काठमाण्डू, दीपेन्द्रसिंह ऐरीको शतकसँगै नेपालले आइसीसी विश्वकप लिग–२ मा संयुक्त अरब इमिरेट्स (युएई) माथि रोमाञ्चक जीत निकालेको छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा शुक्रबार भएको सनसनीपूर्ण खेलमा नेपालले युएईलाई ६ रनले हरायो ।
यो जितसँगै सिरिजमा नेपाल युएईलाई दुवै खेलमा हराउन सफल भयो । नेपालले यसअघि पहिलो खेलमा युएईलाई ३७ रनले हराएको थियो ।
वर्षाले प्रभाविक खेलमा जितका लागि ३८ ओभरमा दुई सय ५५ रनको लक्ष्य पछ्याएको युएईले निर्धारित ओभरमा आठ विकेटको क्षतिमा दुई सय ४८ रन मात्र बनाउन सक्यो ।

युएईका लागि मोहम्मद शाहदादले अर्धशतकीय इनिङ्स खेले । ६५ रन बनाउनुभएको उनले ७२ बलमा चार चौक र दुई छक्का हाने ।
यस्तै खुजैमा तनवीरले ४९, हरप्रीत सिंहले ४१, अक्षदीप नाथले अविजित ३६, ओपनर आर्यन शर्माले ३३ र अदीब उस्मानीले १४ रन बनाए ।
बलिङमा नेपालका सन्दीप लामिछानेले तीन विकेट लिए ।
सन्दीप एक दिवसीय (लिग–२) मा एक सय विकेट पूरा गर्ने खेलाडीसमेत बने । यससँगै उहाँको एक दिवसीय विकेट एक सय दुई पुगेको छ ।
यस्तै सोमपाल कामी र नन्दन यादवले दुई दुई विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा सात विकेटको क्षतिमा दुई सय ८९ रन बनाएको थियो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले शतकीय इनिङ्स खेले । दीपेन्द्रले सर्वाधिक सय रन बनाए । उनले ९४ बलमा १३ चौका र एक छक्का हाने ।
दीपेन्द्रको यो खेल जीवनको दोस्रो शतक हो । यसअघि उनले सन् २०२२ मा त्रिवि मैदानमै पिएनजीविरुद्ध शतक हानेका थिए ।

फर्ममा रहनुभएका दीपेन्द्रले यसअघिका खेलमा पनि उत्कृष्ट रन बनाए । उनले युएई विरुद्धको पहिलो खेलमा ७५ र ओमानविरुद्ध ६० रन बनाए ।
यस्तै ओपनर विनोद भण्डारीले ५६ रन, गुलशन झाले ४४, कप्तान रोहित पौडेलले ३९, अर्जुन कुमाल र आरिफ शेखले समान ११र११ रन बनाए ।
अर्जुनले नेपाली राष्ट्रिय सिनियर टोलीमा डेब्यु गरेका हुन् । उनले घरेलु क्रिकेटमा गण्डकी प्रदेशबाट खेल्दै आएका थिए ।
बलिङमा युएईका अजय कुमार र जुनैद सिद्दिकीले दुई दुई विकेट हात पार्दा हैदर अली र खुजैमा तनवीरले एक एक विकेट लिए ।
जितसँगै २३ खेलबाट १६ अङ्क बनाएको नेपाल तालिकाको सातौँ स्थानमा छ । समान खेलबाट १२ अङ्क बनाएको युएई आठौँ एवं अन्तिममा छ ।
अब नेपालले यस सिरिजको अन्तिम खेल ओमानसँग वैशाख २२ गते खेल्नेछ ।
त्यसपछि नेपालले घरेलु मैदानमै वैशाख २९ देखि जेठ ८ गतेसम्म अमेरिका र स्कटल्यान्डसँग आइसीसी विश्वकप लिग–२ कै अर्को सिरिज खेल्ने तय भएको छ ।


































