एक्काइसौँ शताब्दी मानव समाजको तीव्रतर विकासको परिचायक बनेको छ । अहिलेको तीव्रतर विकासको प्रवाहमा मानव जातिका हरेक क्रियाकलाप छिटोछरितो वा ‘फास्ट फरवार्ड’ हुँदै गएको देखिन्छ । सञ्चार, यातायात तथा अन्य जीवनदायिनी प्रविधिको जादुमय विकासले मानिसलाई ‘फास्ट फरवार्ड’ हुन सघाएको छ ।
यद्यपि मानव प्रगतिपथमा जति नै तीव्र गतिमा अघि बढे पनि प्रकृतिले हरेक चिजको ‘फास्ट फरवार्ड’ गतिलाई मान्दैन । प्रकृतिले आफ्नो चक्र(साइकल) पूरा गर्न निश्चित समय लिन्छ । प्रकृतिको नियमलाई छलेर ‘सर्टकट’ बाटो अपनाउँदा गम्भीर सङ्कट निम्तिन सक्छ । यसको दृष्टान्तका रूपमा आधुनिक युगको एउटा महत्वपूर्ण परिचायक मानिएको ‘फास्ट फुड’ लाई लिन थालिएको छ ।
अनेकौँ अध्ययनले ‘फास्ट फुड’ जनस्वास्थ्यका दृष्टिले हानिकारक रहेको देखाइसकेका छन् । भनाइ नै छ, फास्ट फुड, फास्ट डेथ । फास्ट फुडले जनस्वास्थ्यमा पारेको गम्भीर असरलाई ध्यानमा राखेर यसविरुद्ध भद्र आन्दोलन नै सुरु भइसकेको छ । यसको नाम हो, ‘स्लो फुड मुभमेन्ट ।’
कसरी सुरु भयो ‘स्लो फुड मुभमेन्ट’ ?
‘स्लो फुड मुभमेन्ट’ को कुरा गर्दा ‘फास्ट फुड’ को प्रसङ्ग नआई छाड्दैन । ‘फास्ट फुड संस्कृति’ दोस्रो विश्वयुद्धपछि मूलतः अमेरिकामा उदय भयो । मध्यम वर्गको उकालो लाग्दो ग्राफ, शहरी संस्कृतिको विस्तार र संस्कृतिको उदयबाट ‘फास्ट फुड संस्कृति’ अभिप्रेरित थियो ।
‘फास्ट फुड’ उद्योगमा म्याकडोनाल्ड्स, बर्गर किङ, केएफसी जस्ता ठूला कम्पनीको दरिलो उदय भएपछि यिनको विश्वव्यापी नेटवर्क फैलिँदै गयो । ‘फास्ट फुड रेस्टुराँ’ हरू अमेरिकी जीवनको अभिन्न अङ्ग बन्न थाले । यससँगै ‘फास्ट फुड संस्कृति’ ले गति लिन थाल्यो ।
‘फास्ट फुड रेस्टुराँ’ हरूले बेफुर्सदीमा रहेका कामकाजी व्यक्ति तथा यात्रामा निस्केका यात्रुजनलाई छिटोछरितो किसिमले सस्तो खाद्यपरिकार उपलब्ध गर्न थाल्यो । यी रेस्टुराँले समयक्रममा आफ्ना सेवालाई अमेरिकाका विभिन्न शहर र विश्वका अन्य भागमा पनि विस्तार गर्दै लगे । यसले विश्वव्यापी रूपमै खानपानको ढाँचामा नजानिँदो किसिमले परिवर्तन ल्याइदियो ।
यससँगै ‘फास्ट फुड चेन’ हरूले आफ्ना खाद्यपरिकारका मेनु र रेस्टुराँ सञ्चालन विधिलाई पनि मानकीकरण गर्दै एक रूपता दिन थाले, जसबाट ‘फास्ट फुड’ रेस्टुराँबाट प्राप्त उपलब्ध वस्तु तथा सेवाको पहिचान सबैतिर लगभग एकै किसिमका देखिन थाले । समयको प्रवाहसँगै ‘फास्ट फुड चेन’ हरू विश्वभर लोकप्रिय हुन थाले, जुन ‘पप कल्चर’ को एक हिस्सा बन्न पुग्यो ।
