको छ र त्यसमा रासफोर्डको भूमिका महत्वपूर्ण रहेको छ।

अब उनले आफ्नो करियरको पहिलो लिग उपाधि पनि जितेका छन्। त्यसैले व्यक्तिगत रूपमा हेर्दा गत गर्मीयाममा म्यानचेस्टर छाडेर बार्सिलोना जानु उनको उत्कृष्ट निर्णय साबित भएको छ।

रियल मड्रिडलाई धेरै सुधार आवश्यक

यो एल क्लासिको अर्बेलोआका लागि रियल प्रशिक्षकका रूपमा पहिलो थियो र सम्भवतः अन्तिम पनि हुन सक्छ। टोलीको निराशाजनक सिजनपछि उनको भविष्य अनिश्चित बनेको छ।

चुआमेनी र भाल्भेर्डेबिचको विवादले टोलीभित्र असन्तुष्टि देखाएको छ। जसले पनि टोली सम्हाले, उसले यो समस्या समाधान गर्नुपर्नेछ।

एल क्लासिको हार्नु नै पीडादायी हुन्छ, त्यसमाथि चिरप्रतिद्वन्द्वीले लगातार दोस्रो उपाधि जितेको रात यस्तो हार बेहोर्नु रियलका लागि झन् कष्टकर बनेको छ।

हाmसम्म भएका २६४ प्रतिस्पर्धात्मक भेटमा दुवै टोलीले १०६–१०६ खेल जितेका छन्।

रियलले ९० मिनेटभर केवल एक शट मात्रै लक्ष्यमा प्रहार गर्न सक्यो। ला लिगामा यस्तो अवस्था सन् २०२३ फेब्रुअरीपछि पहिलो पटक देखिएको हो।

खेलको अन्त्यतिर ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्डले राफिन्हालाई धकेलेका थिए। तर त्यो जोश रियललाई आवश्यक प्रकारको थिएन, बरु त्यसले घरेलु समर्थकलाई अझ उत्साहित बनायो।

स्पेनिस फुटबलको शिखरमा फर्किन रियल मड्रिडले अझ धेरै मेहनत गर्नुपर्ने देखिएको छ, जहाँ अहिले बार्सिलोना मजबुत रूपमा स्थापित छ।

Untitled
Untitled
Untitled