२०८१ फागुन ३ शनिवार | Saturday, Feb 15 2025

कार्यसम्पादनमा निष्पक्षताका साथ विधिको पालना गर्ने छु : राष्ट्रपति पौडेल

Untitled
Untitled
Untitled

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने बताएका छन् ।

राष्ट्रपति पौडेलले सङ्घीय संसद् र सातै प्रदेशसभा सदस्यको सम्मानमा आज (शनिवार) राष्ट्रपति भवनमा आयोजना गरिएको चियापान समारोहमा सम्बोधन गर्नुहुँदै यस्तो बताएका हुन् ।

राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधान प्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहने समेत उनले सम्बोधनका क्रममा बताए ।

उनले संविधान निर्माण गर्ने प्रक्रियामा समेत सहभागी रहेर काम गर्ने अवसर प्राप्त गरेको कारणले पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति म सचेत रहने बताउँदै सबैले संविधानको रक्षामा सचेत बन्नुपर्ने जोड दिए ।

सम्बोधनको पूर्णपाठ

सम्माननीय प्रधानमन्त्री ज्यू

सम्माननीय प्रतिनिधिसभाका सभामुख ज्यू

सम्माननीय राष्ट्रिय सभाका अध्यक्ष ज्यू

माननीय उपप्रधानमन्त्री ज्यू

माननीय मन्त्री ज्यूहरू

प्रदेशका माननीय मुख्यमन्त्री ज्यूहरू

प्रतिनिधिसभाका माननीय उपसभामुख ज्यू

राष्ट्रिय सभाका माननीय उपाध्यक्ष ज्यू

माननीय राज्यमन्त्री ज्यू

प्रदेश सभाका माननीय सभामुख ज्यूहरू

सङ्घीय सांसदका माननीय सदस्य ज्यूहरू

प्रदेश सरकारका माननीय मन्त्री ज्यूहरू

प्रदेश सभाका माननीय उपसभामुख ज्यूहरू

प्रदेश सरकारका माननीय राज्यमन्त्री ज्यूहरू

प्रदेश सभाका माननीय सदस्य ज्यूहरू

सर्वप्रथम मेरो र राष्ट्रपति कार्यालयको निमन्त्रणालाई स्वीकार गरी उपस्थित हुनुभएकोमा यहाँहरूलाई हार्दिक स्वागत गर्दछु । नेपालको संविधानको धारा ६२ बमोजिम मलाई गणतान्त्रिक नेपालको तेस्रो राष्ट्रपतिको रूपमा निर्वाचित गराउनुहुने सम्पूर्ण सङ्घीय सांसदका सदस्यहरू र प्रदेशसभाका सदस्यहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।

सबैलाई थाहै भएको कुरा हो कि आवधिक निर्वाचन लोकतन्त्रको प्राण वायु हो । नेपालमा स्थानीय तह, प्रतिनिधिसभा, प्रदेशसभादेखि राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनसमेत सफलतापूर्वक सम्पन्न भएकोमा यहाँहरू सवैमा बधाई तथा धन्यवाद ज्ञापन गर्न चाहन्छु । यस महत्त्वपूर्ण घडीमा मुलुकलाई यहाँसम्म ल्याउन अहम् भूमिका खेल्ने सहिद तथा अग्रजहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । संविधानको पालना र संरक्षण गर्ने विषय मेरो अबको प्रमुख दायित्व र कर्तव्य हुनेछ भन्ने प्रस्ट पार्न चाहन्छु । गणतान्त्रिक नेपालको राष्ट्रपतिबाट नेपाली जनताले अपेक्षा गरेको व्यवहार र कार्यशैलीप्रति म सदैव सचेत छु र भविष्यमा पनि रहनेछु ।

राष्ट्रपति संस्थाले निर्वाह गर्ने भूमिकाले संविधान र शासन व्यवस्थाको अभ्यास प्रभावित हुनेमा सजग रही निर्दिष्ट कार्यसम्पादन गर्दा निष्पक्षता, तटस्थता तथा विधिको पालनामा प्रतिबद्ध रहने प्रण गर्दछु । नेपालको राष्ट्रिय एकताको प्रवर्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै मेरा मार्ग निर्देशक सिद्धान्त रहनेछन् ।

