लुभेन, बेल्जियम: गैरआवासीय नेपाली संघ बेल्जियम शाखाकी निर्वाचित अध्यक्ष सीता सापकोटाले बेल्जियममा समानान्तर गतिविधि भएकोमा रोष प्रकट गरेकी छन्।
मंगलबार लुभेनमा आयोजित एक पत्रकार सम्मेलनका बिच उनले आफ्नो असन्तुष्टी ब्यक्त गरेकी हुन्।
सापकोटा कमिटिका विरूद्ध हालै उपाध्यक्ष लोकेन्द्र नेपालको घोषित नेतृत्त्वमा गत निर्वाचनमा सापकोटासँगै पराजित तिर्थ धमलालगायतको अगुवाईमा समानान्तर समितिको घोषणा गरेका थिए।
गैरआवासीय नेपाली संघ बेल्जियम शाखाकी अध्यक्ष सापकोटाले केन्द्रको झगडाका कारण बेल्जियममा समेत दुर्भाग्यपूर्ण गतिविधि भएको प्रष्ट पार्दै कमिटीमा निष्कृय रहेका केही सदस्यहरूको हस्ताक्षर संकलन गरी नेकपा एमाले निकट प्रवासी मंचको आश्रयमा ति गतिविधि भएको आरोप लगाइन्।
पूर्व अध्यक्षहरू जानकी गुरूङ, प्रेम गुरूङ, गंगाधर गौतम, लोक दाहाल लगायतले सो पत्रकार सम्मलेनमा बोल्दै बद्री केसी नेतृत्त्वको गैरआवासीय नेपाली संघको हस्तक्षेपले बेल्जियममा चलखेल भएको आरोप लगाए। उनीहरूले बद्री केसी नेतृत्त्वको गैरआवासीय नेपाली संघले कोषको हिनामिना गरेकोमा समेत आपत्ति जनाउँदै सीता सापकोटा नेतृत्त्वको कमिटीले बेल्जियममा निर्वाचन गरी विधानतः नयाँ कमिटीलाई पद हस्तान्तरण गरिने उल्लेख गरे।