२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाए भारत–पाकिस्तान आक्रमणको विषय

Untitled
Untitled
Untitled

काठमाण्डू, प्रतिनिधिसभा बैठकमा सांसदहरूले भारत–पाकिस्तान आक्रमणको विषयलाई प्राथमिकताका साथ उठाएका छन् ।

दुई देशबिच चलेको श्रृङ्खलाबद्ध आक्रमणले नेपाललाई पार्न सक्ने प्रभावको विषयमा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।

भारतमा रहेका नेपाली नागरिकको सुरक्षा र सीमाहरूमा सुरक्षा व्यवस्था चुस्त राख्नुपर्ने उनीहरूको माग छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाले नेपाल शान्तिको पक्षमा रहेको सन्देश विश्व समुदायलाई दिनुपर्नेमा जोड दिनुपर्ने बताए ।

सांसद खनालले सार्वजनिक वक्तव्यमा परराष्ट्र मन्त्रालयले आतङ्कवादविरुद्ध लिएको अडानको स्वागत गर्दै सम्भावित युद्धको अवस्थामा नेपालमा पर्नसक्ने प्रभावहरूको गम्भीर समीक्षा गर्नुपर्ने जानकारी दिए ।

उनले भारत–पाकिस्तानबिच युद्धको स्थिति उत्पन्न भएमा नेपालमा पर्नसक्ने सुरक्षा, आपूर्ति, र आर्थिक असरहरूका साथै ति देशहरूमा रहेका नेपालीहरूको अवस्थाबारे विश्लेषण गरी योजना बनाउन सरकारसँग माग गरे ।

उनले भने, ‘‘आफ्नो छिमेकी मात्र होइन सार्कको अध्यक्षको नाताले यो क्षेत्रको शान्ति र स्थिरताको पक्षमा नेपालको स्वभाविक चासो हुनुपर्दछ ।

परराष्ट्र मन्त्रालयले ढिलै भए वक्तव्यमार्फत सार्वजनिक गरेको आतङ्कवादविरुद्धको अडानको स्वागत गर्दै भारत पाकिस्तानबीच युद्धको स्थिति बन्न गएमा नेपालमा पर्नसक्ने सुरक्षा, आपूर्ति र आर्थिक श्रृङ्खलाको असरका साथै पश्चिम भारत र पाकिस्तानमा रहेका नेपालीहरूमाथि पर्नसक्ने प्रभावसम्मको आँकलन गरी योजना निर्माणको माग गर्दछु ।’’

नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरले भारत–पाकिस्तानबिच सम्भावित युद्धको असरबारे सचेत हुनुपर्ने बताए ।

नेकपा (एमाले)का सांसद सरस्वती सुब्बाले भारत–पाकिस्तानबीच चुलिँदो तनावले नेपालमा पनि तत्काल असर पार्नसक्ने भन्दै सरकारलाई कूटनीतिक सक्रियता बढाउन आग्रह गरे ।

उनले बढ्दो द्वन्द्व र अस्थिरताको प्रभाव नेपालमा प्रत्यक्ष देखिनसक्ने उल्लेख गरे ।

भारत–पाकिस्तानबिचको तनाव नरोकिए भूराजनीतिक दबाब, कूटनीतिक असन्तुलन, खुला सीमाको सुरक्षा जोखिम, आर्थिक परनिर्भरता, आपूर्ति सङ्कट, हवाई यातायात, पर्यटन र व्यापार समेत प्रभावित हुनसक्ने उनको भनाइ छ ।

सांसद सुब्बाले नेपालले असंलग्न परराष्ट्र नीतिको मार्गबाट नहटिकन भारत र पाकिस्तान दुवैसँग संवाद र कुटनीतिक समन्वय विस्तार जोड दिए ।

उनले भने, ‘‘भारत–पाकिस्तानको हालको तनावले दक्षिण एसियामा व्यापक असर परिरहेको छ ।

जसको असर नेपालमा पनि तत्काल पर्नसक्छ । सभामुख महोदय नजिकको छिमेकीको अर्को छिमेकीसँग द्वन्द्व भयो भने हामीले भाग्नुपर्ने सम्भावित चुनौतीहरू, भूराजनीतिक दबाब, कूटनीतिक असन्तुलन, खुला सीमा सुरक्षा जोखिम, आर्थिक परनिर्भता र आपूर्तिमा सङ्कट, हवाई यातायात, पर्यटन र व्यापारमा समेत समस्या पर्नसक्ने भएको कारण नेपालले असंलग्न परराष्ट्र नीतिलाई कायम राख्दै भारत र पाकिस्तान दुवैसँग संवाद र कुटनीतिक सक्रियता बढाउनुपर्छ ।’’

२२ अप्रिलमा पहलगाममा भएको आतङ्कवादी आक्रमणपछि भारत र पाकिस्तान आम्नेसाम्ने भएका छन् । पहलगाम आक्रमणमा पाकिस्तानलाई दोषी देखाएर भारतले जवाफी हमला सुरु गरेको थियो ।

Untitled
Untitled
Untitled