काठमाडौं, उपराष्ट्रपतिमा नागरिक उन्मुक्ति पार्टीले पनि उम्मेदवारी दिने भएको छ । उक्त पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको हो ।
पार्टी संसदीय दलको शुक्रबार विहान बसेको बैठकले श्रेष्ठलाई उपराष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको नागरिक उन्मुक्तिमा प्रमुख सचेतक गंगाराम थारुले जानकारी दिए ।
यसअघि सत्तारुढ गठबन्धनमा उपराष्ट्रपति जनता समाजवादी पार्टी जसपालाई दिने सहमति भएको बताइएको थियो । तर कांग्रेसले पनि जसपालाई उपराष्ट्रपति दिने सहमति नभएको बताएको छ ।
जसपाले भने रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति उठाउने निर्णय गरिसकेको छ । जसपाले यादवलाई उठाउने निर्णय गरे पनि निर्वाचन आयोगले भने उपराष्ट्रपतिमा पुरुषको मनोनयन दर्ता नगर्न निर्वाचन अधिकृतलाई निर्देशन दिइसकेको बताइएको छ ।
राष्ट्रपति पौडेल खस आर्य समुदायको भएकाले उपराष्ट्रपतिमा महिला वा अन्य लिंगबाट हुने उम्मेदवार पनि फरक समुदाय (दलित, आदिवासी जनजाति, मधेसी, थारु वा मुस्लिम) को मनोनयन हुनुपर्ने भन्दै आयोगले सूचना नै निकालेको छ ।