२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

युक्रेनसँगको युद्धमा रुसमा दुई हजार उत्तर कोरियाली सैनिक मारिएको सियोलको दाबी

Untitled
Untitled
Untitled

एजेन्सी, युक्रेनसँगको युद्धमा रुसलाई सहयोग गर्न पठाइएका करिब दुई हजार उत्तर कोरियाली सैनिक मारिएको अनुमान गरिएको सियोलको गुप्तचर निकायले मङ्गलबार जानकारी दिएको छ ।

सियोलको नेसनल इन्टेलिजेन्स सर्भिस (एनआइएस) ले गत अप्रिलमा ‘युद्धमा मारिएका सैनिकहरूको सङ्ख्या कम्तीमा छ सय थियो’ भन्ने तथ्याङ्क प्रस्तुत गरेको थियो ।

तर, ताजा मूल्याङ्कनअनुसार अब मृतकको सङ्ख्या करिब दुई हजार पुगेको अनुमान गरिएको सांसद ली सेओङ–क्वेनले जासुसी एजेन्सीबाट ब्रिफिङ पाएपछि पत्रकारहरूलाई बताउनुभयो ।

दक्षिण कोरिया र पश्चिमी गुप्तचर निकायहरूले उत्तर कोरियाले सन् २०२४ मा १० हजारभन्दा बढी सैनिक रुसमा पठाएको जनाएका छन् ।

ती सैनिकहरू मुख्यतया कुर्स्क क्षेत्रमा तैनाथ गरिएका थिए । त्यहाँ उनीहरूले तोपगोला, क्षेप्यास्त्र र लामो दूरीका रकेट प्रणाली प्रयोग गरेका थिए ।

सांसद लीका अनुसार प्योङयाङले थप छ हजार सैनिक तथा इन्जिनियरहरू रुसमा पठाउने योजना बनाएको छ । तीमध्ये करिब एक हजार हालसालै आइपुगेको एनआइएसले विश्वास गरेको छ ।

“हालैको छ हजार सैनिकको तेस्रो तैनाथी योजनामध्ये करिब एक हजार लडाकू इन्जिनियरहरू रुसमा प्रवेश गरिसकेका छन् भन्ने अनुमान गरिएको छ”, सांसद लीले भन्नुभयो ।

यस वर्षको सुरुमा, रुसका विदेशमन्त्री सर्गेइ लाभरोभले पनि उत्तर कोरियाले कुस्र्क क्षेत्रमा निर्माणकर्ताहरू र विस्फोटक हटाउने प्राविधिकहरू पठाउने बताउनुभएको थियो ।

उत्तर कोरियाले अप्रिलमा मात्र युक्रेनमा रुसको युद्धलाई समर्थन गर्न सेना पठाएको स्वीकार गरेको थियो र आफ्ना केही सैनिकहरू लडाइँमा मारिएको पुष्टि गरेको थियो ।

त्यसबेलादेखि नेता किम जोङ उनले रुसतर्फ लडिरहेका सैनिकहरूको परिवारसँग भेट गर्दै उनीहरूको ‘असहनीय पीडा’ का लागि समवेदना व्यक्त गरेकमा थिए ।

राज्य सञ्चालित मिडियाले किमले फर्केका सिपाहीलाई अँगालेको र ती सैनिकहरू भावनामा अभिभूत हुँदै नेताको छातीमा टेकेर रोइरहेको तस्बिरसमेत प्रकाशित गरेको छ ।

त्यसैगरी, एक शहीद सैनिकको तस्बिर अगाडि घुँडा टेकेर श्रद्धाञ्जलि अर्पण गर्दै मृतकको तस्बिरसँगै पदक र फूलहरू राखिएको दृश्य पनि सार्वजनिक गरिएको छ ।

रुस र उत्तर कोरियाले गत वर्ष रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको उत्तर कोरियाली दुर्लभ भ्रमणका क्रममा आपसी रक्षा खण्डसहित सैन्य सहयोग सम्झौतामा हस्ताक्षर गर्नुभएको थियो ।

रासस/एएफपी

Untitled
Untitled
Untitled