काठमाण्डू, ओमानमा जारी आईसीसी टी–२० विश्वकप छनोट प्रतियोगितामा नेपालले शुक्रबार महत्वपूर्ण खेल खेल्दैछ ।
उक्त खेलमा सामोआलाई हराएमा नेपाली टोली विश्वकप छनोट प्रतियोगिताको उपाधिसहित स्वदेश फर्कने छ ।
नेपाल र सामोआबीचको खेल ओमान क्रिकेट एकेडेमीको मैदानमा नेपाली समयानुसार, साँझ सवा ४ बजे शुरू हुनेछ ।
जारी छनोट प्रतियोगितामा नेपाली टोलीले खेल्न लागेको यो छैटौँ खेल हो । आफूले खेलेको सबै खेल जित्ने नेपाल एकमात्र टोली पनि हो ।
नेपाली टोली यसअघि नै सन् २०२६ मा आयोजना हुने टी–२० विश्वकपमा भने छनोट भइसकेको छ ।
तर, शुक्रबारको खेलमा जीत हात पारे नेपाली टोली पहिलोपटक छनोट प्रतियोगितामा पहिलो भएर विश्वकपमा पुग्नेछ ।
पक्कै पनि नेपाली क्रिकेटका लागि यो अर्को गौरवको क्षण हुनेछ । नेपालले छनोट चरण पार गर्दै यसअघि दुईपटक टी–२० विश्वकप खेलेको छ ।
तर, हालसम्म नेपाली टोली छनोट प्रतियोगिताको विजेता बनेर भने विश्वकपमा पुगेको छैन ।
यसपटक नेपाली क्रिकेटका लागि यो उपलब्धि हासिल गर्ने सुनौलो अवसर छ ।
जारी प्रतियोगितामा नेपाली टोलीले बलिया वा आफू समानका प्रतिद्वन्द्वीलाई भने यसअघि नै हराइसकेको छ ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)द्वारा घोषित पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा नेपाल १७औँ स्थानमा छ ।
छनोट प्रतियोगिता शुरू भइसक्दा पनि नेपाल आईसीसी वरीयताको १८औँ स्थानमा रहेको थियो ।
तर, पछिल्लो समय एकपछि अर्को अब्बल प्रदर्शन गर्दै आएका कारण छनोट प्रतियोगिताकै क्रममा नेपालको वरीयतामा सुधार आएको हो ।
त्यसैले यसै साता घोषित वरीयतामा नेपाली टोली अमेरिकालाई पछि पार्दै १७औँ स्थानमा उक्लिएको छ । सामोआ भने ६९औँ वरीयतामा छ ।
जारी छनोट प्रतियोगिताको ‘सुपर–६’ तालिकामा नेपाल आठ अंकसहित पहिलो स्थानमा छ ।
ओमान ६ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । अब नेपाल र ओमानले एक–एक खेल खेल्न बाँकी छ ।
ओमानले पनि आफ्नो अन्तिम खेल शुक्रबार नै जापानसँग खेल्नेछ । नेपालसँगै ओमान पनि आगामी विश्वकपमा छनोट भइसकेको छ ।
नेपाली टोली समग्रमा तेस्रो र लगातार दोस्रोपटक टी–२० विश्वकपमा छनोट भएको हो ।
यसअघि नेपालले सन् २०१४ मा पहिलो पटक र सन् २०२४ मा दोस्रो पटक विश्वकप खेलेको थियो ।
एसिया–प्रशान्त क्षेत्रको अन्तिम चरणको यो छनोट प्रतियोगिताबाट तीन टोली आगामी विश्वकपमा पुग्ने प्रावधान छ ।
टी–२० विश्वकपको १०औँ संस्करण सन् २०२६ को फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ ।
प्रतियोगितामा २० टोलीको सहभागिता रहने छ । नेपाल र सामोआ जारी छनोट प्रतियोगिताको प्रारम्भिक चरणमा छुट्टाछुट्टै समूहमा थिए ।
नेपाली टोली समूह ‘बी’ को विजेताका रूपमा ‘सुपर–६’ चरणमा पुगेको हो । नेपालले समूहगत चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले र दोस्रो खेलमा जापानलाई पाँच विकेटले हराएको थियो ।
त्यसपछि नेपाली टोलीले ‘सुपर–६’ चरणमा यूएईमाथि एक रनको र कतारमाथि पाँच विकेटको रोमाञ्चक जीत हासिल गरेको थियो । ‘
सुपर–६’ चरणकै अर्को खेलमा नेपाली टोलीले बलियो प्रतिद्वन्द्वी ओमानलाई ३८ रनले हराएको थियो ।
सामोआ भने जारी प्रतियोगितामा खासै गतिलो प्रदर्शन गर्न सकेको छैन । सामोआ समूह ‘सी’ को उपविजेताका रूपमा ‘सुपर–६’ चरणमा पुगेको हो ।
समूहगत चरणको पहिलो खेलमा ओमानसँग पाँच विकेटले पराजित भएको सामोआले अर्को खेलमा पपुवा न्यू गिनी (पीएनजी)लाई ६ विकेटले हराएको थियो ।
‘सुपर–६’ चरणमा पनि सामोआको प्रदर्शन निराशाजनक छ ।
जारी छनोट प्रतियोगितामा नेपालका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान कुशल भुर्तेल हुन् ।
उनले पाँच खेलमा कुल एक सय ९० रन बनाइसकेका छन् । ओपनर ब्याट्सम्यान भुर्तेलले यस क्रममा दुईवटा अर्धशतक पनि प्रहार गरेका छन् ।
छनोट प्रतियोगितामा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचीमा समेत उनी दोस्रो स्थानमा आसिन छन् ।
नेपाली टोलीका ओपनर आसिफ शेखले पनि पाँच खेलमा कुल एक सय २६ रन बनाएका छन् ।
सामोआका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान भने सिन सोलिया हुन् । उनले चार खेलमा कुल एक सय १५ रन बनाएका छन् ।
उनले एउटा अर्धशतक पनि प्रहार गरेका छन् ।
यसैगरी, जारी छनोट प्रतियोगितामा नेपालका लागि सर्वाधिक विकेट लिने बलर सन्दीप लामिछाने हुन् ।
प्रभावशाली लेग–स्पिनर सन्दीपले पाँच खेलमा कुल ११ विकेट लिएका छन् । उनले एउटै खेलमा केवल १८ रन खर्चिएर पाँच विकेट लिएका थिए ।
सन्दीप जारी प्रतियोगितामा सर्वाधिक विकेट लिने बलरको सूचीमा पनि दोस्रो स्थानमा आसिन छन् ।
सामोआका लागि सर्वाधिक विकेट लिने बलर भने सोलोमन न्यास हुन् । उनले चार खेलमा कुल सात विकेट लिएका छन् ।
नेपालका लागि गुलसन झा र नन्दन यादवले पनि ६–६ विकेट लिएका छन् ।
नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, करण केसी, कुशल मल्ल, नन्दन यादव, मोहम्मद आदिल आलम, सन्दीप जोरा, आरिफ शेख, ललित राजवंशी, गुलसन झा र लोकेश बम रहेका छन् ।
सामोआको टोलीमा कालेब जसमत (कप्तान), डेनियल बर्गेस, डगलस फिनाउ, सामुएल फ्रान्सेली, कर्टिस हाइनम नाइबर्ग, बेन्जामिन मैलाटा, नोह मिड, सोलोमन न्यास, शामसन सोला, सिन सोलिया, फेरेटी सुलुटो, रस टेलर, साउमानी ताई, ईली तुगागा र ड्यारियस भिसेर रहेका छन् ।








































