काठमाण्डू, थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्तीका अवैध घर टहरा भत्काउन शुरु गरिएको छ।
लामो समयदेखिको विवाद र प्रयासपछि सरकारले आज बिहानैदेखि डोजर प्रयोग गरी बस्ती हटाउन थालेको हो।
बिहानैदेखि सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।
ठूलो संख्यामा नेपाल र शशस्त्र प्रहरी टोली बस्तीमा पुगेपछि स्थानीयबासीले आ-आफ्नो घरभित्रका सामानहरू सुरक्षित स्थानमा सार्न हतार(हतार सुरु गरेका थिए।
धेरैजसो स्थानीय आफ्ना लत्ताकपडा, भाँडाकुँडा र अन्य घरायसी सामग्री बोकेर सुरक्षित गन्तव्यतर्फ लागेका छन्।
बस्ती हटाउने क्रममा हुनसक्ने सम्भावित झडपलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ।


































