काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले नेपालमा श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्नुपर्ने बताएका छन् ।
सामुदायिक रेडियो प्रसारक सङ्घको कार्यसमितिसँग शनिबार राष्ट्रपति भवनमा भेट गदै राष्ट्रपति पौडेलले सो कुरा बताएका हुन् ।
राष्ट्रपतिले श्रमले तन र मन दुवै स्वस्थ बनाउने भएकाले यो अपरिहार्य भए पनि अहिले अलिकति पढेपछि काम गर्न हुँदैन भन्ने खालको मनोविज्ञान र धारणा निर्माण भइरहेको बताए ।
उनले यो धारणा बदल्न र काम प्रति गर्व गर्न हरेक नागरिक र समुदायमा सूचना र शिक्षा प्रदान गर्न पर्ने सामुदायिक रेडियोको दायित्व भएकोमा जोड दिए ।
राष्ट्रपति पौडेलले भने , ‘‘स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नका लागि यहाँहरूको ठूलो भूमिका रहेका छ । त्यही भएकाले स्थानीय तहमा उत्पादनशीलतालाई यहाँहरूले प्रोत्साहन गर्नुभयो भने मुलुकको अर्थतन्त्रमा पनि सहयोग पुग्छ ।’’
राष्ट्रपति पौडेलले सामुदायिक रेडियोका कारण गाउँ–गाउँसम्म आमनागरिकमा सूचनाको पहुँच पुगेको भन्दै सामुदायिक रेडियोहरूलाई धन्यवाद दिए ।
त्यस्तै, स्थानीय उत्पादन र स्थानीय तहमा उत्पादनशीलताको विकास गर्न सामुदायिक रेडियोहरूको भूमिका विशेष रहेको राष्ट्रपति पौडेलका धारणा थियो ।
भेटमा सङ्घका सङ्घका अध्यक्ष अर्जुन गिरीले राष्ट्रपति पौडेललाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए । उक्त अवसरमा अध्यक्ष गिरीले राष्ट्रपति पौडेललाई रेडियो सेट उपहार दिए ।