एजेन्सी, आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’ मा पाकिस्तानले लगातार दोस्रो खेलमा जीत निकालेको छ।
पहिलो खेलमा नेदरल्यान्ड्सलाई ३ विकेटले हराएको पाकिस्तानले दोस्रो खेलमा अमेरिकालाई ३२ रनले पराजित गरेको हो।
मंगलबार राति सम्पन्न खेलमा पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ९० रन बनाएको थियो।
जवाफमा अमेरिका १ सय ५८ रन मात्र जोड्न सफल भएपछि पाकिस्तानले फराकिलो जित निकालेको हो।
अमेरिकाका लागि शुभम रनजनीले ५१ रनको अर्धशतकीय इनिङ खेले भने मिलिन्द कुमारले २९ रन बनाए। त्यस्तै सयन जहाँगिरले ४९ रन र एन्ड्रेस गौसले १३ रन बनाए।
त्यसअघि कोलम्बोस्थित सिनहलेस स्पोर्ट्स क्लबको मैदानमा पाकिस्तानले टस हारेर पहिले ब्याटिङ गर्दै १ सय ९० रन बनाएको थियो।
उसका लागि साहिबजादा फर्हानले ७३ रन बनाउँदा बाबर आजमले ४६ रन जोडे। त्यस्तै सदाब खानले ३० रन बनाउँदा साइम अयुबले १९ रन बनाए।
समूहमा पाकिस्तान २ जितसहित तालिकामा ४ अंकका साथ शीर्ष स्थानमा छ। भारत र नेदरल्यान्ड्सको समान १–१ जीत रहेको छ।
प्रतियोगितामा आज पनि तीन खेल हुँदै छन्। दिनको पहिलो खेलमा दक्षिण अफ्रिका र अफगानिस्तान अहमदाबादमा भिड्दा अस्ट्रेलियाले आयरल्यान्डसँग भिड्दै प्रतियोगिताको सुरुवात गर्नेछ।
त्यस्तै अर्को खेलमा नेपालको समूहमा रहेको इंग्ल्यान्ड र वेस्टइन्डिजबीच साँझ ७:१५ बजे वानखेडे मैदानमा प्रतिस्पर्धा हुनेछ।


































