२०८१ असार ३१ सोमवार | Monday, Jul 15 2024

वनस्पति विभागः पर्यावरण तथा वातावरण संरक्षण अभियान

प्राकृतिक वातावरण संरक्षणमा योगदान

Nabil Bank

वनस्पति स्रोतको जर्गेना र उपयोग गर्ने हेतुले वनस्पति सम्पदाको सर्वेक्षण, पहिचान, प्रविधि विकास, संरक्षण एवं सम्बर्द्घन तथा दिगो विकास गर्ने प्रमुख उद्देश्यले वि.स.२०१६ सालमा वनस्पति विभागको स्थापना भएको हो । यस विभागले विज्ञान प्रविधिको क्षेत्रमा अध्ययन अनुसन्धान र विकासका विभिन्न चरणहरु पार गर्दै हालको अवस्था सम्म आइपुगेको छ । नयाँ संघीय संरचनामा वन तथा वातावरण मन्त्रालय अन्तर्गत रही विभागले वनस्पति संरक्षण, संम्बर्द्धनको साथै अध्ययन, अनुसन्धानको कार्यहरु सञ्चालन गर्दै आएको छ ।

नेपालमा पाइने वानस्पतिक स्रोतको विविधताको अन्वेषण, संकलन, पहिचान, नमूनाहरुको संरक्षण, अध्ययन, अनुसन्धान र तिनीहरुको स्वस्थानीय वा परस्थानीय संरक्षण र व्यवस्थापन गर्ने, तिनमा विद्यमान रसायनिक तत्वहरुको अध्ययन अनुसन्धान विश्लेषण, दिगो उपयोग, आयमूलक खेती प्रवर्द्धन गरी रोजगार सृजना गर्ने तथा औद्योगिकीकरणको लागि परामर्श सेवा प्रदान गरी देशको आर्थिक विकासमा टेवा र्पुयाउन र सामाजिक अवस्था उकास्न मद्दत गर्ने यस विभागको मुख्य उद्देश्य रहेको छ ।विभागले अनुसन्धान तथा योजना र व्यवस्थापन तथा विकास महाशाखा मार्फत प्रमुख कार्यहरु सम्पादन गर्दै आएको छ ।

अनुसन्धान तथा योजना महाशाखा
वनस्पति स्रोतको अनुसन्धान तथा योजना तर्जुमाका लागि यो महाशाखाले आवश्यक कार्य गरी कार्यन्वयन गर्न सघाउ पुर्याउँदछ । यो महाशाखा अन्तर्गत ५ वटा शाखाहरु जडीवुटी प्रवर्द्धन तथा विकास शाखा, वायोटेक्नोलोजी शाखा,योजना तथा अनुगमन शाखा, जैविक विविधता तथा साइटिस शाखा, तथा शहरी उद्यान विकास शाखा रहेका छन् ।

व्यववस्थापन तथा विकास महाशाखा
विकसित प्रविधिको माध्यमद्वारा दिगो उपयोगको लागि अनुसन्धानका कार्यहरु गर्दै स्रोतको उत्पादनमुखी प्रविधिको विकास गरी जनताको आर्थिकस्तरको अभिवृद्धि गर्ने कार्यमा सघाउ पुर्याउनु यस महाशाखाको जिम्मेवारी रहेको छ । यस अन्तर्गत ५ वटा शाखाहरु रहेका छन् । इस्ट्रुमेन्ट शाखा, गुणस्तर निर्धारण शाखा, वायोलोजिकल शाखा, प्रचार प्रसार तथा डकुमेन्टेशन शाखा, जडीवुटी सदुपयोग तथा पाइलट शाखा ।

विभागका प्रमुख कार्यहरु
वनस्पति स्रोतको अध्ययन तथा अनुसन्धान गर्ने ।
वनस्पति संकलित नमूनाहरुलाई राष्ट्रिय हाईव्रेडियममा संरक्षण गरी राख्ने ।
देशका विभिन्न भागमा रहेको वनस्पति उद्यानहरुमा स्थानान्तरित एंव स्थलगत संरक्षण गर्ने ।
जडीवुटी,सुगन्धित तेल तथा आर्थिक रुपले महत्वपूर्ण विरुवाहरुको सदुपयोगका लागि जैविक तथा रसायनिक अनुसन्धान कार्य गर्ने ।
जैविक प्रविधिको अनुसन्धानद्वारा महत्वपूर्ण विरुवाहरुमा उन्नत जातको विकास तथा विस्तार गर्ने ।
कृषकहरुलाई व्यापारिक महत्वका बिरुवाहरुमा खेती प्रविधि सम्बन्धी सेवा प्रदान गर्न कृषि प्रविधिको विकास गर्ने ।
वनस्पति स्रोत संरक्षण, व्यवस्थापन तथा उद्यान सेवाकोलागि विभिन्न तालिमहरुको संचालन गर्ने ।
आर्थिक महत्वका विरुवाहरु वायोप्रोस्पेक्टिङ (द्यष्य(एचयकउभअतष्लन) गर्ने ।
वनस्पति रसायन सम्बन्धी गुणस्तार निर्धारण तथा प्रमाणीकरण सेवा प्रदान गर्ने ।

