काठमाण्डू, आइसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गतको चौथो श्रृङ्खलामा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ।
खेल स्कटल्याण्डको डन्डीस्थित फोर्थहिल क्रिकेट मैदानमा नेपाली समयअनुसार पौने ४ बजे सुरु हुनेछ। चार अङ्क जोडेको यस श्रृङ्खलामा नेपालको यो अन्तिम खेल हो ।
यसअघि पहिलो खेलमा स्कटल्यान्डलाई एक विकेटले पराजित गरेको नेपालले दोस्रो खेलमा नेदरल्यान्ड्सलाई पाँच विकेटले पराजित गरेको थियो।
तेस्रो खेलमा भने नेपाल स्कटल्यान्डसँग दुई रनले पराजित भएको थियो।
अंक तालिकामा नेदरल्यान्ड्सले २२ खेलमा १२ जीत, ८ हार र दुई नतिजाहीन खेलसहित २६ अंक जोडेको छ।
यस्तै नेपालले १५ खेलमा ४ जीत, ९ हार र २ खेलमा अङ्क बाँड्दै १० अंक जोडेको छ । हालको तालिकामा नेदरल्यान्ड्स दोस्रो स्थानमा रहेको छ भने नेपाल सातौं ।
हालसम्म नेपाल र नेदरल्यान्ड्सबीच भएका एकदिवसीय अन्तर्राष्ट्रियको ६ खेलमा ३ जीत नेपाल र ३ जीत नेदरल्यान्ड्सले दर्ता गरेको छ।


