सुरु सुरुमा ‘फास्ट फुड संस्कृति’ ले बहुसङ्ख्यक उपभोक्तालाई हदैसम्म लोभ्याए पनि समय बित्दै जाँदा यसका नकारात्मक पाटा पनि उद्घाटित हुँदै गए । परिकारलाई स्वादिष्ट तुल्याउन ‘फास्ट फुड’ मा राखिएको चिल्लो, बोसो (फ्याट), नुन, चिनी आदिको अधिक मात्राले उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर देखा पर्न थाले ।
‘फास्ट फुड’ उपभोग गर्नाले मोटोपन, मधुमेह, हृदयरोग, क्यान्सर तथा अन्य असाध्य रोगको दर पनि बढ्दै गएको अध्ययनले देखाएको छ । अमेरिकी संस्था नेसनल इन्स्टिच्युट अफ हेल्थको वेबसाइटमा प्रकाशित एक लेखका अनुसार बितेको ५० वर्षमा अमेरिकी समाजमा ‘फास्ट फुड’ ले स्वास्थ्यमा गम्भीर समस्या निम्त्याएको छ ।
लेखका अनुसार अमेरिकामा ७१ प्रतिशत मानिस मोटोपनबाट ग्रसित छन् । अहिले धूमपानले भन्दा पनि ‘फास्ट फुड’ ले तीव्र गतिमा काल निम्त्याएको सोही लेखमा उल्लिखित छ । ‘फास्ट फुड’ ले जनस्वास्थ्यमा पारेको नकारात्मक असरबारे अरू कैयन् अध्ययन भएका छन्, जसले खतराको घण्टी बजाएका छन् ।
‘फास्ट फुड संस्कृति’ ले जनस्वास्थ्यमा गम्भीर असर त निम्त्याएकै छ यसले रैथाने परिकार, खाद्यसंस्कृति तथा स्थानीय अर्थतन्त्रलाई समेत धराशायी पार्दै लगेकोे छ । यसका अतिरिक्त, ‘फास्ट फुड’ उद्योगसँग सम्बन्धित फ्याक्ट्री सञ्चालन गर्न हुने वन विनाश र फोहोर उत्पादनबाट वातावरणमा पर्ने नकारात्मक असर पनि सतहमा आउन थालेका छन् ।
यी तमाम कार्य–कारणले विश्वका सचेत नागरिक ‘फास्ट फुड संस्कृति’ बाट वाक्क–दिक्क हुन पुगेका दृष्टान्त भेटिन थालेका छन् । यससँगै ‘फास्ट फुड संस्कृति’ को प्रतिरोध गर्दै यसको विकल्प खोज्ने कार्य पनि जमानामै सुरु भइसकेको थियो । यसैको नतिजास्वरूप ‘स्लो फुड मुभमेन्ट’ जन्मियो ।
यस आन्दोलनको झिल्को कसरी सुरु भयो भन्ने थाहा पाउन ‘फास्ट फुड संस्कृति’ मै ठोक्किनु पर्छ । मानवशास्त्री एलिसन लिचले ‘इथ्नोज’ जर्नल (सन् २००३) मा प्रकाशित आफ्नो शोधपत्रमा ‘स्लो फुड मुभमेन्ट’ को रचनागर्भबारे लेखेका छन् ।
एलिसन लिचले आफ्नो शोधपत्र लेखे अनुसार रोम शहरस्थित ऐतिहासिक स्थल ‘स्पेनिस स्टेप्स्’ नजिक म्याकडोनाल्ड्सको आफ्नो ‘आउटलेट’ खोल्यो । यसप्रति विरोध जनाउँदै इटालेली लेखक र खाद्य अभियन्ता कार्लो पेत्रिनीले ‘फास्ट फुड संस्कृति’ विरुद्ध जनचेतना जगाउँदै शान्तिपूर्ण आन्दोलनको श्रीगणेश गरे ।
