काठमाडौं । विश्व समुदाय अहिले अंग्रेजी क्यालेन्डरअनुसार नयां वर्ष २०२३ लाई स्वागत गर्ने तरखरमा छन् । अन्य क्षेत्र झैं खेल जगतले पनि वर्ष २०२२ लाई बिदा गर्दैछ । प्रसंग भर्खरै बिदा भएको वर्ष २०२२ मा सम्पन्न प्रमुख अन्तर्राष्ट्रिय खेल गतिविधिहरूको हो ।
वर्ष २०२२ सकिन दुई दिन बाँकी रहँदा ८२ वर्षीय फुटबलका सर्वकालीन महान् खेलाडी पेलेको निधनले विश्व खेलकुदलाई स्तब्ध बनायो । मल्टी अर्गान फेलका कारण भएको उनको निधन वर्ष २०२२ मा खेलकुद जगतमा भएको सबैभन्दा दुखद घटना मध्येको एउटा हो ।
पेलेको निधनले खेलकूद क्षेत्रलाई अपूरणीय क्षति पुगेको छ । त्यसैगरी, सन् २०२२ मा विश्व खेल जगतमा अनगिन्ती खेलकुद प्रतियोगिताहरू सम्पन्न भए । स्तरीयता र लोकप्रियतालाई आधार मान्ने हो भने वर्ष २०२२ मा अन्तर्राष्ट्रिय खेलजगतमा थुप्रै प्रतिष्ठित प्रतियोगिताहरू सम्पन्न भएका छन् ।
ती प्रतियोगिताहरूले विश्व खेलमञ्चलाई नै तरंगित तुल्याउनुका साथै वजनदार छापसमेत छोड़ेका छन् । तिनै खेल घटना क्रमलाई समेटेर वर्ष २०२२ मा आयोजना भएका केही प्रतिष्ठित र लोकप्रिय अन्तर्राष्ट्रिय खेल प्रतियोगिताहरूको नालीबेली यहाँ संक्षेपमा प्रस्तुत गरिएको छ ।
३३औं अफ्रिका कप नेसन्स
गत जनवरी ९ देखि फेब्रुअरी ६ सम्म क्यामरुनमा अपिÞ्रmकी महादेशको प्रतिष्ठित प्रतियोगिता अपिÞ्रmका कप अफ नेसन्सको ३३औं संस्करण आयोजना भएको थियो । जसको फाइनलमा सेनेगलले प्रतियोगिताकै सर्वाधिक सफल राष्ट्र इजिप्टलाई टाइब्रेकरमा ४–२ गोलअन्तरले हराउँदै पहिलोपटक उपाधि जित्यो । निर्धारित ९० र अतिरिक्त ३० मिनेटसम्म दुवै टोलीगोलरहित बराबरीमा रहेपछि उपाधि विजेताको टुंगो पेनाल्टी सुटआउटबाट गरिएको थियो ।
३१औं साउथ इस्ट एसियन गेम्स
मे १२ देखि २३ सम्म भियतनामको राजधानी हनोई सहरमा दक्षिण पूर्वी एसियाली राष्ट्र ९आसियान० को प्रतिष्ठित खेल प्रतियोगिता साउथ इस्ट एसियन गेम्सको ३१औं संस्करण आयोजना गरिएको थियो । २०२१ मा हुनुपर्ने यस प्रतियोगिता कोरोना महामारी कारण एक वर्ष ढिलो गरी यो वर्ष आयोजना गरिएको थियो । दक्षिण पूर्वी राष्ट्रका ११ देशको सहभागिता रहेको यस प्रतियोगितामा ४० खेलका ५ सय इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो । जसमा आयोजक भियतनामले २ सय ५ स्वर्ण, १ सय २५ रजत र १ सय १६ कांस्य पदक जितेर पदक तालिकाको शीर्ष स्थान ओगट्दा थाइल्यान्ड र इन्डोनेसिया क्रमशः दोसो र तेस्रो बन्यो ।
यूईएफए च्याम्पियन्स लिग र युरोपा लिग
