२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

गाउँ सञ्चालन सम्बन्धी मूल विधि परिवर्तन (लघु कथा)

Untitled
Untitled
Untitled

दीलकुमार तामाङ

एकादेशको कुनै एक गाउँमा परिस्थितबस गाउँ सञ्चालन सम्बन्धी मूल विधि परिवर्तन भएछ।

गाउँ सञ्चालनको मूल विधि परिवर्तन भएछि अन्य विधिहरु परिवर्तन गर्नै पर्यो।

यस्तो अवस्थामा लामो समय सम्म पनि कृषि सम्बन्धी विधिमा परिवर्तन हुन नसकेकाले मूल विधिको मर्म बमोजिम तीन तहको बाली नाली लाउन र बाली नालीबीच उचित समन्वय र सहकार्य बढाउन कठिनाई भैरहेको रहेछ।

गाउँका मुखियाहरुले गाउँले प्रतिनिधिमण्डल समक्ष कृषि सम्बन्धी विधिको मस्यौदा पेश गरी यो पटक जसरी भएपनि अनुमोदन गरी दिन अनुरोध गरेछन।

सोहि वमोजिम गाउँले प्रतिनिधिमण्डल जुटे। प्रतिनिधिहरुबाट प्रस्तुत कृषि विधिको मस्यौदा उपर विभिन्न खाले काटछाँट र थप थापका रायहरु पेश भए ।

ती सबै रायहरु संगालेर राम्रो कृषि विधि बनाइ प्रतिनिधिमण्डल समक्ष पेश गर्न गाउँले प्रतिनिधिमण्डले आफू अन्तर्गतकै सानो मण्डलमा पठायो।

सानो मण्डलमा धेरै बिषयहरु छलफल हुदै गर्दा हिउँदेबालीको सिंचाईको लागि व्यवस्था गरिएको एउटा नहरको मुहानको बिषय जोडतोडका साथ उठान भयो ।

हुन त त्यस गाउँको नियमित सिंचाईका लागि अन्य थुप्रै नहर र वैकल्पिक विधिहरु थिए ।

यद्यपि प्रभावकारी सिंचाईको लागि आवाधिक मर्मत संभारको खाँचो भने थियो।

तर, हिउँदे सिंचाईको एउटा नहरको मुहानको बिषयमा भने छलफल र चर्चा परिचर्चा यति विधि भयो कि गाउँको समग्र कृषि प्रणालीको सुधारको प्रधान बिषयनै त्यो नहरको मुहान हो।

यसबाट कृषि विधिको अनेकन महत्वपूर्ण बिषयहरु ओझेलमा परे।उक्त हिउदे नहरको मुहानको सम्बन्धमा एकथरीले हाल सम्म सिधै खोलामा मुहान बनाई नहरमा पानी लग्नाले हिउदे सिंचाई प्रभावकारी हुन सकेन।

बेला बेला नहरमा बालुवा, लेदो र फोहर समेत आउने गरेको कारण खेतबारी विग्रियो, उत्पादनमा ह्रास आयो।

त्यसैले कम्तिमा २ कि. मि. ड्याम बनाई खोलाको पानी थिग्रिए पश्चात मात्र नहरमा पठाउन पर्छ।

अर्को थरीले अहिले सम्म सिधै मुहानबाट नहरमा पानी पठाउने विधिनै उत्तम हो। राम्रै उत्पादन भैरहेछ।

के का लागि २ कि. मि. ड्याम बाँध्ने ? थिग्र्याउनु भन्दा खोलाबाट सिधै फ्रेस पानीले सिंचाई गर्दा नै हिउँदे बाली फस्टाइ रहेछ।

बालुवा, लेदो आदि रोक्न मुहानमा उपयुक्त उपाय लगाउन सकिने राय यस पक्षको रह्यो। यसबीच सो बिषयमा धेरै सरोकारवालासँग छलफल परामर्श भयो ।

केहिले २ कि। मि। ड्याम अलिक लामो हुन्छ १ वा आधा कि। मि। मात्र बनाए पानी थिग्रिन्छ पनि भने ।

केहिको भने नहरको मुहानको बिषय जलस्रोत तथा सिंचाई सम्बन्धी विधि मार्फत निर्क्यौल गरिनु पर्नेमा कृषि विधिमा अनावश्यक घुसाईएको भन्ने तर्क रह्यो।

जे होस गर्मा गर्मी छलफल पश्चात सानो मण्डलले उक्त नहरको बिषयमा सर्व सम्मत रुपमा साविकको मुहान समेत नष्ट गरी २ कि. मि. ड्याम बनाई अनिवार्य रुपमा पानी थिग्र्याएर मात्र नहरमा पठाउने व्यवस्थामा सहमति गरे ।

हिउँदे सिंचाईको एउटा नहरको मुहानको सम्बन्धमा उल्लेखित व्यवस्था सहित सानो प्रतिनिधिमण्डलले कृषि विधिलाई अन्तिम रुप दिइ गाउँले प्रतिनिधिमण्डल समक्ष पेश गर्यो र गाउँले प्रतिनिधिमण्डलबाट समेत सोही प्रावधान सहित अनुमोदन भएको भनियो ।

अनुमोदन भएको भनिएको कृषि विधि थप अनुमोदनका लागि गाउँकै बुढ्यौली प्रतिनिधिमण्डल जान बाँकी नै हुँदा थाहा भयो कि विधिमा हिउँदे नहरको सम्बन्धमा साविकको मुहान समेत नष्ट गरी २ कि. मि. ड्याम बनाई खोलाको पानी अनिवार्य रुपमा थिगारेर मात्र नहरमा पठाउने प्रावधानको तल तिर उक्त प्रावधानसँग संगति नराख्ने गरी केहि वरिष्ठ कृषकको खेतबारीमा सिंचाई गर्न भने सिधै खोलाको मुहानबाट नहरमा पानी लान वाधा नपर्ने प्रावधान समावेश रहेछ।

यो कुराले गाउँ भरी चर्चा र विवाद चुलियो। सहमति विपरितको प्रावधान कसले ? कसरी ? किन ? भनेर अनेकन अडकलबाजी र आरोप प्रत्यारोपको श्रृङखला चल्यो।

गाउँले प्रतिनिधिमण्डलको मुखियाले छानवीन प्रतिनिधिमण्डल बनायो । छानविन प्रतिनिधिमण्डलले काम गर्दै होला !

के निचोड आउने हो ? उता गाउँले बुढ्यौली प्रतिनिधिमण्डलले के गर्ने हो ? गाउँलेहरु पर्खाईमा छन रे !

गाउंँलेहरु एउटा हिउँदे नहरको मुहान सम्बन्धी बिषयले कृषि विधिनै रोकिने हो कि भन्ने आशंका समेत गर्दारहेछन् !

दीलकुमार तामाङ

Untitled
Untitled
Untitled