पेत्रिनीले सन् १९८६ मा इटालीको ब्रा शहरमा ‘फास्ट फुड’ को विकल्पमा ‘सुस्त खाद्यवस्तु’ को अवधारणा अघि सारे । उनले ‘असल, स्वच्छ र न्यायोचित’ खाद्यवस्तुको पक्षमा वकालत गर्दै वैचारिक आन्दोलनको झिल्को पैदा गरे ।
समयको प्रवाहसँगै आन्दोलनले गति लिँदै गयो । यो आन्दोलन अहिंसात्मक र रचनात्मक वैचारिक आन्दोलन थियो । कार्लो पेत्रिनीले यस वैचारिक आन्दोलनको नाम जुराए, ‘स्लो फुड मुभमेन्ट’ । पछि यस आन्दोलन संस्थागत रूपमै अघि बढ्न थाल्यो ।
बहुआयामिक आन्दोलन
सरसर्ती हेर्दा यो आन्दोलन ‘फास्ट फुड’ को एकोहोरो विरोधमा जन्मिएको जस्तो मात्र देखिन्छ तर वास्तविकता त्यस्तो होइन । ‘स्लो फुड मुभमेन्ट’ एउटा बहुआयामिक आन्दोलन हो । यसले कृषिमा बढ्दो औद्योगिकीकरण र वैश्विक खाद्य आपूर्ति प्रणालीमा देखा परेको एकाधिकारले साना किसान मर्कामा परेकामा विरोध गर्छ । यति मात्र होइन यसले स्थानीय कृषि अर्थ व्यवस्थाको मजबुतीकरणमा पनि जोड दिन्छ ।
अमेरिकी प्राध्यापक मेरी सरिता गाइतानले ‘फुड, कल्चर एन्ड सोसाइटी’ जर्नल (सन् २००४) मा लेखेको शोधपत्र अनुसार ‘स्लो फुड मुभमेन्टले स्वादिष्ट, पौष्टिक तथा वातावरण अनुकूलित खाद्य संस्कृतिको पृष्ठपोषण गर्छ । यसले अझ गहिरिएर खाद्यपरिकारको कलात्मक आनन्द र सौन्दर्यका पक्षमा समेत आवाज उठाउँछ । यसले स्थानीय, जैविक र परम्परागत खाद्य–अभ्यासका पक्षमा वकालत गर्दछ ।
अचेल छिटो उत्पादन हुने अन्न, तरकारी, फलफूल तथा मासु प्रचलनमा छ, जुन वर्तमान युगको विशेषता नै भएको छ । यस्ता चिजबिज हेर्दा आधुनिक युगको चमत्कारपूर्ण उपहार जस्तो लागे पनि यिनको रचनागर्भ अप्राकृतिक छ । जसले न मानव स्वास्थ्यलाई हित गर्छ, न त वातावरणलाई नै । यस प्रकारको अप्राकृतिक ‘तीव्र कृषि संस्कृति’ को विपक्षमा उभिएको छ ‘स्लो फुड मुभमेन्ट’ ।
समग्रमा ‘स्लो फुड मुभमेन्ट’ ले गुणस्तरीय, दिगो र स्वास्थ्यवद्र्धक खानपान र खाद्यसंस्कृति संरक्षणमा जोड दिन्छ । यसले रासायनिक मलको प्रयोगविहीन तथा वातावरण अनुकूलित दिगो कृषि प्रणालीलाई मूल मन्त्र मान्छ । यसले जैविक विविधता, स्थानीय खाद्य अर्थ व्यवस्था, साना किसानको हित, पशुप्रति उचित व्यवहार तथा कामदारको न्यायोचित पारिश्रमिकका पक्षमा पनि आवाज बुलन्द पार्छ ।
विरासत
