महेन्द्रनारायण निधिको जन्म धनुषा जिल्लाको नगराइन गाउँमा भएको हो । विक्रम संवत १९७८ फागुन महिनाको कृष्ण त्रयोदशीका दिन तत्कालिन महोत्तरी मौजामा पर्ने नगराइनमा माता श्रृंगारमणिदेवीको कोखबाट जन्मनु भएका महेन्द्रनाराण निधिका पिताजी राजेश्वर निधि अत्यन्त शिक्षाप्रेमी हुनुहुन्थ्यो । उहाँले महेन्द्रनारायण निधिलाई बाल्यावस्थादेखि नै संस्कृत, हिन्दी, अंग्रेजी भाषाको शिक्षा दिन घरमा नै शिक्षक राखिदिनुभएको थियो । उहाँको कानुन र अदालती कामको अध्ययन पनि रह्यो । तीन दाजुभाइमध्ये दिवसनारायण जेठा र शिवनारायण कान्छा हुनुहुन्थ्यो । माहिला महेन्द्रनारायण निधिले राजनीति र समाजसेवाको मार्ग यसरी निरपेक्षरुपमा अवलम्बन गर्नेछन् भनेर सायद त्यसवेला कसैले सोचेका होलान् । निधिका तीन दिदीबहिनी साम सुन्दरीदेवीको विवाह उमाचरणलाल दाससँग, पार्वतीदेवीको विवाह शिवकुमारलाल दाससँग र लिलादेवीको विवाह योगेन्दैप्रसाद सिन्हासँग भएको थियो ।
महेन्द्रनारायण निधिको विवाह भारत विहारको सीतामढी जिल्ला सुरसण्डा थाना अन्तर्गतको भनारी गाउँका मनोहरलाल र देवकीदेवीका सुपुत्री प्रेमसागरी देवीसँग वि.सं. १९९३ मा भयो भने दिवसनारायणको विवाह गुजेश्वरीदेवी र भाइ शिवनारायणको विवाह इन्द्रकलादेवीसँग सम्पन्न भएको थियो ।
निधि परिवार अहिले निकै घना छ । उहाँका दुई छोरा जेठो प्रा.नवेन्द्रनारायण निधि र कान्छो विमलेन्द्र निधि हुन । जेठी बुहारी किरण र कान्छी अनामिका रहेका छन । महेन्द्रनारायण निधिका चार छोरी राधादेवीको विवाह चनद्रभूवनलालसँग, जानकीदेवीकोे चन्द्रदेवलाल कौशिकसँग, इन्दुदेवीको विनोदकुमार वियोगीसँग र कान्छी नीरादेवीको देवीकान्तलालसँग भयो ।
उहाँको परिवारमा जेठा छोरा नवेन्द्र निधिकी पत्नी किरण निधि र उनका छोरा मानवेन्द्र निधि, छोरी प्रियंका, दिव्या, सव्या छन् भने कान्छा छोरा विमलेन्द्रकी पत्नी अनामिका र छोरा अविरल र अनुकूल रहेका छन् ।
महेन्द्रनारायण निधि सुरुमा अध्ययनसँगै लेखापढी तथा बन्द व्यापारमा लाग्नुभएको थियो । उहाँले घरको काम पटवारी र जमिनदारी रेखदेख गर्नेदेखि कृषि कार्य र व्यापारिक कार्यमा संलग्न रहँदै गर्दा विहार सरकारसँग चामलको बदला कपडा लिने –वाटर सिस्टम) शर्तमा चामल निर्यातको ठेक्कासमेत गर्नुभयो । व्यापारसँगै उहाँले राजनीतिमा संलग्न हुनुभयो । नेपाली राष्टिय कांग्रेसको सदस्यतापछि नेपाली कांग्रेसको २००७ को क्रान्तिमा समेत सहभागी हुनुभयो । नेपाली कांग्रेसको साधारण सदस्यताबाट आरम्भ उहाको राजनीतिक जीवन केन्द्रीय महामन्त्रीसम्म हुनपुग्यो ।