गत मे २८ मा युरोपेली राष्ट्रहरूको सबैभन्दा प्रतिष्ठित फुटबल प्रतियोगिता यूईएफए च्याम्पियन्स लिगको उपाधि स्पेनिस फुटबलका महारथी क्लब रियल मेड्रिडले जित्यो । फ्रान्सको स्टेड डे फ्रान्स स्टेडियममा भएको फाइनलमा रियल मेड्रिडले इंग्लिस प्रिमियर लिग क्लब लिभरपुललाई १–० गोलअन्तरले हराउँदै सर्वाधिक र कीर्तिमानी १४औं पटक उपाधि उचाल्यो । त्यस्तै, युरोपेली राष्ट्रको दोस्रो प्रतिष्ठित प्रतियोगिताको यूरोपा लिग २०२२ को उपाधि जर्मनीको इनट्राच्ट फ्रान्कफर्टले जितेको थियो । गत १८ मार्चमा भएको फाइनलमा स्कटल्यान्डको रेन्जर्सलाई पेनाल्टी सुटआउटमा ५–४ ले हराउँदै फ्रान्कफर्ट दोस्रो पटक यो उपाधि जित्न सफल भयो । खेलको निर्धारित समयसम्म भने दुवै टोली १–१ को बराबरीमा रोकिएका थिए ।
१९औं वल्र्ड एक्वेटिक च्याम्पियनसिप
गत जुन १८ देखि जुलाई ३ सम्म हंगेरीको राजधानी बुडापेस्टमा पौडी लगायत पानीसँग सम्बन्धित खेल वल्र्ड एक्वेटिक च्याम्पियनसिप आयोजना भएको थियो । प्रत्येक दुई वर्षको अन्तरालमा आयोजना हुने यस प्रतियोगितामा विश्वभरिका १ सय ८५ देशका खेलाडीले प्रतिस्पर्धा गरेका थिए । नेपालबाट पनि दुई जनाले भागले लिएको १९औं संस्करणको यस प्रतियोगितामा संयुक्त राज्य अमेरिकाले सर्वाधिक १८ स्वर्ण, १४ रजत र १७ कांस्य पदक जितेर पदक तालिकाको शीर्ष स्थान ओगटेको थियो । पदक तालिकाको दोस्रो र तेस्रो स्थान क्रमशः चीन र इटाली भएका थिए ।
द वल्र्ड गेम्स
गत जुलाई ७ देखि १७ सम्म अमेरिकाको अलाबामा राज्यस्थित बर्मिंघममा सहरमा द वल्र्ड गेम्सको आयोजना गरिएको थियो । ग्रीष्मकालीन ओलम्पिकमा नराखिएको खेलहरुमा प्रतिस्पर्धा गरिने यो प्रतियोगिता प्रत्येक चार वर्षको अन्तरालमा ग्रीष्म ओलम्पिक भएको एक वर्षपछि आयोजना हुने गर्छ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीको संरक्षत्वमा इन्टरनेसनल वल्र्ड गेम्स एसोसिएसनले आयोजना गर्ने यस प्रतियोगिताको पहिलो संस्करण सन् १९८१ मा भएको थियो । यसपटक ओलम्पिकमा नखेलाइएका ३० वटा खेल समावेश गरिएको यस प्रतियोगितामा १ सय १० राष्ट्रका ३ हजार ६ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए । जसमा जर्मनी २४ स्वर्ण, ७ रजत र १६ काश्य जित्दै पदक तालिकाको शीर्ष स्थानमा रह्यो । त्यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आयोजक अमेरिका र युद्धग्रस्त यूक्रेन रह्यो ।
१८औं विश्व एथ्लेटिक्स च्याम्पियनसिप
गत जुलाई १५ देखि २४ सम्म अमेरिकाको ओरेगन सहरमा भएको १८औं संस्करणको विश्व एथ्लेटिक्स च्याम्पियनसिपमा आयोजक अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रह्यो । अमेरिका १३ स्वर्ण, ९ रजत र ११ कास्यसहित प्रथम भएको थियो । त्यस्तै, इथियोपिया दोस्रो र जमैका तेस्रो स्थानमा रह्यो । प्रतियोगितामा १ सय ७९ देशसहित एउटा शरणार्थी टोलीका गरी १७ सय भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।
२२ औं फिफा विश्वकप
नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म एसियाली राष्ट्र कतारमा २२औं संस्करणको फिफा विश्वकप सम्पन्न भयो । जसमा लियोनल मेसीको कप्तानीमा रहेको अर्जेन्टिनाले तेस्रोपटक उपाधि उचाल्यो ।निर्धारित ९० मिनेटको खेल २–२ र थप ३० मिनेटपछि खेल ३–३ गोलको बराबरीमा सकिएपछि टाइब्रेकरमा ४–२ को जित दर्ता गर्दै अर्जेन्टिना तेस्रोपटक विश्वकप जित्न सफल भयो । अहिलेसम्मकै सबैभन्दा महँगो मानिएको यो फिफा विश्वकप विश्वभरि अर्बौं दर्शकले विभिन्न सञ्चारमाध्यमबाट हेरेका थिए ।
बेइजिङ शीतकालीन ओलम्पिक र पाराओलम्पिक
वर्ष २०२२ को सुरुवातमा कोरोनाको त्रास रहँदै एसियाली राष्ट्र चीनले शीतकालीन ओलम्पिकको सफल आयोजना गरेको थियो । चीनको राजधानी बेइजिङसहित यानक्विंग र झांगजिआक्वाओमा गत फेब्रुअरी ४ देखि २० सम्म आयोजना भएको शीतकालीन ओलम्पिकमा नर्वेले १६ स्वर्ण, ८ रजत र १३ वटा कांश्य पदक जित्दै पदक तालिकाको शीर्ष स्थान ओगटेको थियो । पदक तालिकाको दोस्रो र तेस्रो स्थान भने जर्मनी र आयोजक चीनले ओगट्यो ।
प्रतियोगितामा २७ राष्ट्रले पदक तालिकामा आफ्नो नाम लेखाउन सफल भएका थिए । गत शीतकालीन ओलम्पिकमा भन्दा बेइजिङमा महिला मोनोबोब, महिला तथा पुरुष बिग एयरका साथै एरिएल स्किइंगको मिक्स्ड टिम इभेन्ट्स, स्की जम्पिंग, सर्टट्रयाक स्पिड स्केटिङ र स्नो बोर्ड क्रस गरी सातवटा खेलहरू थपिएका थिए ।
यस ओलम्पिकमा अरबी राष्ट्र साउदी अरेबिया र क्यारेबियन राष्ट्र हाइटी पहिलो पटक सहभागी भएका थिए । मानवअधिकारवादी संस्थाहरूले भने तिब्बती, उघ्योर र हंगकंगका नागरिकहरूमाथि गरिएको व्यवहारलाई लिएर विरोध जनाएका थिए । जसमा आफ्नो सरकारी प्रतिनिधि नपठाएर अमेरिका, संयुक्त अधिराज्य, क्यानाडा र अस्ट्रेलियाले एक्यबद्धता जनाएका थिए । त्यसैगरी, भारतले पनि २०२० मा लद्दाखको सिमा क्षेत्रमा आफ्ना सैनिक मारेकोमा ओलम्पिक टर्च रिले कार्यक्रममा चीन शीतकालीन ओलम्पिकको विरोध गरेका थिए । त्यसैगरी, गत मार्च ४ देखि १३ सम्म बेइजिङमा नै शीतकालीन पाराओलिम्पिक आयोजना गरिएको थियो ।
२२औं कमनवेल्थ गेम्स
गत २८ जुलाई देखि ८ अगस्तसम्म इंग्ल्यान्डको बर्मिन्गघम सहरमा आयोजना २२औं संस्करणको कमनवेल्थ गेम्स आयोजना भएको थियो । विगत र वर्तमानमा ब्रिटिस साम्राज्यअन्तर्गत रहेका ७२ राष्ट्रहरूबीच खेलिने कमनवेल्थ गेम्स प्रत्येक चार वर्षको अन्तरालमा आयोजना हुने गर्दछ । पहिलोपटक महिला क्रिकेट राखिएको यसपटकको कमनवेल्थ गेम्समा ६७ स्वर्ण, ५७ रजत र ५४ कास्य पदक जितेर अस्ट्रेलियाले पदक तालिकाको शीर्ष स्थान हासिल गरेको थियो । त्यसैगरी, आयोजक इंग्ल्यान्ड दोस्रो तथा क्यानाडाले तेस्रो स्थान हासिल गरेको थियो । प्रतियोगितामा सहभागीमध्ये ४० राष्ट्रले मात्र पदक तालिकामा आफ्नो नाम सूचीकृत गर्न सफल भएका थिए ।
विश्व भलिबल च्याम्पियनसिप
अगस्त २६ देखि सेप्टेम्बर ११ सम्म पोल्यान्ड र स्लोभेनियाले संयुक्तरूपमा विश्व भलिबल च्याम्पियनसिपको आयोजना गरेका थिए । यसअघि, रसियाले आयोजनाको जिम्मा पाए पनि युक्रेनसँग युद्ध गरेका कारण आयोजक परिवर्तन गरिएको थियो । जसमा इटालीका पुरुष टोलीले उपाधि जित्न सफल भए । पाँच महादेशका २४ राष्ट्रका खेलाडीले प्रतिस्पर्धा गरेको यस प्रतियोगिताको फाइनलमा आयोजक पोल्यान्डलाई हराउँदै इटालीले चौथोपटक उपाधि उचालेको थियो । त्यसैगरी, तेस्रो र