आज दुनियाँमा ‘फास्ट फुड संस्कृति’ को वर्चस्व देखिँदा ‘स्लो फुड मुभमेन्ट’ कता कता ओझेल परेझैँ प्रतीत हुन्छ तर सूक्ष्म किसिमले हेर्ने हो भने यसको विरासत कायमै देखिन्छ ।
स्वास्थ्यवद्र्धक, दिगो र जीवनदायिनी खाद्यप्रणालीका पक्षमा वकालत गर्ने अभिप्रायले जग बसालिएको ‘स्लो फुड मुभमेन्ट’ ले स्थानीय खाद्यपरम्परालाई प्रोत्साहन गर्ने, साना किसानलाई साथ र सहयोग दिने, वातावरणीय दृष्टिले जिम्मेवार खाद्यवस्तु उत्पादन विधिलाई प्रवर्धन गर्नेलगायतका रचनात्मक काम गर्दै आएको चर्चा माथि नै भइसकेको छ ।
यसबाहेक ‘स्लो फुड मुभमेन्ट’ ले अरू पनि रचनात्मक काम निरन्तर सम्पादन गर्दै आएको छ । यस क्रममा ‘दी आर्क अफ टेस्ट’ एउटा यस्तै रचनात्मक कार्य हो, जसले जैविक विविधताको मर्म र भावनालाई शिरोपर गरी अघि बढाइएको छ । ‘स्लो फुड फाउन्डेसन’ द्वारा स्थापित खाद्य–क्याटलग हो, दी आर्क अफ टेस्ट ।
‘स्लो फुड फाउन्डेसन’ को वेबसाइटमा प्रकाशित जानकारीका अनुसार सन् १९९६ मा सुरु गरिएको यस परियोजनाले विश्वव्यापीकरण, औद्योगिक कृषि र खाद्य उपभोग ढाँचामा आएका परिवर्तनबाट लोप हुने जोखिममा रहेका खाद्य पदार्थको संरक्षणमा पहल गर्छ । यसको उद्देश्य विश्वमा लोपोन्मुख अवस्थामा रहेका परम्परागत खाद्यपदार्थको पहिचान, संरक्षण र प्रवर्धन गर्नु हो ।
‘स्लो फुड मुभमेन्ट’ का संस्थापक कार्लो पेत्रिनीद्वारा लिखित पुस्तक ‘स्लो फुड ः द केस फर टेस्ट’ (सन् २००३) मा ‘दी आर्क अफ टेस्ट’ क्याटलगमा समाविष्ट खाद्यवस्तुको नालीबेली दिइएको छ । ‘दी आर्क अफ टेस्ट’ क्याटलगमा फलफूल, तरकारी तथा मासुदेखि रोटी र चिजसम्मका हजारौँ अद्वितीय उत्पादन समाविष्ट छन् । जसमा विश्वका विभिन्न कुना–कन्दराका स्थानीय समुदायका सांस्कृतिक तथा ऐतिहासिक जीवनका पाटा झल्कन्छन् ।
विश्वका विभिन्न भागमा ‘स्लो फुड मुभमेन्ट’ का स्थानीय संस्करण अस्तित्वमा आएका छन् । ‘फास्ट फुड’ को जननी मानिने अमेरिकामा पनि ‘स्लो फुड मुभमेन्ट’ लाई केन्द्रमा राखेर विभिन्न रचनात्मक कार्यक्रम सञ्चालन भइरहेको देखिन्छ । त्यहाँ ‘स्लो फुड फेस्टिबल’ पनि सञ्चालन हुने गरेका छन् ।
कतिपय ठाउँका विद्यालयमा खाद्य शिक्षा अन्तर्गत परम्परागत खाद्यप्रणालीको महत्वबारे शिक्षा दिइन्छ । यस अन्तर्गत विद्यालय बगैँचा र परम्परागत पाकशास्त्र लगायतका कार्यक्रम समाविष्ट छन् । यस्ता कार्यक्रमले युवा पुस्तालाई ‘फास्ट फुड संस्कृति’ ले नकारात्मक प्रभाव पारिरहेको बेलामा परम्परागत खाद्यप्रणालीको समग्र चक्र बुझ्न सघाएको छ । अहिले ‘स्लो फुड मुभमेन्ट’ विश्वका १६० भन्दा बढी देशमा शाखा स्थापना भई रचनात्मक कार्यक्रम सञ्चालन भइरहेका छन् । आलोचना
