२०८२ कात्तिक १४ शुक्रवार | Friday, Oct 31 2025

Untitled

बाढी–पहिरोका कारण देशका मुख्य राजमार्गहरू अवरुद्ध, मेची र तमोर करिडोर ठप्प

Untitled
Untitled
Untitled

काठमाण्डू, केही दिनदेखि भइरहेको निरन्तर वर्षाका कारण आएको बाढी र पहिरोले देशका मुख्य राजमार्गसहित विभिन्न स्थानका सडकहरू अवरुद्ध भएका छन्।

पहिरो खस्ने र सडक दबिने क्रम बढेपछि मेची राजमार्गको इलाम खण्डमा सवारी आवागमन पूर्ण रूपमा ठप्प भएको छ।

गत असोज १७ र १८ गतेको झरीले क्षतिग्रस्त भई राजदुवाली क्षेत्रमा खोलिएको नयाँ ट्र्याक लगातार दबिने र भासिने क्रम जारी छ।

वैकल्पिक रूपमा प्रयोगमा ल्याइएको तिल्केनी–सिमलगोलाई सडकमा समेत ठाउँ–ठाउँमा पहिरो खसेको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ।

बाढी र पहिरोको जोखिम बढेको भन्दै इलाम प्रशासनले बिहीबार साँझदेखि नै यो सडकमा सवारी आवागमनमा पूर्ण प्रतिबन्ध लगाएको छ। रातभरको पानीले सडकमा थप क्षति पुगेको छ।

सुनसरीको धरानबाट धनकुटाको मूलघाट हुँदै पाँचथर र ताप्लेजुङ जोड्ने तमोर करिडोर पनि बाढीका कारण अवरुद्ध भएको छ।

तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सिमावर्ती नावा खोलामा पानीको बहाव अत्यधिक बढेका कारण यस खण्डमा सवारी साधन चल्न सकेका छैनन्।

यात्रुहरूलाई वैकल्पिक बाटो प्रयोग गर्न वा मौसममा सुधार नआएसम्म यात्रा नगर्न प्रशासनले अनुरोध गरेको छ।

Untitled
Untitled
Untitled