२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सबै नेपाली स्वस्थ र खुसी रहून् : राष्ट्रपति पौडेल

Untitled
Untitled
Untitled

काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले देश विदेशमा रहनु भएका सबै नेपालीको स्वस्थ जीवन र अनुहारमा खुसीयाली रहोस् भन्ने कामना गरेका छन् ।

नयाँ वर्ष २०८० को अवसरमा आज दिनुभएको शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले भनेका छन्, ‘‘न वर्ष २०८० सालको आरम्भमा यहाँहरूको सुख, शान्ति, समृद्धि एवं हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

नयाँ वर्षले विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई पनि स्वस्थ जीवन र खुसी प्रदान गर्न सकोस्, विधातासँग यही मेरो प्रार्थना छ ।’’

राष्ट्रपतिले पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ हुन् र यिनै अवयवको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति जनताको भरोसा जागृत हुनेछ भन्ने मेरो दृढ विश्वास व्यक्त गरे ।

उनले शुभकामना सन्देशमा भनेका छन्, हामी सबैले बुझ्नुपर्ने कुरा के पनि हो भने, ‘लोकतन्त्रको विकल्प पूर्ण लोकतन्त्र नै हो ।’’

आफ्नो सन्देशमा राष्ट्रपतिले भन्नुभएको छ, ‘‘हामी माझ व्याप्त नैराश्यतालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरौं ।

श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरौं र राष्ट्रका अपार स्रोत सम्पदा र सम्भावनाको उद्‌घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौं ।’’

राष्ट्रपतिले नव वर्ष २०८० को अवसरमा दिएका शुभकामना सन्देशको पूर्ण विवरण यस प्रकार छ

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,

नव वर्ष २०८० सालको आरम्भमा यहाँहरूको सुख, शान्ति, समृद्धि एवं हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

नयाँ वर्षले विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई पनि स्वस्थ जीवन र खुसी प्रदान गर्न सकोस्, विधातासँग यही मेरो प्रार्थना छ ।

सार्वभौमिक सत्ता सम्पन्न जनताका प्रतिनिधिहरूबाट निर्मित विधि र पद्धतिबमोजिम संसदीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था चल्ने चलाउने भन्ने नै संवैधानिक राष्ट्रिय प्रतिज्ञा र घोषणा भएकाले मुलुक सोहीअनुरूप अघि बढ्नु पर्दछ भन्ने कुरामा मेरो प्रतिबद्धता छ ।

संवैधानिक कर्तव्य र जिम्मेवारी पूरा गर्दा होस् वा जुनसुकै कार्य पनि लोकतान्त्रिक मूल्य, मान्यता र परम्परालाई आत्मसात् गरेमात्र मुलुकमा शान्ति, विकास र समृद्धि कायम भई हामी समाजवादतर्फ उन्मुख हुनेछौँ । तर जो कसैको पनि स्थापित विधि विपरीतको सक्रियता तथा कुनै निहित स्वार्थ प्राप्तिको आतुरताले बामे सर्दै अघि बढेको लोकतान्त्रिक परिपाटी मजबुत हुँदैन । त्यसतर्फ हामी सबै सचेत हुनु पर्दछ । पारदर्शिता, जवाफदेहिता र सुशासन लोकतन्त्रका आधार स्तम्भ हुन् । यिनै अवयवको सही कार्यान्वयनबाट नै लोकतन्त्रप्रति जनताको भरोसा जागृत हुनेछ भन्ने मेरो दृढ विश्वास छ । साथै, हामी सबैले बुझ्नुपर्ने कुरा के पनि हो भने, ‘लोकतन्त्रको विकल्प पूर्ण लोकतन्त्र नै हो ।’

आदरणीय दिदीबहिनी दाजुभाइहरू,

जनताको लामो संघर्ष र असीम बलिदानबाट नेपालमा जुन परिवर्तन आएको छ । नेपालका तल्लो तहका उत्पीडित र थिचिएका जनतासम्म अधिकार निक्षेपित गर्ने जुन काम भएको छ, यसको सान्दर्भिकताका साथै गहिराइ बुझ्ने, अनुभूति गर्ने र आत्मसात् गर्ने कुरामा कसैले पनि हेलचेक्र्याइँ गर्नु हुँदैन ।

