२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

‘लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई मेसिन ल्याउँछौं’

Untitled
Untitled
Untitled

सिद्धार्थनगर। लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री खेमबहादुर सारुले लुम्बिनी प्रादेशिक अस्पतालमा जसरी पनि एमआरआई मेसिन ल्याएर छाड्ने दाबी गर्नुभएको छ।

मेसिन खरिदका लागि हाल प्रक्रियामा रहेका टेन्डरमा स्पेसिफिकेशनका विषयमा उठेका प्रश्नलाई समाधान गरेर नयाँ प्रक्रियाबाट मेसिन खरिद हुने उहाँको भनाइ छ।

‘यसअघि भएको टेन्डर प्रक्रियामा कुनै एक कम्पनीलाई मात्रै लक्षित गरी स्पेसिफिकेशन गरिएको भनेर विरोध भयो। अब उक्त प्रक्रियालाई मिलाएर सबैले प्रतिस्पर्धामा सहभागी हुन पाउने गरी टेन्डर आह्वान गर्छौं’, मन्त्री सारुले भन्नुभयो, ‘अब नयाँ प्रक्रियाबाट मेसिन खरिद प्रक्रिया अघि बढ्छ, जसरी भए पनि एमआरआई मेसिन खरिद गरी जनतालाई शुलभ दरमा सेवा प्रदान गर्न सरकार प्रतिबद्ध छ।’

बुटवलमा रहेको गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको १२ औँ वार्षिकोत्सव तथा चौथो अधिवेशनको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।

कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले सरकारलाई जनताको सेवामा समर्पित हुन आग्रह गर्नुभयो।

कार्यक्रममा लुम्बिनी प्रदेशसभा सदस्य भोजप्रसाद श्रेष्ठ, विष्णु पन्थी, रोटरी क्लबका गभर्नर देवेन्द्र ध्वजु, बुटवल उद्योग सङ्घका अध्यक्ष दिलीप सापकोटा, नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले अस्पतालको भवन निर्माणका लागि जग्गा प्राप्तिको प्रक्रियालाई छिटो टुङ्गोमा पुर्‍याउन सरकारलाई आग्रह गर्नुभयो।

Untitled
Untitled
Untitled