काठमाण्डू, नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) को नवौं संस्करणमा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको विधामा दीपक रौनियार निर्देशित ‘राजागंज’ : पूजा सर’ ले जितेको छ।
काठमाडौंको सुन्धारास्थित सिभिल मलमा सोमबार भएको समापन कार्यक्रममा उक्त फिल्मलाई ट्रफी र पन्ध्र सय अमेरिकी डलर पुरस्कारले सम्मान गरिएको छ।
सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार भने समुन्द्र भट्ट निर्देशित ‘गुन्यू चोलो स् द ड्रेस’ले पाएको छ।
यो फिल्म ट्रफी र एक हजार अमेरिकी डलरले सम्मानित भयो। भट्टले यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जितिन्। यसै चलचित्रबाट नाजिर हुसेनले सर्वोत्कृष्ट नायकको अवार्ड जिते।
त्यसैगरी फिल्म ‘कोशेढुङ्गा’बाट सुरक्षा पन्तले सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन्। सर्वोत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड चलचित्र ‘कोशेढुङ्गा’ बाटै बाबु श्रेष्ठले पाए।
राष्ट्रियतर्फ सर्वोत्कृष्ट पटकथाकारको अवार्ड चलचित्र ‘केटी हराएको सूचना’बाट दीपेन्द्र गौचनले हात पारे।
दक्षिण एसियाली चलचित्र अन्तर्गतको प्रतिस्पर्धामा नेपाली भाषाको भारतीय चलचित्र ‘जार’ सर्वोत्कृष्ट घोषित भएको छ।
फुर्वा क्षिरिङ लामा निर्देशित यस चलचित्र ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ।
त्यस्तै, सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्रीको अवार्ड आइसल्यान्डको ‘ग्राउन्ड बिनिथ आवर फिट’ले पाएको छ।

इर्सा रोका फ्यानबर्ग निर्देशित यस डकुमेन्ट्रीलाई ट्रफी र एक हजार अमेरिकी डलरले सम्मान गरिएको छ।
सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मको अवार्ड ’सिप’ले पाएको छ। हादी बाबेइफरद्वारा निर्देशित इरानको यस सर्ट फिल्म ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ।
सर्वोत्कृष्ट एआई थिम्ड सर्ट फिल्मको अवार्ड जितेको ‘स्पिरिट अफ द माउन्टेन’ ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ।
यो पाङ जियाद्वारा निर्देशित यो चिनियाँ सर्ट फिल्म हो। सर्वोत्कृष्ट विद्यार्थी चलचित्रको अवार्ड मेक्सिकोको चलचित्र ‘पासारिन्हो’ घोषित भएको छ।
यो चलचित्रलाई पाँच सय डलर र ट्रफीले सम्मान गरिएको छ।
सर्वोत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री दीपक छोदेन लामाद्वारा निर्देशित ‘होम इज नट अ प्लेस’ र सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको सुरज पौडेलद्वारा ‘रिहाना’ घोषित भए।
यी दुवै ट्रफी र पचास हजार रुपैयाँले सम्मानित भए। डन किहोते सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड इरानी फिल्म ‘माई डटर्ज हेयर’ले जितेको छ।
हेसाम फराहमान्दद्वारा निर्देशित यस फिल्मलाई प्रमाणपत्रले सम्मान गरिएको छ।
स्पेशल मेन्सन राष्ट्रिय डकुमेन्ट्री ङिमा गेलु शेर्पाद्वारा निर्देशित ‘एज डे गोज बाइ’ घोषित भयो।
स्पेशल मेन्सन अन्तर्राष्ट्रिय सर्ट फिल्म भारतको ‘हाउसकिप्पर’ घोषित भयो। सुर्या बालाकृष्णद्वारा निर्देशित यस सर्ट फिल्मलाई प्रमाणपत्रले सम्मान गरियो।
स्पेशल जुरी मेन्सन अन्तर्राष्ट्रिय चलचित्र अवार्ड भने चिनियाँ चलचित्र ‘द शोर अफ लाइफ’ घोषित भएको छ। प्रमाणपत्रले सम्मानीत यस फिल्मको निर्देशक ची झाङ हुन् ।
प्रमुख अतिथि हार्तम्छालीले अवार्ड कार्यक्रम आयोजना गरी विदेशी फिल्म उद्योघसँग नेपाली चलचित्रलाई जोड्ने र सम्बन्ध विस्तारको काम गरेको भन्दै निफका अध्यक्ष केपी पाठकलाई धन्यवाद व्यक्त गरे।
अध्यक्ष पाठकले निफ सफल पार्न सहयोग गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरे। यस संस्करणको निफ चैत १९ गतेबाट सुरु भएको थियो।


































