बुटवल । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एनपी साउदले संविधान संशोधन सबै दलको सहमतिमा हुने बताउनुभएको छ । पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका नेता साउदले संविधान संशोधन गर्ने बेला आएकाले संसद्मा रहेका सबै दलबिचमा सहमति हुनुपर्ने बताउनुभएको छ ।
उहाँले हरेक १० वर्षमा संविधान संशोधन गर्नु आवश्यक हुन्छ भन्दै संविधान संशोधन र परिमार्जन संसद्मा रहेका सबै दलको सहमतिमा गर्नुपर्ने सुझाव दिनुभयो ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशको आयोजनामा आइतबार बुटवलमा भएको साक्षात्कार कार्यक्रममा बोल्दै नेता साउदले समय परिवर्तनशील रहेको र समय अनुसार संविधानमा पनि युग र परिस्थिति अनुरूप संशोधन आवश्यक हुने बताउनुभयो ।
उहाँले संविधानमा संशोधनको कुरा मुलुकको परिस्थिति र आवश्यकताका आधारमा गरिने भएकाले यसमा कुनै पनि पार्टीले द्विविधा मान्न नहुने बताउनुभयो ।
उहाँले नेपाली कांग्रेस र नेकपा (एमाले) जस्ता देशका ठुला दल मिलेर सरकारलाई स्थिरता दिने प्रयास भइरहेको भन्दै छिटो छिटो सरकार परिवर्तनले देशको समस्या सम्बोधन हुन नसक्ने टिप्पणी गर्नुभयो । अर्को प्रसङ्गमा नेता साउदले कांग्रेस र एमालेसहितको दुई तिहाइ बहुमतको गठबन्धन सरकारले आलोपालो सरकार चलाउने निर्णय गरेर देशलाई स्थिरता दिने प्रयास गरेको बताउनुभयो ।
नेता साउदले संसदमा सरकारसँग पूर्ण बहुमत रहेकाले अध्यादेशमार्फत भन्दा पनि संसद्मार्फत कानुन बनाउनु सकारात्मक हुने बताउनुभयो । उहाँले केपी शर्मा ओली नेतृत्वको सरकारलाई नेपाली कांग्रेसको पूर्ण साथ र समर्थन रहेको उल्लेख गर्दै दुई दलबिचको न्यूनतम साझा सहमति कार्यान्वयनमा ढिलाइ भएको भन्ने गुनासो आएकाले त्यस विषयमा कांग्रेस र एमालेका साथै सरकारको पनि ध्यानाकर्षण हुनुपर्ने उल्लेख गर्नुभयो ।
सो अवसरमा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका संसदीय दलका प्रमुख सचेतकमा नियुक्त प्रदेश सभासद जमुना ढकाललाई सम्मानसमेत गरिएको थियो ।