वनस्पति विभागका आफ्नो उद्धेश्य बमोजिमका कार्यहरु सम्पादनहरु गर्न निम्न अनुसारका केन्द्रीय स्तरका कार्यालयहरु स्थापना तथा संचालनमा रहेका छन् ।

राष्ट्रिय हाईब्रेडियम तथा वनस्पति प्रयोगशाला, गोदावरी
ललितपुरको गोदावरीमा अवस्थित राष्ट्रिय हाईब्रेडियम तथा वनस्पति प्रयोगशाला नेपालका वनस्पति प्रजातिहरुको सर्वेक्षण संकलन तथा पहिचान गर्ने उद्देश्यका साथ स्थापना वि.सं.२०१६ सालमा भएको हो । अन्तराष्ट्रिय जगतमा यो संस्था हाईब्रेडियमका नामले परिचित छ । फूल, फल, पात, काण्ड तथा जरा सहित संकलन गरी सुकाएर वैज्ञानिक पहिचानका साथ कागजमा टाँसी तयार पारिएका वनस्पतिका नमुनाहरुलाई हाईब्रेडियम भनिन्छ । यहाँ विभिन्न प्रजातिका एक लाख पैसट्ठी हजार भन्दा बढी हाईब्रेडियम नमुनाहरु वैज्ञानिक पहिचानका साथ संरक्षण गरी राखिएका छन् र जस मध्ये तीस हजार हाईब्रेडियम नमुनाहरुको डिजिटाइजेशन गर्ने कार्य सम्पन्न भई सकेको छ।वनस्पति प्रजातिहरुको अध्ययन, अनुसन्धान तथा पहिचान गर्ने कार्यमा यस प्रयोगशालाले सेवा प्रदान गर्दै आइरहेको छ । यस प्रयोगशाला अन्तर्गत फेनेरोग्याम्स, क्रिप्टोग्याम्स, एनाटेमी, साइटोलोजी, इकोलोजी, प्लान्ट प्रोटेक्सन र डिजिटाइजेसन शाखा रहेका छन् ।

प्राकृतिक सम्पदा अनुसन्धानशाला
यस अनुसन्धानशालाले जडीबुटीको सारतत्व तथा सुगन्धित तेलजन्य वनस्पतिको स्रोतमा आधारित उत्पादनहरुको परीक्षण , विश्लेषण तथा प्रमाणिकरणको कार्य गर्दछ । साथै यो प्रयोगशाला वनस्पति स्रोतको रसायनिक संरचना, जैविक असर र औषधोपयोगि वनस्पतिको अध्ययन, अनुसन्धानमा केन्द्रित हुदै आएको छ । यस अनुसन्धानशालाको प्रमूख शाखाहरुमा फार्माकोग्नोशी, फाइटोकेमिष्ट्री, फर्मूलेसन, फार्माकोलोजि, बायोकेमिकल, सुगन्धित तेल, एनिमल हाउस, सार्वजनिक विश्लेषण र प्रविधि विकास शाखा रहेका छन् । यस प्रयोगशालाले गुणस्तर सम्बन्धी अर्न्तराष्ट्रिय मान्यता आइएसओ आईइसी प्राप्त गरेको छ र विभाग अन्तर्गत हालसम्म नौ वटा पारामिटरहरु एकडिएसन भएका छन् ।

