२०८३ असार ४ बिहीवार | Thursday, Jun 18 2026

टप इन्ड टी-२० सिरिज : पाँचौं खेलमा मेलबर्न रेनेगेड्ससँग भिड्दै नेपाल

Untitled
Untitled
Untitled

काठमाण्डू, अस्ट्रेलियामा जारी टप इन्ड टी–२० सिरिजमा नेपालले पाँचौं खेलमा मेलबर्न रेनेगेड्सको सामना गर्ने तालिका छ । यी दुई टिमबीचको खेल बुधबार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

जारी प्रतियोगितामा नेपाल दोस्रो जितको खोजीमा छ । नेपालले चार म्याच खेल्दासम्म तीन खेलमा भने हारको सामना गरेको छ ।

नेपालले एन्टी स्ट्राइकविरुद्ध ४२ रनले पराजित हुँदै प्रतियोगिताको सुरुवात गरेको थियो ।

दोस्रो खेलमा नेपाली टिम बंगलादेश ‘ए’ विरुद्ध ३२ रनले पराजित भयो । हारमा ह्याट्रिक गर्नेक्रममा नेपालले तेस्रो म्याचमा मेलबर्न स्टार्सविरुद्ध ३१ रनको हार बेहोर्यो ।

चौथो खेलमा भने नेपालले जीत निकाल्यो । मंगलबार भएको उक्त म्याचमा नेपालले होबार्ट हरिकेन्सलाई ६६ रनले हरायो ।

यस खेलमा टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ८० रन बनायो ।

नेपालका लागि आरिफ शेखले २६ बलमा तीन चौकासहित सर्वाधिक ३३ रन बनाए ।

यस्तै, आसिफ शेखले २९, कुशल भुर्तेलले २७ र भीम सार्कीले १८ रन जोडे । होबार्टविरुद्ध लोकश बमले आक्रामक पारी खेले ।

उनले ११ बलमा तीन चौका र एक छक्कासहित अविजित २५ रन बनाए ।

यस खेलमा टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीलाई विश्राम दिइएको थियो । लगातार कमजोर प्रदर्शन गर्न थालेपछि उनलाई चौथो खेलमा प्लेइङ–११ बाहिर राखिएको हो ।

यस खेलमा बलिङमा तीव्र गतिका बलर नन्दन यादवले जादुमयी बलिङ गरे ।

उनले तीन ओभरमा १७ रन दिएर सर्वाधिक ५ विकेट लिए । योसँगै नन्दन अस्ट्रेलियामा ५ विकेट लिने पहिलो नेपाली बलर बने ।

यस्तै, होबार्टविरुद्धको खेलमा सन्दीप लामिछाने, कुशल भुर्तेल र रिजन ढकालले एकरएक विकेट लिए ।

नेपाली टिम अब पाँचौं खेलमा पनि जीत दर्ता गर्दै लयमा फर्किने सोचमा छ । उता मेलबर्न तेस्रो जितको खोजीमा छ ।

उसले तीन म्याच खेल्दासम्म दुईमा जीत र एक खेलमा हार बेहोरेको छ ।

Untitled
Untitled
Untitled