धरान, उमेरले चौसट्ठी वर्ष, जाँगर तन्नेरिका जस्तै । अचेलका युवालाई पनि गनासो गर्दै ठिक्क छ ।
बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका ६४ वर्षीय युक्ति चौधरीलाई न कसैप्रति गुनासो न त आफ्नो उमेरको बहाना ।
बिहान सबेरै उठेदेखि बेलुका रात नछिप्पिएसम्म खेतबारीमै । उनको मेहनत गज्जबको छ । एकाबिहानै बारीमा पस्नुहुन्छ, काँक्रा, बोडी, घिरौँला, लौका, टमाटर स्याहार्दा स्याहार्दै समय बितेको पत्तो नै हुन्न ।
युक्ति मात्र हैन उहाँकै लयमा हिँडिरहेका छन् छोराबुहारी र श्रीमती पनि । परिवारको लय मिलेपछि व्यवसायमा पनि त्यसरी नै सफलता मिलिरहेको छ ।
चौधरी भन्छन्,“हाल चार बिघामा मौसमीअनुसारको विभिन्न प्रकारका तरकारी उत्पादन गरिरहेका छौँ । परिवारको साथ पाएको छु बारीभरि लटरम्मै तरकारी छन्, बेच्न भ्याइनभ्याइ छ ।”
उमेरले आराम खोज्ने समयमा पनि जोस र परिश्रममा कुनै कमी छैन । परिश्रम र आत्मनिर्भरताको उदाहरण बन्दै चौधरीले यही खेतीबाट वार्षिक रु १० लाखभन्दा बढी आम्दानी गरिरहेका छन् ।
उनले छ वर्षअघि उहाँले एककट्ठा जमिनमा तरकारीखेती सुरु गरेका थिए । त्यसको दुई वर्षपछि रितिका कृषि फार्म दर्ता गरी औपचारिक रूपमा यही उद्यममा रमाइरहेका छन् ।
“आराम गरेर घरमा बस्ने उमेर हो । तर, पनि पहिलेदेखि काम गर्ने बानी बस्यो ।
काम नगरी बस्नै सकिँदैन”, चौधरी भन्छन्,“सकुन्जेल काम गर्ने हो, हात खुट्टा चलेको छ, तागत छँदैछ । परिवारले साथ दिएकै छन् । जुनदिन सकिन्न त्यसदिनको कुरा बेग्लै होला ।”
उनको मुख्य पेसा कृषि नै हो तर घरमा केही गाई, गोरु र बाख्रा पालन गरिरहुेका छन् ।
यसले कृषिमा सहयोग पुगिरहेको छ । चौधरीले भने, “मैले घरैमा पालेको गाई, गोरु र बाख्राबाट प्राप्त हुने गोबर सङ्कलन गर्छु ।
त्यही जैविक मललाई तरकारीखेतीमा प्रयोग गर्छु । रासायनिक मलको प्रयोग घटाएर स्वस्थ्य र प्राकृतिक उत्पादन गर्न सहयोग पनि पुग्छ ।
यसले आत्मनिर्भता र दिगोपना कायम राख्न निकै सघाउ पुगेको छ ।”
उनको बारीबाट उत्पादन भएको तरकारी सुनसरीका विभिन्न ठाउँ, चक्रघटी, कालाबन्जर, बाङ्गे चतरालगायत बजारमा बिक्री हुने गरेको छ ,
“तरकारी बिक्रीका लागि बजारको समस्या छैन, व्यापारीहरू आफैँ फार्ममै लिन आउँछन्, जहाँ हामीले बजार मूल्यभन्दा रु १० कममा तरकारी दिने गरेका छौँ ।
यसले हामीलाई सहज पनि हुन्छ । नाफा घाटाको धेरै चिन्ता गर्नुपर्दैन”, चौधरी भने ।
आफ्नो बारीमा हुने उत्पादनले भान्छाको आवश्यकता पूर्तिका साथै छोराछोरी, नातिनतिनालाई पढाउनेदेखि घरखर्च चलाउनसम्म सबै आवश्यकता पूरा हुँदै आएको छ ।
चौधरी परिवारका लागि तरकारीखेती आयआर्जनको भरपर्दो स्रोत त हुँदै हो दैनिक चार, पाँच जनाले ज्यालादारीमा काम गर्न पाएका छन् ।
यसले थोरै भएपनि स्थानीयस्तरमा रोजगारी सिर्जना गर्न सघाउ पुगेको छ ।
पछिल्लो समय तरकारीखेतीका लागि स्थानीय नगरपालिकाले पनि बीउ अनुदानमा उपलब्ध गराउँदै आएको छ ।
गत वर्षमात्रै सुनसरी कृषि ज्ञान केन्द्रले रु एक लाखको अनुदान प्रदान गरेको थियो ।
चौधरीका अनुसार यस्ता अनुदानले तरकारीखेतीमा केही हदसम्म सहयोग पुगेको छ र उत्पादनमा थप उत्साह र सहजता मिलेको छ ।
बराहक्षेत्रका अधिकाङ्स स्थानीयवासी तरकारीखेतीमा आत्मनिर्भर छन् ।
बराहक्षेत्र–८ का अर्का किसान मीनकुमार उराँवले हाल १० कट्ठा जमिनमा तरकारीखेती गर्दै आएका छन् ।
“थोरै जग्गामा तरकारीखेती गरे पनि उत्पादन राम्रो भएकाले आम्दानी पनि सन्तोषजनक छ ।
आफ्नै बारीमा उत्पादन भएको अग्र्यानिक तरकारी उपभोग गर्न पाइने र बेचेर घरमै बसिबसी आम्दानी पनि गर्न पाइने”, उनले भने , “विभिन्न थरीका तरकारी बेचेर हरेक वर्ष रु तीन लाखभन्दा बढीको कारोबार गरिरहेको छु ।”
बराहक्षेत्र नगरपालिका प्रमुख रमेश कार्कीले किसानलाई तरकारीखेतीबाटै आत्मनिर्भर बनाउँदै उत्पादनमा सहजता ल्याउनेतर्फ नगरपालिका केन्द्रित रहेको बताए ।
उनले भने , “नगरपालिकाले स्थानीय किसानको आर्थिक विकासका लागि जैविक तरकारीखेती, सिँचाइ सुविधा र उत्पादन निर्यात गर्न यातायातको सुविधाका साथै प्रोत्साहनस्वरुप हरेक वर्ष तालिम र अनुदान प्रदान गर्दै आएका छौँ ।”
जिल्लामा हाल आठ हजार १५३ हेक्टरमा तरकारीखेती हुँदै आएको कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रवीणलाल श्रेष्ठले जानकारी दिए ।
जिल्लाको बराहक्षेत्र, रामधुनी क्षेत्रलगायत स्थानका किसानले तरकारीखेती गर्दै आएका छन् ।
रासस


