यस परिप्रेक्ष्यमा, जनअधिकारको रक्षा र अभिव्यक्तिका लागि राजनीतिक दलहरूको अपरिहार्यता आजको स्थापित सत्य हो । चरम दलगत र गुटगत राजनीतिभन्दा माथि रही विधिको सिल राखी यसको सीमा भित्रैबाट प्रकट हुने क्रियाशीलता, विचार र अभिव्यक्तिको स्वतन्त्रताको अभ्यासले मात्र मुलुकमा अमनचयन राख्न राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव तथा नेपाली–नेपालीबीच अपनत्व र भ्रातृत्व बढाउन तथा मुलुकको सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्न थप मद्दत पुर्‍याउन सक्नेछ र त्यसले क्रमशः मुलुकमा स्थापित लोकतान्त्रिक पद्धति फलित र सुवासित हुँदै जानेछ भन्ने मलाई लाग्दछ ।

आदरणीय दिदीबहिनी दाजुभाइहरू,

आर्थिक रूपमा देश सबल र सक्षम हुनुपर्दछ भन्ने मान्यता हामी सबैको हो । तर, केही समययता बाह्य एवं आन्तरिक कारणहरूले अर्थतन्त्रमा परेको प्रतिकूल असर र जनतालाई यसले पारेको नकारात्मक प्रभावबाट जतिसक्दो छिटो मुलुकले निकास पाउनु पर्दछ ।

यसैबीच, मानव समाजमाझ बढिरहेको पदार्थवादी महत्वाकांक्षा र प्रकृतिको निर्मम दोहनले विश्वव्यापी जलवायु परिवर्तन, जैविकीय विविधताको ह्रास साथै बढ्दो प्रदूषण आज चुनौतीका रूपमा हामी सामुन्ने देखा परेका छन् ।

यस चुनौतीबाट हाम्रो मुलुक पनि अछुतो रहेको छैन । हाम्रो हिमाली भेग, उच्च पहाडका साथै चुरे र तराईका फाँटहरूसम्म पनि जलवायु परिवर्तनको प्रतिकूल प्रभाव टड्कारो रूपमा पाइन्छन् । यस भौगोलिक क्षेत्रमा नै खानेपानीको मुहानको रूपमा रहेको हिमाली क्षेत्र अहिले संकटपूर्ण अवस्थामा रहेको यथार्थ यहाँ दोहोर्‍याउन चाहन्छु ।

यस वातावरणीय चुनौती, आर्थिक मन्दी तथा राजनीतिक संक्रमणबीच नेपाल आगामी तीन वर्षभित्र अति–कम विकसित देश ९ीम्ऋ० बाट विकासोन्मुख देशको श्रेणीमा स्तरोन्नति हुने चरणमा रहेको छ । तसर्थ, यी सबै कठिन परिवेशमाझ हरेक प्रकारले सजग रही राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सरोकारवालाहरूको सहयोग र सद्‌भाव लिई हाम्रा कदमहरू अगाडि बढ्ने कुरामा म विश्वस्त छु ।

अन्त्यमा, हामी माझ व्याप्त नैराश्यतालाई चिर्दै देशमा राजनीतिक स्थिरता र सुशासन कायम गरौं । श्रमको सम्मान गर्ने संस्कृतिको विकास गरौं र राष्ट्रका अपार स्रोत सम्पदा र सम्भावनाको उद्‌घाटन गरी एउटा सबल र समुन्नत नेपाल निर्माण गर्न कटिबद्ध रहौं । पुनः नव वर्ष २०८० प्रेरणादायी बनोस् भन्ने अपेक्षासहित सबैमा सुखद भविष्यको शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल ।

मिति २०८० साल वैशाख १ गते शुक्रबार ।

Untitled
Untitled
Untitled