‘स्लो फुड मुभमेन्ट’ ले परम्परागत खाद्य प्रथाको श्रीवृद्धिका लागि प्रशंसा कमाए पनि यसलाई विभिन्न कोणबाट आलोचना पनि गरिएको छ ।
स्वाभाविक छ, ‘स्लो फुड मुभमेन्ट’ ले जैविक विधिबाट उत्पादन गरिएका अग्र्यानिक खाद्यवस्तुको वकालत गर्छ । यस प्रकारका खाद्यवस्तु विश्वको कृषि प्रणाली नै बदलिएको अहिलेको समयमा महँगो पर्छन् । जुन न्यून आयस्रोत भएका जनसङ्ख्याको पहुँचभन्दा बाहिर हुन्छ भन्ने तर्क आलोचकले अघि सारेका छन् ।
यसबाहेक ‘स्लो फुड मुभमेन्ट’ ले परम्परागत र स्थानीय खाद्यवस्तुमा आन्दोलनको ध्यान केन्द्रित गर्दा ग्रामीण जीवन र परम्परागत कृषि प्रणालीको अनावश्यक रोमान्टीकरण हुने जोखिम हुन्छ । जसले विश्वको ठूलो जनसङ्ख्यालाई खाद्यवस्तु जुटाउने कृषिको आधुनिकीकरणलाई बेवास्ता गरिरहेका तर्क आलोचकको छ ।
दुनियाँ परिवर्तनशील छ । समयको प्रवाहसँगै खाद्यसंस्कृतिमा क्रमिक परिवर्तन हुने तथ्य पनि स्वाभाविक छ तर ‘स्लो फुड मुभमेन्ट’ का अभियन्ताले परिवर्तनशीलताको प्राकृतिक नियमलाई स्वीकार गर्न नसकेको आरोप आलोचकले लगाएका छन् । फ्रान्सेली समाजशास्त्री तथा मानवशास्त्री क्लाउड फिसरले ‘सोसल साइन्स इन्फर्मेसन’ जर्नल (सन् २०११) मा प्रकाशित शोधपत्रमा यस्तै तर्क अघि सारेका छन् ।
फिसरले ‘स्लो फुड मुभमेन्ट’ का अवधारणाकारले खाद्य संस्कृतिसम्बन्धी स्थिर अवधारणालाई आदर्श मानिरहँदा बसाइँसराइ र सांस्कृतिक आदानप्रदानबाट समय क्रममा खाद्य–अभ्यासमा स्वाभाविक रूपमा परिवर्तन आउने तथ्यलाई बेवास्ता गरिएको विचार पेस गरेका छन् ।
निष्कर्ष
‘फास्ट फुड संस्कृति’ ले जनस्वास्थ्यमा नकारात्मक असर पारेको तथ्य घाम जत्तिकै छर्लङ्ङ छ । यसै गरी कृषि क्षेत्रमा भएको यान्त्रिकीकरण एवं औद्योगीकरणले हाम्रो गुणकारी रैथाने कृषि प्रणाली र खाद्यसंस्कृतिमाथि गहिरो धक्का पुगेको छ । यसबाट स्थानीय खाद्य अर्थतन्त्र र साना किसान बहुधा मर्कामा परेको तथ्य लुकेको छैन ।
यी तमाम वास्तविकताप्रति सजग रहँदै ‘स्लो फुड मुभमेन्ट’ को मर्म र भावनालाई आत्मसात् गर्न आवश्यक छ । यो आन्दोलन विकासको गतिलाई पछि पार्ने प्रतिगामी कदम होइन बरु विकासको गति र हाम्रो कृषि प्रणाली र खाद्यसंस्कृतिलाई सन्तुलित रूपमा अघि बढाउने अभियान हो ।
