२०८३ जेठ २३ शनिवार | Saturday, Jun 06 2026

बीपी राजमार्गमा सवारी समय फेरि परिमार्जन, बिहान ४ देखि साँझ ६ बजेसम्म मात्र सञ्चालन

Untitled
Untitled
Untitled

काभ्रेपलाञ्चोक, बीपी राजमार्गमा सवारी सञ्चालन समय पुनः समायोजन गरिएको छ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकअन्तर्गतको जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले मौसमी अवस्था र सम्भावित प्राकृतिक जोखिमलाई ध्यानमा राख्दै यातायात सञ्चालन समय संशोधन गर्ने निर्णय गरेको हो।

अब भकुन्डे–खुर्कोट सडक खण्डमा बिहान ४ बजेदेखि साँझ ६ बजेसम्म मात्र सवारीसाधन सञ्चालन गर्न पाइने प्रसाशन कार्यालयले जनाएको छ।

यो व्यवस्था अर्को सूचना जारी नभएसम्म निरन्तर लागू हुने पनि प्रसाशन कार्यालयले स्पष्ट पारेको छ ।

सडक सञ्चालनको प्रभावकारी व्यवस्थापनका लागि सिन्धुली जिल्लासँग समन्वय गरेर निर्णय कार्यान्वयन गरिने प्रशासनले जनाएको छ।

सुरक्षा समितिले रोसी खोलामा आकस्मिक बाढी आउन सक्ने जोखिम, लगातार बदलिँदो मौसम तथा सडकको संवेदनशील अवस्थालाई दृष्टिगत गर्दै आवश्यक परे जुनसुकै बेला अस्थायी रूपमा यातायात रोक्न सकिने व्यवस्था कायम राखेको छ।

यात्रु सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको उल्लेख गरिएको छ।

यसअघि गत वैशाख २१ गते रोसी खोलामा आएको बाढीका कारण घुमाउने क्षेत्रमा पाँच माइक्रोबस र इभी सवारीसहित ८९ यात्रु फसेका थिए।

उद्धार कार्य जटिल बनेपछि त्यसयता रातिको समयमा यातायात बन्द गर्ने निर्णय गरिएको थियो।

सोअनुसार साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी सञ्चालनमा रोक लगाइएको व्यवस्था लागू हुँदै आएको थियो।

त्यसअघि २०८१ असोज १० देखि १२ गतेसम्मको अविरल वर्षापछि आएको बाढीले बीपी राजमार्गको भकुन्डेबेसीदेखि नेपालथोकसम्मको करिब २९ किलोमिटर सडकमा ठूलो क्षति पुर्‍याएको थियो।

हाल उक्त सडक खण्डको पुनर्निर्माण कार्य काभ्रेपलाञ्चोकतर्फ चार खण्ड र सिन्धुलीतर्फ एक खण्डमा तीव्र गतिमा अघि बढिरहेको छ।

प्रशासनले जोखिमपूर्ण मौसम, निर्माण कार्य र यात्रु सुरक्षालाई ध्यानमा राख्दै तोकिएको समय सीमा कडाइका साथ पालना गर्न सबै सवारी चालक तथा यात्रुहरूलाई आग्रह गरेको छ।

Untitled
Untitled
Untitled