००७ को जनक्रान्तिको सफलतापछि गठित महोत्तरी जनसरकारको प्रधानमन्त्री, संसदीय बोर्गको सदस्य ०१४, ०१५ र ०१६ को संसदीय निर्वाचनमा क्षेत्र नै ४३ बाट निर्वाचित निधि उपसभामुख हुनुभयो । नेपाली कांग्रेसको अत्याधिक बहुमत आएको त्यस समयमा कृष्णप्रसाद भट्टराई सभामुख र बीपी कोइराला प्रधानमन्त्री हुनुभयो । तर ००१७ मा राजा महेन्द्रले संसद विघटन, ०१५ को संविधानको खारेजी र सबै प्रजातन्त्रबादी नेतालाई जेल यातना दिने काम गरेपछि निधिजी पनि जेल पर्नुभयो ।
नेपाली कांग्रेसको महासधवेशन र महासमिति सदस्य र केन्द्रीय सदस्य र अन्तमा ०४८ सालमा उहाँ पार्टीको महामन्त्री हुनुभयो । पहिलोपटक राजनीतिक अभियानमा लागेपछि २००४ मार्ग ३ बाट ००६ फागुन महिनासम्म उहा जेल पर्नुभएको थियो भने राजाको निरंकुश सोचविरुद्ध २०१२ साल, भद्र अवज्ञा आन्दोलन २०१४ मा, २०१७ साल पुस १ गतेको काण्डपछि २०२० माघसम्म उहाँले जेलको कठोर यातना भोग्नु परेको थियो । उहाँलाई मिालेसिया नामक पत्रिकामा लेख लेखेवापत ०२६ सालमा राजकाज अपराधमा मुद्दा चलाइए पनि अदालतबाट रिहा हुनुभयो । तर, ०२९ भदौ २४ गतेको अंकमा ज्योति पत्रिकामा लेख प्रकाशित गरेको लगत्तै राजकाज मुद्दा, ०३१ सालमा पत्रकाउ र ०३२ मा रिहा यसपछि ०३६, ०४२ को सत्याग्रह र ०४६ मा पत्रकाउ र जेल यातना सहनु परेपनि प्रजातन्त्रको लक्षमा उहाँमा कुनै दिन पनि विचलन आएन ।
०४६ को सफल जनआन्दोलनपछि गठित अन्तरिम सरकारको मन्त्रीका रुपमा जलस्रोत र स्थानीय विकास तथा केही दिन गृह मन्त्रालय समेत सम्हाल्नु भएको थियो । उहाँले जनकपुरधामलाई देशको विशिष्ट धार्मिक र आध्यात्मिक मात्र होइन यसलाई पर्यटकीय हिसावले पनि आकर्षक गन्तव्य बनाउनुपर्छ भन्नेमा जोड दिनुभएको र यसैका लागि गठित जनकुपर वउहत्तर क्षेत्र विकास परिषद्को अध्यक्ष भएर ०५३ देखि पार्थिव अवशान पूर्व ०५६ वैशाख २० सम्म काम गर्नुभयो ।
महेन्दनारायण निधिको लोकतन्त्रप्रतिको निष्ठा र सरल जीवन आफैमा अनुपम छ । उहाँले जीवनका अनेक आरोह अवरोहका क्षणमा अरु धेरै भूमिका निर्वाह गर्नुभएको छ । ००४ साल अघि नगराइनमा विद्यालय खोल्न खोज्दा हजुरबा जेल परेको सोही समयमा जनकपुर भ्रमणमा पुगेका मृगेन्द्र संसेरसँगको वहसपछि महेन्द्रनारायण निधिकै आग्रहमा नगरायनमा प्राथमिक विद्यालयको स्थापना हुन पुग्यो भने जनकपुरमा सरस्वती माध्यमिक विद्यालय र जदुकोहामा पनि अर्को विद्यालय सुरु भयो । २००९ मा निधि मिडिल विद्यालयका रुपमा नामाङ्कृत गनराइनको विद्यालय ०२० सालपछि राजेश्वर निधि माध्यमिक र अहिले उमाविमा परिणत भई सञ्चालनमा रहेको छ । ००९ सालमा नै उहाँले नगराइनमा जनता पुस्तकालय खोल्नु भई पुस्तक अभियान थालेपछि महोत्तरी जनकपुरमा पुस्तकालय अभियान तीव्र हुन पुग्यो ।
