२०८१ माघ १२ शनिवार | Saturday, Jan 25 2025

अन्धविश्वासमा सिङ्गो बस्ती, दुई महिनामा पाँच जनाको मृत्यु

Untitled
Untitled
Untitled

बडकुर्वा (सर्लाही), सर्लाहीको चन्द्रनगर गाउँपालिका–३, बडकुर्वास्थित मुसहर बस्तीमा दुई महिनामा पाँच जना मुसहरको मृत्यु भएपछि स्थानीय त्रसित भएका छन्।

मुसहर बस्तीका चार पुरुष र एक महिलाको ज्यान गइसकेको छ। ५५ वर्षीया केउला माझी, २२ वर्षीय तिलाई माझी, ५० वर्षीय नन्दु माझी, ५५ वर्षीय सोमिन्दर माझी र ४८ वर्षीय चेतनारायण माझीको अज्ञात रोगबाट मृत्यु भएको स्थानीयले बताएका छन्।

सोमिन्दर माझीको फागुन २९ गते, नन्दु माझीको फागुन २८ गते, चेतनारायण माझीको माघ २८ गते, तिलाई माझीको माघ १५ गते र केउला माझीको पुस २८ गते मृत्यु भएको हो।

एउटै गाउँमा पालैपालो पाँच जनाको मृत्यु भएपछि बडकुर्वास्थित मुसहर बस्ती अहिले शोकमग्न छ भने स्थानीय त्रासमा छन्।

मृतक पाँचै जनामा एउटै खालको लक्षण देखिएको स्थानीयको भनाइ छ। सबैले एक्कासि रगत बान्ता गरेर मृत्यु भएको स्थानीय पतिदेवी माझीले बताउनुभयो। पतिदेवीले भनिन, “गाउँमा यसरी एक्कासि पाँच जनाको मृत्यु हुँदा सबैमा त्रास छन्, कोही पनि चैनसँग बस्न सकेका छैन।

बिरामीलाई अस्पतालसमेत पु(याउन नपाइ आधा घण्टाभित्र मृत्यु भएको छ।” कुलदेवता रिसाउँदा गाउँमा यस्तो घटना भइरहेको भन्ने अन्धविश्वासमा छन् ।

तराईको अति पिछडिएको दलित समुदायअन्तर्गत पर्ने मुसहर समुदायले भुइँया महाराजको बर्सेनि पूजा गर्ने गर्छन् । स्थानीयले धाँमीझाँक्रीको भर गरी फुकफाकसमेत गर्दै आइरहेका छन् ।

स्थानीय रीतादेवी माझीले नियमित काम धन्दा गरिरहेकाको एक्कासि मृत्यु भइरहेको बताइन्। माझीले भनिन, “हिँड्डुल र कामधन्दा गरिरहेका व्यक्तिको मृत्यु भइरहेको छ, अधिकांशको राति १२ बजेपछि मृत्यु भएको छ।”

मृतक चेतनारायण माझीकी श्रीमती नैनदेवी माझीले जाँड–रक्सी सेवन नगर्ने आफ्नो श्रीमान्को हिँड्डुल गर्दागर्दै मृत्यु भएको बताइन् ।

उनले भनिन, “बेलुका खाना खाएर सुत्नुभएको थियो, राति अचानक रगत छादेर मलाई गाह्रो भयो भन्न थाल्नुभयो। अटो बोलाएर अस्पताल लान खोज्दा आधा घण्टाभित्र प्राण त्याग्नुभयो।”

स्थानीय भने कुल देवता रिसाउँदा गाउँमा यस्तो घटना भइरहेको भन्ने अन्धविश्वासमा छन्। तराईको अति पिछडिएको दलित समुदायअन्तर्गत पर्ने मुसहर समुदायले भुइँया महाराजको बर्सेनि पूजा गर्ने गर्छन्।

स्थानीयले धाँमीझाँक्रीको भर गरी फूकफाकसमेत गर्दै आइरहेका छन्। स्थानीय भुनेश्वर माझीले धाँमी कहाँ जाँदा भुइँया महाराजको पूजा गर्न सुझाएपछि गाउँभर चन्दा उठाएर डेढ लाख रुपियाँ खर्चिएर फागुन १९ गते सामूहिक भुइँया पूजा गरिएको बताए ।

गाउँमा देवता रिसाएको र भूतप्रेत घुमिरहेको भनी सबै जना डराइरहेको माझीले बताए । माझीले भने , “यहाँ कसैले भुइँया महाराज बिग्रिएको, कसैले बरम महाराज बिग्रिएको र कसैले महारानीजी बिग्रिएको छ भनिरहेका छन्, वास्तवमै के भएको हो ? हामी त अन्योलमै छौँ।” चन्दा उठाएर भुइँया पूजा गरेपछि पनि दुई जनाको मृत्यु भइसक्यो, अझै के–के हुने हो भनी डर लागिरहेको छ।”

बडकुर्वास्थित आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख ब्रम्हदेव साहले मुसहरको मृत्युको कारण पत्ता लगाउन लागि परेको बताए ।

साहले भने , “वास्तविक कारण पत्ता लगाउन हामीले मङ्गलबार बस्तीका ११ जनाको खकार लिएर परीक्षणका लागि गाउँपालिकामा पठाएका छौँ।

रिपोर्ट आएपछि कारण पत्ता लाग्न सक्छ।” आफूहरू गाउँमा जाँदा पनि मुसहर समुदायले देवता बिग्रिएको र पूजापाठ गरिरहेको भनेर बताइरहेको साहले उल्लेख गरे ।

उनका अनुसार बुधबार पनि बस्तीमा स्वास्थ्यकर्मी पठाएर स्थानीयको खकारको नमुना सङ्कलन गरिएको छ।

चन्द्रनगर गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख अमृत चौधरीले मृतकहरूको अवस्थाबारे प्रारम्भिक बुझ्दा तीन जनाले अत्यधिक रक्सी सेवन गर्ने गरेको र एक जनाले उच्च रक्तचापको औषधि सेवन गरी बीचमा औषधि खान छाडेको पाइएको बताए ।

चौधरीले बस्तीमै पुगेर बुझ्दा केउला माझीले उच्च रक्तचापको औषधि खाएर बीचमा छाडेको, चेतनारायण माझी क्षयरोग (टीबी)बाट मुक्त भई स्वस्थ भइसकेको र तिलाई माझी, नन्दु माझी र सोमिन्दर माझीले अत्यधिक रक्सी सेवन गर्ने गरेको पाइएको बताए ।

उनले प्रारम्भिक रूपमा निकालिएको ‘रिपोर्ट’ लाई थप अनुसन्धानका लागि स्वास्थ्य कार्यालय मलङ्गवा, प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरधाम, स्वास्थ्य सेवा विभाग र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय काठमाडौँमा पठाइएको बताए ।

 

Untitled
Untitled
Untitled