काठमाण्डू, नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनाल बोलिरहँदा केन्द्रीय सदस्यहरूले होहल्ला गरेका छन्।
माओवादीसँग एकताबारे निर्णय गर्न बुधबारदेखि शुरु भएको केन्द्रीय कमिटीको बैठकमा बिहीबार सम्मानित नेता खनालले बोलेका थिए।
खनालले बोलिरहँदा अध्यक्ष माधवकुमार नेपाल पक्षका केन्द्रीय सदस्यहरूले खनालविरुद्ध होहल्ला गरेका हुन्।
माधव पक्षका केन्द्रीय सदस्यले खनाललाई डिस्टर्ब गरेपछि खनाल पक्षका केन्द्रीय सदस्यहरू पनि आफ्नो स्थानबाट उठेर प्रतिवाद गरेका थिए।
बैठकमा खनालले अध्यक्ष नेपालको आलोचना गर्दै माओवादीसँग एकतामा जान नहुने धारणा राखेका थिए।
त्यसपछि अध्यक्ष नेपाल पक्षका केन्द्रीय सदस्यहरूले सम्मानित नेता खनालबाट पार्टी नेतृत्वको अनावश्यक आलोचना भएको र पार्टी सञ्चालनमा सधैं असहयोग गरेको आरोप लगाएका थिए।
एक केन्द्रीय सदस्यका अनुसार बैठक कक्षको अवस्था सामान्य बनाउन हम्मेहम्मे परेको थियो। बैठक सुकेधारास्थित एक पार्टी प्यालेसमा चलिरहेको छ।
 
						









































