काठमाडौं, आईसीसी विश्वकप लिग टू अन्तर्गत नेपालले आज आइतबार यूएईसँग खेल्दैछ । खेल विहान साढे ९ बजेपछि त्रिवी क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ ।
यसअघि यूएईमै भएको शृङ्खलाका दुई खेलमध्ये नेपालले यूएईलाई एक खेलमा हराएको थियो भने एक खेलमा पराजित भएको थियो ।
कीर्तिपुरमा जारी शृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्युगिनी पीएनजीलाइ हराएको छ ।
एकदिवसीय मान्यता कायम राख्न अब नेपालले तीन खेलमध्ये १ खेल जित्नुपर्ने हुन्छ । आजको खेल जितेमा नेपालले अर्को ४ वर्षको लागि एकदिवसीय मान्यता जोगाउन सफल हुनेछ ।
अबका तीन खेलमध्ये एक खेल हारेको खण्डमा नेपालले क्वालिफायर प्लेअफ खेल्नुपर्ने हुन्छ ।
यस्तै, नेपालले सोझै विश्व कप छनोट खेल्ने सम्भावना कायमै छ । नेपाललाई शीर्ष तीनमा रहँदै आउँदो जुनरजुलाईमा जिम्बावेमा हुने विश्व कप छनोट सोझै खेल्न बाँकी ३ वटै खेल जित्नुपर्ने हुन्छ ।
यूएईले लिग–२ को शीर्ष तीनमा रहँदै सोझै विश्व कप छनोट खेल्ने सम्भावना सकिएको छ । यूएई ३३ खेलमा ३१ अङ्कसहित लिग–२ तालिकाको छैटौँ स्थानमा छ ।
एकदिवसीय मान्यता कायम राख्न तालिकाको शीर्ष पाँचमा पर्नुपर्ने हुन्छ । पीएनजी ३४ खेलमा ११ अङ्कसहित तालिकाको पुछारमा छ । नेपाल ३३ खेलमा ३४ अङ्कसहित तालिकाको पाँचौँ स्थानमा छ ।
कीर्तिपुरमा भइरहेको नेपाल, यूएई र पीएनजी सम्मिलित शृङ्खला लिग–२ को अन्तिम शृङ्खला हो । लिग–२ का शीर्ष तीन टोलीले सोझै विश्व कप छनोट खेल्न पाउँछन् ।
स्कटल्यान्ड ५० अङ्कका साथ विजेता बन्दै र ओमान ४४ अङ्कका साथ दोस्रो स्थानमा रहँदै सोझै विश्व कप छनोटमा पुगेका छन् । बाँकी एक स्थानका लागि अब नेपालसहित नामिबिया प्रतिस्पर्धामा छन् । नामिबिया ३६ खेलमा ३९ अङ्कका साथ तालिकाको तेस्रो स्थानमा छ ।