२०८३ असार ६ शनिवार | Saturday, Jun 20 2026

कोशी–बागमती–गण्डकीका उच्च भू–भागमा मेघगर्जनसहित वर्षा सम्भावना

Untitled
Untitled
Untitled

काठमाण्डौ । हाल कोशी प्रदेशका केही भू–भागमा मनसुनी प्रणाली सक्रिय बन्दै गएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

विभागका अनुसार अन्य प्रदेशमा भने स्थानीय वायु र पूर्वीय वायुको आंशिक प्रभाव कायमै रहेको छ, जसका कारण देशभर मौसममा मिश्रित अवस्था देखिएको छ।

महाशाखाका अनुसार कोशीसहित अधिकांश हिमाली र पहाडी भू–भागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका धेरै क्षेत्रमा मौसम मुख्यतया सफा छ।

यद्यपि कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा भइरहेको विभागले जनाएको छ।

दिउँसोको पूर्वानुमान

दिउँसो देशभर हिमाली तथा पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ।

कोशी प्रदेशको तराई क्षेत्रमा पनि बादलको प्रभाव देखिनेछ भने मधेस प्रदेशमा आंशिक बदली रहने अनुमान गरिएको छ।

अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ।

महाशाखाका अनुसार कोशीका हिमाली–पहाडी क्षेत्रका केही स्थानमा, बागमती र गण्डकीका पहाडी भू–भागका थोरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा एक/दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै कोशी प्रदेशको तराईका केही स्थानमा र मधेस प्रदेशका एक/दुई स्थानमा पनि मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ।

लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा तातो लहर (हट वेभ) र बागमती तथा गण्डकीका तराई क्षेत्रमा पनि तातो दिन (हट डे) को अवस्था कायम रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

रातिको पूर्वानुमान

आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागमा सामान्य बदली रहनेछ।

कोशी प्रदेशको तराई क्षेत्रमा पनि बदलीको प्रभाव जारी रहनेछ।

अन्य प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

महाशाखाका अनुसार कोशी, बागमती र गण्डकीका हिमाली–पहाडी क्षेत्र तथा लुम्बिनी र कर्णालीका हिमाली भू–भागका केही स्थानमा मेघगर्जनसहित मध्यम वर्षा वा हिमपात हुन सक्ने सम्भावना छ।

मधेस प्रदेशका केही स्थान र कोशी प्रदेशको तराईका केही क्षेत्रमा पनि मेघगर्जनसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ।

त्यसैगरी कोशी र गण्डकीका पहाडी भू–भाग तथा कोशी प्रदेशको तराईका एक/दुई स्थानमा भारी वर्षा समेत हुन सक्ने सम्भावनाबारे पनि महाशाखाले सतर्क गराएको छ।

Untitled
Untitled
Untitled