काठमाण्डू, नेपाल राष्ट्र बैङ्कको गभर्नरमा प्राडा विश्व पौडेल नियुक्त भएका छन् ।
मङ्गलबार साँझ बसेको मन्त्रीपरिषद् बैठकले प्रा.डा. पौडेललाई राष्ट्र बैङ्कको १८ औँ गभर्नरमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।
राष्ट्र बैङ्कका तात्कालीन गभर्नर महाप्रसाद अधिकारी बिदा भएको ४४ औँ दिनमा केन्द्रीय बैङ्कले नयाँ गभर्नर पाएको हो ।
उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको सिफारिस समितिले मङ्गलबार नै तीन जनाको नाम गभर्नरमा सिफारिस गरेको थियो ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेल संयोजक रहेको समितिमा पूर्वगभर्नर महाप्रसाद अधिकारी र डा. पोषराज पाण्डे सदस्य थिए ।
सो समितिले प्रा.डा. पौडेलसहित कामु गभर्नर डा.नीलम ढुङ्गाना र पूर्वसचिव दिनेश भट्टराईको नाम सिफारिस गरेको थियो ।
सिफारिस भएका तीन जनामध्ये पहिलो नम्बरमा रहेका प्रा.डा. पौडेललाई मन्त्रीपरिषद्ले गभर्नर नियुक्त गरेको हो ।
प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच गभर्नर नियुक्त गर्ने विषयमा मङ्गलबार बिहान छलफल भएको थियो ।
अर्थमन्त्री पौडेल अध्यक्ष रहेको तीन सदस्यीय सिफारिस समितिमा सुरुमा पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् प्रा.डा. विश्व पौडेललाई राखिएको थियो ।
तर, विजयनाथ भट्टराईले समितिबाट राजीनामा दिएका थिए । त्यसपछि सरकारले निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई सिफारिस समितिमा ल्याएको थियो ।
यसै गरी प्रा.डा. विश्व पौडेलले पनि सिफारिस समितिको सदस्यबाट राजीनामा दिएपछि डा. पोषराज पाण्डेलाई नियुक्त गरिएको थियो ।
योजना आयोगदेखि गभर्नरसम्म नवनियुक्त गभर्नर प्रा.डा. पौडेल सामुन्ने तरलता व्यवस्थापन, लगानी प्रवर्धन, वित्तीय सुशासन, प्रभावकारी नियमनलगायत ताजा चुनौती रहेका छन् ।
साथै उचित मौद्रिक उपकरण र रणनीतिहरू तर्जुमा गर्नुपर्ने चुनौती पनि उत्तिकै छन् ।
प्रा.डा. पौडेल २०७८ साल साउन १२ गते राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका थिए ।
नेपालको आर्थिक इतिहासबारे जानकार पौडेलले गहन अध्ययन गरेर अर्थतन्त्रका विविध विषयमा लेख प्रकशित गर्दै आएका छन् ।
प्रा.डा. पौडेलले अमेरिकाको प्रतिष्ठित युनिभर्सिटी अफ क्यालिफोर्निया, बर्कलेबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन् ।
त्यसअघि उनले अमेरिकामै अर्थशास्त्रमा स्नातकोत्तर तहको अध्ययन गरे । चीनको साङ्घाईस्थित एक विश्वविद्यालयबाट इन्जिनियरिङमा स्नातक तहको अध्ययनसमेत गरेका गभर्नर पौडेल चीन र अमेरिकाको अर्थतन्त्र, समाज र इतिहासका अध्येता पनि हुन् ।
विश्व बैङ्कको कन्सल्ट्यान्ट, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको नेपालस्थित कार्यालय र मिलेनियम च्यालेन्ज कर्पोरेसनको नेपालस्थित कार्यालयमा पनि अर्थशास्त्रीका रूपमा उनले काम गरिसकेको अनुभव छ ।
सुपरिवेक्षकीय क्षमता बढाउने प्रतिवद्धता
नियुक्तिपछि सञ्चार माध्यमलाई प्रतिव्रिmया दिँदै डा। पौडेलले राष्ट्र बैङ्कको सुुपरिवेक्षकीय क्षमता बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले सरकारसँग समन्वय गरी सरकारले लिने आन्तरिक ऋणको अर्थतन्त्रमा पर्ने असर घटाउने उपाय खोजी गर्र्ने र नेपाललाई ग्रे लिस्टबाट हटाउन समन्वयात्मक कदम चाल्ने बताए ।
त्यस्तै बैङ्क तथा वित्तीय संस्थाहरूमा देखिएका समस्या अध्ययन गरी आवश्यक मार्गदर्शन दिने पनि बताएका छन् ।
उनले पुँजी बजारका लगानीकर्ताहरूको मनोबल बढाउन आवश्यक कदम चाल्ने बताउँदै उद्योग क्षेत्रलाई वृद्धि गरी अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने गरी नीतिगत योजना बनाउने, लघुवित्त कम्पनीका नीतिहरूमा सुधार गर्दै समयानुकूल परिमार्जन गर्ने, भुक्तानी प्रव्रिmयालाई आधुनिकीकरण गर्ने, विदेशी पुँजी ल्याउन र लान सहज बनाउनेलगायतका प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।


































