२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

शुक्रबारदेखि शुरू हुँदैछ घरेलु भलिबलको महासंग्राम, पहिलो दिन चार खेल

Untitled
Untitled
Untitled

काठमाण्डू, नेपाल भलिबल संघ (एनभीए) यतिबेला नवौं एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिप–२०८२ को तयारीमा जुटेको छ ।

प्रतियोगिता पुस ११ देखि १९ गतेसम्म आयोजना हुँदैछ । प्रतियोगिताका खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा खेलाइने छ ।

प्रतियोगितामा २० टोलीको सहभागिता रहने छ । पुरुषतर्फ १२ र महिलातर्फ आठ टोलीले उपाधिका लागि भिडन्त गर्नेछन् ।

प्रतियोगिताबाट पुरुषतर्फ शीर्ष आठ र महिलातर्फ शीर्ष ६ टोली प्रधानमन्त्री कप एनभीए लिगमा छनोट हुनेछन् ।

संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । ‘यो वृहत् प्रतियोगिता हो ।

तयारी पनि अन्तिम चरणमा पुगेको छ । सहभागी टोलीहरू पनि उत्कृष्ट खेल पस्कन आतुर छन्,’ लोकान्तरसँगको कुराकानीमा अध्यक्ष चन्दले भने ।

उनका अनुसार, प्रतियोगितामा सहभागी हुन आउने विदेशी खेलाडीले पनि दर्शकलाई भरपूर मनोरञ्जन दिनेछन् ।

प्रतियोगितामा सहभागी तीन विभागीयबाहेक अन्य क्लबले टोलीमा तीन जना विदेशी खेलाडी समावेश गर्न पाउने प्रावधान छ ।

प्रतियोगिताको खेल तालिका बुधबार सार्वजनिक गरिने जानकारी अध्यक्ष चन्दले दिए ।

यसपटक प्रतियोगितामा गण्डकी प्रदेशको भने सहभागिता रहने छैन । राष्ट्रिय टिम छनोटप्रति असहमति जनाउँदै गण्डकीले लिग नखेल्ने निर्णय लिएको हो ।

सेन्ट्रल एसियन भलिबल संघ ९काभा० नेसन्स कप खेल्न घोषित टोलीमा घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने केही खेलाडीलाई स्थान नदिइएको भन्दै गण्डकीले एनभीए च्याम्पियनसिप नखेल्ने अडान लिएको हो ।

प्रतियोगितामा पुरुषतर्फ तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बलको एपीएफ क्लबको सहभागिता रहने छ ।

पुरुषतर्फ रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र, मणिमुकुन्द भलिबल क्लब, हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश भलिबल संघ, बूढानीलकण्ठ भलिबल क्लब, ढोरपाटन क्लब, खिल्जी युवा क्लब र कीर्तिपुर भलिबल प्रशिक्षण केन्द्र पनि सहभागी छन् ।

यसैगरी, महिलातर्फ पनि तीन विभागीय टोलीसँगै न्यू डायमण्ड युथ स्पोर्ट्स क्लब, एभरेस्ट भलिबल क्लब, चुली युवा क्लब, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेश प्रदेश खेलकुद परिषद्को टोलीले सहभागिता जनाउने छन् ।

नेपाल भलिबल संघले प्रतियोगिताको खेल तालिका पनि सार्वजनिक गरिसकेको छ ।

प्रतियोगितामा सहभागी २० वटै टोलीका व्यवस्थापक र प्रशिक्षकको उपस्थितिमा बुधबार ‘टेक्निकल मिटिङ’ आयोजना गरिएको थियो ।

सोही अवसरमा खेल तालिका पनि सार्वजनिक गरिएको हो । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस क्लब, एपीएफ क्लब र मणिमुकुन्द भलिबल क्लब पुल ‘ए’ मा परेका छन् ।

पुल ‘बी’ मा नेपाल पुलिस क्लब, ढोरपाटन क्लब र खिल्जी युवा क्लब रहेका छन् ।

पुल ‘सी’ मा रुकुम पश्चिम ट्रेनिङ सेन्टर, बूढानीलकण्ठ भलिबल क्लब र जाउलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् ।

पुल ‘डी’ मा भने त्रिभुवन आर्मी क्लब, कोशी प्रदेश भलिबल संघ र कीर्तिपुर भलिबल ट्रेनिङ सेन्टर परेका छन् ।

यसैगरी, महिलातर्फ पुल ‘ए’ मा एभरेष्ट भलिबल क्लब, त्रिभुवन आर्मी क्लब, चुली युवा क्लब र न्यू डायमण्ड युथ स्पोर्टस क्लब छन् ।

पुल ‘बी’ मा भने नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्, एपीएफ क्लब र मधेश प्रदेश खेलकुद परिषद् रहेका छन् ।

प्रतियोगिताको पहिलो दिन शुक्रबार पुरुषतर्फ दुई र महिलातर्फ दुई खेल हुनेछ ।

महिलातर्फको पहिलो खेल बिहान ९ः०० बजे नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश खेलकुद परिषदबीच हुनेछ ।

महिलातर्फको दोस्रो खेल बिहान ११ः०० बजे एभरेष्ट भलिबल क्लब र आर्मी क्लबबीच खेलिने छ ।

यसैगरी, शुक्रबार पुरुषतर्फको पहिलो खेल दिउँसो १३ः०० बजे नेपाल पुलिस क्लब र ढोरपाटन क्लबबीच हुनेछ । दोस्रो खेल दिउँसो १५स्०० बजे हेल्प नेपाल स्पोर्ट्स क्लब र एपीएफ क्लबबीच खेलाइने छ ।

प्रतियोगिताको प्रारम्भिक चरणमा प्रत्येक दिन महिलातर्फ दुई र पुरुषतर्फ दुई खेल हुनेछ ।

प्रारम्भिक चरणका चारवटै खेल एउटै समयमा शुरू हुनेछन् । प्रारम्भिक चरणको खेल पुस १६ गते (डिसेम्बर ३१ तारिख) सम्म चल्नेछ ।

त्यसपछि, पुस १७ गते पुरुषतर्फको चारवटै क्वार्टरफाइनल खेल खेलाइने छ ।

महिलातर्फ भने प्रारम्भिक चरणपछि चारवटा टोली सिधै सेमिफाइनलमा पुग्नेछन् । पुस १८ गते पुरुष र महिलातर्फको सबै सेमिफाइनल खेल हुनेछन् ।

पुस १९ गते पुरुष तथा महिला दुवैतर्फको तेस्रो स्थानका लागि र फाइनल खेल खेलाइने छ ।

महिलातर्फको तेस्रो स्थानको खेल बिहान ०८ः३० बजे र पुरुषतर्फको तेस्रो स्थानको खेल बिहान १०ः३० बजे हुनेछ ।

महिलातर्फको फाइनल खेल दिउँसो १२ः३० बजे र पुरुषतर्फको फाइनल खेल दिउँसो १४:३० बजे खेलाइने छ ।

प्रतियोगिताको उद्घाटन समारोह भने शुक्रबार १४ः३० बजे शुरु हुने आयोजक संघले जनाएको छ ।

Untitled
Untitled
Untitled