२०८१ मंसिर १७ सोमवार | Monday, Dec 02 2024

नव वर्ष बरू नआउ

कविता

Untitled
Untitled
Untitled

ओहो,
विगत झैं तिम्रो
फेरी पनि आगमन
तिम्रो स्वागतमा
करोडौं मुटुहरुले
फूलका थुँगाहरु सजाएका छन्
चारैतिर रंगीबिरंगी रंगरोकनहरु
हर्ष उल्लासहरु मच्चिदै छन्
अनि, तिम्रो आगमनमा
खुसिका पलहरु संहालिदै छन् ।
तिमी आफैंमा लठ्ठ नपर
भ्रमित नहोउ र नबन पनि
यहाँ तिम्रो आगमनमा
आमाको छाती चिरिएको छ
बाबाको गोडा भाँचिएको छ
दिदीबहिनीको सिंन्दुर पुछिएको छ
दाजुभाईको रगतले होली खेलिएको छ
तोते बोली नफुट्दै
साना नानीहरु
बलात्कारको सिकार बन्नु परेको छ ।
हो, साँच्चै तिम्रो स्वागतमा
पुष्पवृष्टि पनि नगरेको होइन
तर तिम्रो आगमनको कदम कदममा
अन्याय अत्यचार लिएर आउँछौ
हर्षका आँसु पिएर आउँछौ
हत्या हिंसा भिरेर आउँछौ
बम र गोलाको संगीत बजाएर
क्रान्ति र युद्दका गीत गाएर आउँछौ
बारुदको दुर्गन्धित बास्ना छर्दै आउँछौ
अनि,
कहालिलाग्दो मृत्युको
चित्कार लिएर आउँछौ ।
यहाँ तिम्रो आगमनसँगै
कति घरबार विहिन बने
कति परिवार विहिन भए
कतिका सिउँदो उजाडिए
कति निसन्तान बने
स्कुले केटाकेटीले
विध्यार्थी भन्न पाएनन्
पत्रकारले स्वतन्त्र
कलम चलाउन पाएनन्
कविले सृजना गर्न सकेनन्
श्रम र मेहनतले एकछाक टार्ने
गरिब मजदुरी गर्न पाएनन्
त्यसैले त तिम्रो खुसि पलमा
हर्ष उल्लास गर्न सकेनौ
सधैं हड्ताल चक्काजाम
अनि,
बन्द भइरह्यो
आफु आफुमा दन्द् चलिरह्यो
काटाकाट र मारामार ।
खवरदार ! नवबर्ष
तिमी प्रत्येक एक वर्षपछि
निरन्तर रुपमा आउन त आयौ
तर विगत झैं हैन
सक्छौ भने भोकाको गाँस बनेर आउ
सुकुम्बासीको बाँस बनेर आउ
गरिब मजदुर सर्बहाराको
समग्रता प्रकाश बनेर आउ
दिर्घकालिन शान्ती लिएर आउ
हैन भने नववर्ष तिमी
नेपाली मन मस्तिष्कमा
कहिलै आउँदै नआउ
कहिलै छाउँदै नछाउ ।

Untitled
Untitled
Untitled