काठमाण्डू, तिहार भाइटीकाको दिन आज काठमाडौँको रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर मन्दिर खुला रहने भएको छ ।
दिदीबहिनी नहुनेका लागि बालगोपालेश्वर मन्दिर वर्षमा एकपटक आजैका दिनमात्र खुल्ने गर्दछ ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरू भाइटीकाका दिन यसै मन्दिरमा गई पूजा, दर्शन गरी टीका लगाउने गर्दछन् ।
यसैगरी जयवागेश्वरीमा रहेको खञ्जनेश्वर महादेव मन्दिरमा पनि आज दिदीबहिनी एवं दाजुभाइ नहुनेले पूजा तथा दर्शन गरी टीका लगाउने प्रचलन रहेको छ ।
वि.सं २०३५ पछि नियमित रूपमा रानीपोखरीभित्रको बालगोपालेश्वर मन्दिर खुल्न थालेको हो ।
भाइटीकाको दिनलाई नेवार समुदायले किजापूजाका रूपमा मनाउँछन् । भक्तपुरका नेवार समुदायका केहीले भने बुधबार नै किजापूजा गरेको जनाइएको छ ।
भक्तपुरस्थित तलेजु मन्दिरका पुजारीले गरेको निर्णयअनुसार यस्तो गरिएको भक्तपुर नगपालिकाले जनाएको छ ।









































