काठमाडौं, राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल आज आइतबार सकिँदैछ ।
२०७२ साल कात्तिक ११ गते पहिलो पटक राष्ट्रपति पदमा निर्वाचित भएकी भण्डारी २०७४ साल फागुन २९ गते पुनः दोस्रो कार्यकालका लागि चुनिएकी थिइन्।
लगातार दुई पटक राष्ट्रपतिमा चुनिएकी भण्डारीको कार्यकाल भने विवाद मुक्त हुन सकेन । तात्कालीन प्रधानमन्त्री केपी ओलीले गरेको संसद् विघटनलाई अनुमोदन गरेपछि उनको आलोचना भएको थियो ।
यस्तै, केपी शर्मा ओली प्रधानमन्त्री हुँदा जुनसुकै विधेयक र अध्यादेश तुरुन्तै पारित गर्ने तर अरु दलले सरकारको नेतृत्व गर्दा कार्यकारी राष्ट्रपति जस्तै व्यवहार देखाएको आरोप पनि उनीमाथि लागेको छ ।
यस्तै, गणतान्त्रिक शासन व्यवस्थाकी राष्ट्रपति भएपनि राजा महाराजा जस्तो व्यवहार र सवारीका कारण पनि भण्डारीको आलोचना भयो ।
सवारीका बेला सडक खाली गराएर दुख दिने काम भएको भन्दै नागरिकले आक्रोस पोखे ।
यद्यपी यो विषय सरकारले नै बनाएको प्रोटोकलसँग जोडिएको छ । प्रोटोकल सुधारका लागि सरकारले एक समिति पनि गठन गरेको छ ।
राष्ट्रपति भण्डारी भोलि सोमबार दिउँसो निजी निवास बूढानीलकण्ठ सर्ने तयारी गरेकी छिन् । गएको बिहीवार भएको राष्ट्रपतिको चुनावमा पौडेल निर्वाचित भएका छन् ।