राष्ट्रपतिका काम, कर्तव्य तथा जिम्मेवारी वहन गर्दा संविधान प्रदत्त मर्यादा तथा संविधानका अक्षर र भावनालाई आत्मसाथ गरी दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्ने राष्ट्रिय अभियानमा सरिक हुन सदैव तत्पर रहनेछु ।

संविधान निर्माण गर्ने प्रक्रियामा समेत सहभागी रहेर काम गर्ने अवसर प्राप्त गरेको कारणले पनि संविधानले राष्ट्रपतिलाई दिएको काम, कर्तव्य र अधिकारप्रति म सचेत रहने विश्वास दिलाउन चाहन्छु । वर्तमान संविधानले नेपाल राष्ट्रलाई मार्गदर्शन गर्ने कुरा प्रति सदैव सजग रहने प्रण गर्दछु ।

यो संविधानले नेपालका तमाम जनतालाई असीम अधिकार प्रदान गरेको छ । यसलाई जगेर्ना गर्दै राष्ट्रलाई स्थायित्व दिनु हामी सबैको परम कर्तव्य हो किनभने पटक पटकका नयाँ नयाँ प्रयोग नेपालले थाम्न पनि सहज नहोला ।

निर्वाचित जनप्रतिनिधिले संविधान र कानुनको मर्म र भावनालाई अङ्गीकार नगरी शासन सञ्चालन गर्दा व्यक्ति मात्र नभएर संस्थाप्रति समेत नागरिकका आस्था र विश्वास गुम्दै जाने कुरामा तपाईँ हामी सबै सचेत हुनुपर्छ । लोकतान्त्रिक शासन व्यवस्थामा लोकतान्त्रिक संस्थाहरू बलिया र कानुनसम्मत भएनन् भने त्यस्ता संस्थाप्रति नागरिकका विश्वास धर्मराउने र व्यवस्थाप्रति वितृष्णा जाग्न सक्ने हुनाले यसतर्फ हामी सजग रहन जरुरी छ भन्नेमा म दृढ छु ।

मुलुकमा अहिले पनि थुप्रै चुनौतीहरू छन् । कोभिड महामारीपछि विश्वव्यापी रूपमा देखिएको आर्थिक सुस्तताको असर नेपालमा समेत देखिन थालेको छ । सङ्क्रमणकालीन न्यायको व्यवस्थापन, आर्थिक क्षेत्रमा देखिन थालेका असर एवम् जलवायु परिवर्तनले देखा पर्न थालेका असरहररुको न्यूनीकरण तथा राजनैतिक उपलब्धिहरूको रक्षा जस्ता विषयमा राष्ट्रिय सहमति र राष्ट्रिय एकताको आवश्यकता मैले देखेको छु ।

प्राप्त राजनैतिक उपलब्धिलाई सदुपयोग गर्दै तीव्र आर्थिक, सामाजिक रूपान्तरणमा ध्यान दिन नसकेमा अन्ततः प्राप्त उपलब्धि माथि नै प्रहार हुन सक्नेतर्फ हामी सबै गम्भीर हुन आवश्यक छ ।

अबको हाम्रो बाटो दिगो शान्ति, विकास, सुशासन र समृद्धि रहेको र यसतर्फ सङ्घीय सरकार तथा सङ्घीय सांसदका माननीयज्यूहरू र प्रदेश सरकार तथा प्रदेशसभाका माननीयज्यूहरूको सकारात्मक भूमिकाको अपेक्षा गरेको छु । सङ्घ, प्रदेश र स्थानीय तहका साथै निजी क्षेत्रको समेत सहकार्यमा उच्चतम प्रतिफल प्राप्त गरी प्राप्त प्रतिफलको समुचित वितरणबाट जनताको इच्छा र आकाङ्क्षा सम्बोधन गर्नुपर्नेतर्फ सबैको ध्यान जाने विश्वास समेत लिएको छु ।

मेलमिलाप र राष्ट्रिय एकताकै माध्यमबाट हामीले कठिन समयमा पनि समस्याको सहज समाधान निकाल्न सकेको इतिहास मनन गर्दै हामी सबै एकताबद्ध हुन जरुरी छ । अन्त्यमा, मलाई राष्ट्रपतिको रूपमा निर्वाचित गर्नु भएकोमा ह्रृदय देखि पुनः धन्यवाद दिन चाहन्छु । साथै चियापानमा सरिक भई दिनुहुन अनुरोध छ ।

Untitled
Untitled
Untitled