राजनीतिक जागरणका लागि पुस्तकालय अभियानमा रहँदै गर्दा जनकपुरमा सार्वजनिक पुस्तकालय बन्न पुग्यो । उहाँले धनुषा जिल्लाको वफै गाविसमा रहेको आफ्नो घरलाई पुस्तकालयमा परिणत गर्नुभयो र अहिले पनि त्यो पुस्तकालय सञ्चालित छ । निधिजी गान्धी आदर्शबाट अत्यधिक प्रभावित हुनुहुन्थ्यो । ०२० सालमा नेपाल चर्खा प्रचारक गान्धी स्मारक महागुठी खडा भएपछि त्यसको सदस्य हुनुभयो । ०३३ सालमा महागुठीको महासचिव हुनभयो भने २०४७ मा उपाध्यक्ष र ०५४ मा अध्यक्ष निर्वाचित हुनुभयो । यो संस्था नेपालको प्रजातान्त्रिक आन्दोलनको विशेष केन्द्र हुनपुग्यो । निधिजीले जनकपुरमा विभिन्न समयमा साहित्यिक कार्यक्रम, जन्मदिन आदि मनाएर पनि राजनीतिक अभियानलाई निरन्तरता दिनुभएको थियो ।
उहा राममनोहर लोहियालाई आफ्नो राजनीतिक गुरु मान्नु हुन्थ्यो । आरम्भका दिनमा भारतमा चामल व्यापार गर्ने क्रममा उहाँको बीपी र राममनोहर लोहियासँग भारतमै भेट भएछ र लोहियाले त्यसवेला भन्नु भएछः म मारवाडी भएर पनि राजनीति गरिरहेको छु तपाई कायस्थ भएर व्यापार गर्ने ? लोहियाको यही प्रश्न र बीपीसँगको सहचार्यका कारण राजनीतिमा लागेको हुनाले लोहियाप्रति उहाँ गुरुभाव राख्नु हुन्थ्यो ।
राजनीति गरे पनि कृषिलाई उहाँ मुल व्यवसाय मान्नुहुन्थ्यो । कृषि विकासका लागि सिँचाई प्रमुख आधार मान्ने उहाँले नदीमा बाँध कुलो पैनी बाँध्ने काम गरिरहनुहुन्थ्यो । जमुनी नदीमा बाँध नगराईन र लगमामा सिंचाई, कमला नदीमा वल्हा सिंचाइको व्यवस्था गर्नुभयो । जलस्रोत मन्त्री रहेका समयमा गंण्डक सिंचाई र कोशी सिंचाई आयोजनाको नेपाल भारत संयुक्त बैठक बसालेर भत्केको तटबन्धनलाई निर्माण गराउनुभयो । विहार क्षेत्रका राजनीतिक नेताहरुले समेत उहाँलाई तटबन्धन गराउन आग्रह गरिरहेका हुन्थे ।
यसरी आफ्नो कर्ममा निरन्तर तल्लीन कर्मशील ब्यक्तित्व, शालीनता र सादा जीवनका उदाहरणीय आदर्श, लोकतान्त्रिक आन्दोलनका अविचलित यात्री, शान्ति र अहिंसाका पुजारी महेन्द्रनारायण निधिको २०५६ साल बैशाख २० गते हृदयघातबाट अवशान भएको छ । उहाँबाट नेपाली कांग्रेसको भावी पुस्ताले धेरैकुरा शिक्नु पर्दछ ।