चौथो क्रमशः ब्राजिल र अर्का सहआयोजक स्लोभेनिया भएका थिए ।
विश्व महिला बास्केटबल
गत सेप्टेम्बर २२ देखि अक्टुबर १ सम्म अस्ट्रेलियाको सिड्नीमा विश्व महिला बास्केटबल आयोजना गरिएको थियो । जसको फाइनलमा चीनको महिला बास्केटबल टोलीलाई पराजित गर्दै संयुक्त राज्य अमेरिकाले ११औं उपाधि जित्न सफल भयो । १२ राष्ट्र सम्मिलित यस प्रतियोगिताको तेस्रो तथा चौथो स्थान अस्ट्रेलिया र क्यानाडाले जितेका थिए ।
विश्व महिला भलिबल च्याम्पियनसिप
२३ सेप्टेम्बरदेखि १५ अक्टुबरसम्म नेदरल्यान्ड्स र पोल्यान्डले संयुक्त रूपमा आयोजना गरेको विश्व महिला भलिबल च्याम्पियनसिपको उपाधि सर्बियाले जितेको थियो । प्रतियोगिताको फाइनलमा ब्राजिललाई हराउँदै सर्बियाले दोस्रोपटक उपाधिमाथि कब्जा जमाएको थियो । पाँच महादेशका २४ राष्ट्र सम्मिलित यस प्रतियोगिताको तेस्रो र चौथो भने इटाली र अमेरिकी महिला टोली भए ।
विश्व टेबलटेनिस च्याम्पियनसिप
सेप्टेम्बर ३० देखि अक्टुबर ९ सम्म चीनको चेंग्दु सहरमा विश्व टेबल टेनिस च्याम्पियनसिप आयोजना भएको थियो । ३२ राष्ट्रको पुरुष टोली र २८ राष्ट्रको महिला टोलीको सहभागिता रहेको यस प्रतियोगिताको च्याम्पियन चीन बनेको थियो । चीनले महिला र पुरुष दुवै स्पर्धामा स्वर्ण जितेका थिए ।
१२औं दक्षिण अमेरिकी खेलकुद
गत अक्टुबर १ देखि १५ सम्म पराग्वेको असुन्सन सहरमा १२औं संस्करणको दक्षिण अमेरिकी खेलकुद आयोजना भएको थियो । दक्षिण अमेरिका महादेशका १५ राष्ट्र सम्मिलित यस प्रतियोगितामा १ सय ३३ स्वर्ण, १ सय रजत र ८६ कांश्य जितेर ब्राजिलले पदक तालिकाको शीर्ष स्थान ओगटेको थियो । प्रतियोगितामा ३४ वटा खेल समावेश गरिएको थियो भने चेस र पेदल खेललाई प्रदर्शनी खेलका रूपमा राखिएका थिए ।
महिला रग्बी विश्वकप
८ अक्टुबर देखि १२ नोभेम्बरसम्म न्युजिल्यान्डको राजधानी अकल्यान्डमा महिलाहरूको रग्बी विश्वकप सम्पन्न भएको थियो । १२ राष्ट्र सम्मलित यस प्रतियोगिताको फाइनलमा इंग्ल्यान्डको महिला रग्बी टोलीलाई हराउँदै आयोजक न्युजिल्यान्डले उपाधि उचालको थियो । प्रतियोगितामा फ्रान्स तेस्रो भएको थियो ।
आईसीसी टी–ट्वेन्टी विश्वकप
गत १६ अक्टूबर देखि १३ नोभेम्बरसम्म अस्ट्रेलियाको मेलबर्न सहरमा आठौ संस्करणको पुरुष टी–ट्वेन्टी क्रिकेट प्रतियोगितामा भएको थियो । जसमा इंग्ल्यान्डले दोस्रोपटक उपाधि उचाल्न सफल भयो । यसअघि, सन् २०१० मा पहिलोपटक उपाधि उचालेको इंग्ल्यान्डले फाइनलमा पाकिस्तानलाई ५ विकेटले हराउँदै दोस्रोपटक च्याम्पियन बन्यो । यो उपाधि दुईपटक जित्ने वेस्टइन्डिजपछि इंग्ल्यान्ड दोस्रो राष्ट्र बन्यो ।
(-नेपाल समाचारपत्रबाट)