काठमाण्डू, साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा आयोजना गरेको राष्ट्रव्यापी कविता महोत्सव–२०८२ मा पाँचथरकी देवु लुइटेलको ‘मातृभूमि अर्चना’ कविता प्रथम भएको छ ।

यस्तै मोरङकी शारदा भट्टराईको ‘झुक्दैन नेपाल यो’ द्वितीय तथा सिन्धुपाल्चोकका सुन्दर शिरीषको ‘सभ्यताको शोकधुन’, दैलेखकी गरिमा पाण्डेयको ‘यहाँ जन्माउनु छ नयाँ बुद्ध’ र चितवनकी शोभा अधिकारीको ‘आदिम हस्ताक्षर’ कविताले तृतीय स्थान प्राप्त गरेका छन् ।

प्रतियोगिताका लागि प्राप्त १७१ कवितामध्येबाट उत्कृष्ट पाँचको वाचनपछि मूल्याङ्कनकर्ताद्वय खेमराज निरौला र ज्ञानु अधिकारीले नतिजा घोषणा गरेका थिए ।

प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमशः ३० हजार, २० हजार र १० हजार रुपियाँ राशिको पुरस्कार प्रदान गरिएको थियो ।
कार्यक्रममा तीन दर्जनभन्दा बढी स्थापित कविले आफ्ना रचना वाचन गरेका थिए ।




