राष्ट्रिय वनस्पति उद्यान, गोदावरीः
यस वनस्पति उद्यानको स्थापनना २८ अक्टोवर १९६२ का दिन भएको थियो । वनस्पति विज्ञानको क्षेत्रलाई विस्तार गर्दै देशमा पाइने समृद्ध वनस्पति स्रोतको प्रतिनिधित्व गराउने उद्धेश्यका साथ यस उद्यानको स्थापना भएको हो । यस उद्यानले क्रियाकलापहरुमा वनस्पति स्रोतको संरक्षण अध्ययन, अनुसन्धान तथा शैक्षिक गतिविधिहरुको संचालन एवं सेवा प्रदान गर्दछ । यस अन्तर्गत उद्यान विकास, सरंक्षण तथा शिक्षा, फ्लोरीकलचर, जडीवुटी तथा सूचना शाखाहरु रहेका छन् । फूलचोकी डाँडाको काखमा अवस्थित यो उद्यानले ८२ हेक्टर क्षेत्रफल ओगटेको छ । हाल यहाँ विभिन्न एक हजार प्रजातिका वनस्पतिहरु संरक्षित छन् । वार्षिक करीब ४ लाख ५० हजार आगन्तुकहरुद्वारा यो उद्यानको अवलोकन गर्दछन् ।

वनस्पति विभागमा केन्द्रिय कार्यालयका साथ साथै वनस्पति क्षेत्रमा अध्ययन अनुसन्धान गर्नेका लागि इलाम, मकवानपुर, धनुषा, बाँके, सल्यान, कैलाली, जुम्लामा अनुसन्धान केन्द्रहरु संचालनमा रहेका छन् ।

वनस्पति अनुसन्धान केन्द्रहरु अन्तर्गत रहेका वनस्पति उद्यानहरुः
नेपालको पारिस्थितक प्रदेशहरुलाई प्रतिनिधित्व गराउँदै विभिन्न क्षेत्रमा वनस्पति उद्यानको स्थापना गरिएको छ । यी उद्यानहरुमा मुख्य रुपमा स्थानान्तरित संरक्षण र स्थानीय रुपमा रहेका वनस्पतिको संरक्षण गरिएको छ । यस भित्र प्राकृतिक रुपमा विद्यामान भू–वनोटको संरक्षण साथै विभिन्न शैक्षिक क्रियाकलापहरु पनि संचालित गरिएका छन् ।

माइपोखरी वनस्पति उद्यान, इलाम
धनुषा वनस्पति उद्यान, धनुषाधाम, धनुषा
वन्दावन वनस्पति उद्यान, हेटैँडा, मकवानपुर
दामन वनस्पति उद्यान, (पर्वतीय वनस्पति उद्यान), दामन, मकवानपुर
टिष्टुङ वनस्पति उद्यान, टिष्टुङ, मकवानपुर
ढकेरी वनस्पति उद्यान, बाँके, १३० मि.
मूलपानी वनस्पति उद्यान, कपुरकोट, सल्यान
धिताचौर वनस्पति उद्यान, जुम्ला
गोदावरी वनस्पति उद्यान, गोदावरी, कैलाली
देवरीया वनस्पति उद्यान, धनगढी, कैलाली
विश्व शान्ति जैविक विविधता उद्यान, रानीवन, पोखरा ।

वनस्पति विभागले आफ्नो स्थापना काल देखि नै वनस्पति क्षेत्रमा अध्ययन अनुसन्धान तथा अभिलेखिकरण गर्नुका साथै स्वस्थानीय तथा पर स्थानीय वनस्पतिहरुको संरक्षण तथा सम्वर्द्धन गर्दै आएको छ । विभाग अन्तर्गत संचालित प्रयोगशाला अन्तराष्ट्रिय गुणस्तर बमोजिम आफ्नो सेवा प्रदान गर्दै आएको छ । यसबाट जडीबुटीको व्यापार एवं विदेश निर्यातमा महत्वपूर्ण भूमिका निर्वाह भएको छ । विभागले आफ्ना प्रकाशनहरु मार्फत वनस्पतिहरुको अभिलेखिकरण गर्दै फ्लोरा लेखनको कार्यलाई समेत प्राथमिकता दिदै आएको छ । विभागबाट भएका अध्ययन, अनुसन्धान तथा प्रविधि विकासका क्रियाकलापबाट जडीबुटी क्षेत्रका कृषक, व्यवसायी तथा शोधकर्ताहरु लाभान्वित हुँदै आएका छन् । वनस्पतिको उपयोगबाट राष्ट्रको सम्वृद्धिका लागि आगामी दिनमा विभिन्न सरोकारवालाहरुको समन्वयन तथा प्राथमिकताको साथ स्रोत साधनको परिचालन गरी त्यस अनुरुपका कार्यक्रमहरु संचालन गर्न अपरिहार्य रहेको छ ।

(वनस्पति विभागकाे रिपाेर्टकाे आधारमा)