वर्तमान समयमा जलवायु परिवर्तन र वातावरणीय क्षय जल्दोबल्दो विषय बनेको छ । यसले निम्त्याएको विकराल परिस्थितिसँग लड्न ‘स्लो फुड मुभमेन्ट’ को मर्म र भावना सहायक देखिएको छ । जसलाई हाम्रा राष्ट्रिय नीति तथा कार्यक्रममा पनि समेट्न आवश्यक छ ।
अहिले समाज तीव्र गतिमा विकासपथमा लम्किरहेको देखेर जर्मन समाजशास्त्री हाटमुट रोजाले ‘हाई स्पिड सोसाइटी’ शब्दावली प्रयोगमा ल्याए । एक्काइसौँ शताब्दीको मानव समाज जति नै तीव्र गतिमा अघि बढे पनि खाद्य संस्कृतिमा आएका विकृतिसँग लड्न ‘स्लो फुड मुभमेन्ट’ को अवधारणालाई नकार्न सकिने अवस्था छैन । यसलाई हामीले मार्गदर्शक सिद्धान्तका रूपमा अङ्गीकार गर्न आवश्यक देखिन्छ ।
कार्लो पेत्रिनी : “स्लो फुड मुभमेन्ट” का संस्थापक
कार्लो पेत्रिनी ‘स्लो फुड मुभमेन्ट’ का संस्थापक हुन् । उनी इटालियन लेखक तथा खाद्य अभियन्ता हुन् । उनी सन् १९४९ जुन २२ मा इटालीको ब्रा शहरमा जन्मिए । पेत्रिनी सन् १९६० को दशकमा वातावरणीय र सामाजिक न्यायको पक्षमा कार्यकर्ताका रूपमा सक्रिय थिए । यसपछि विस्तारै रैथाने कृषिप्रणाली, खाद्यप्रणाली र पाककलातिर आकर्षित हुँदै गए ।
यस्तैमा पेत्रिनीकै देशको राजधानी रोमस्थित ऐतिहासिक स्थल ‘स्पेनिस स्टेप्स्’ नजिक म्याकडोनाल्ड्सको ‘आउटलेट’ खुल्यो । जुन उनको भावनाविपरीतको कार्य थियो । यस घटनाक्रमले उसलाई प्रतिक्रियाविहीन अवस्थामा रहन दिएन । उनले ‘फास्ट फुड चेन’ मध्ये एक मानिने म्याकडोनाल्ड्सको उपस्थितिको खुलेर विरोध गरे ।
ऐतिहासिक धरोहर ‘स्पेनिस स्टेप्स्’ मा व्यापारिक कम्पनी म्याकडोनाल्ड्सको उपस्थितिबाट चोटग्रस्त कार्लो पेत्रिनीले ‘फास्ट फुड संस्कृति’ विरुद्ध जनचेतनात्मक अभियान सुरु गरे । उनले यस अभियानको नाम ‘स्लो फुड मुभमेन्ट’ राखे ।
कार्लो पेत्रिनी सिद्धहस्त लेखक पनि भएकाले उनले खाद्यसंस्कृति, जैविक विविधता, दिगो कृषि प्रणाली आदि विषयमा व्यापक रूपमा बोल्दै तथा कलम चलाउँदै आएका छन् । उनको पुस्तक ‘स्लो फुड : दी केस फर टेस्ट’ (सन् २००३) पठनीय कृति मानिन्छ ।
पेत्रिनीको सत् कर्मले उनलाई अन्तर्राष्ट्रिय व्यक्तित्व बनाएको छ । सन् २०१६ मा उनी संयुक्त राष्ट्रसङ्घ खाद्य तथा कृषि सङ्गठन (एफएओ) को ‘शून्य भोकमरी’ (Zero Hunger) का लागि विशेष राजदूत नियुक्त भएका थिए । सन् २००४ मा विश्व चर्चित टाइम म्यागजिनले उनलाई वर्ष पुरुषमा सूचीकृत गरेको थियो ।
(युवामञ्चबाट)