२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

अल्पकालीन लगानीकर्ता हाबी हुँदा बजारमा नाफा बुक, नेप्सेमा दोहोरो अंकको करेक्सन

Untitled
Untitled
Untitled

काठमाण्डौ, धितोपत्र कारोबार हुने साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ।

बजारमा आज १७.३८ अंकको गिरावट आएको छ। योसँगै नेप्से परिसूचक १९०१.९९ को विन्दूूमा झरेको छ।

राम्रा र बलिया कम्पनीको सूचक सेन्सेटिभ इन्डेक्स पनि २.८८ अंकले घटेर ३६२.२२ को विन्दूूमा ओर्लेको छ। कारोबार रकम करिब २ अर्ब रुपैयाँको हाराहारीमा भएको छ।

नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल आजको घटाइ नाफा बुक रहेको बताउँछन्। ‘बजारमा अल्पकालीन लगानीकर्ता हाबी भएका छन्, दैनिक नाफा खोजेका हुन्छन्’, उनले भने, ‘त्यसैले हिजो बढेको बजारबाट आज नाफा बुक गरेको हुन सक्छ।’

निक्षेप बढ्दै जाँदा कर्जाको ब्याजदर घटिरहेको ढकाल बताउँछन्। ‘बैंकहरुको बेस रेट पनि घटिरहेको छ’, उनले भने, ‘त्यसैले बजार अब विस्तारै माथि नै जानेछ।’

शाइन रेसुंगा डेभलपमेन्ट बैंकका सञ्चालक वीरेन्द्र बिष्ट पनि आजको घटाइ नाफा बुक भएको बताउँछन्। सबैतिर सकारात्मक महौल रहेकोले भदौसम्म बजार २५००को विन्दुमा पुग्ने ३ आधार बिष्टले प्रस्तुत गरेका छन्।

सेयर बजारमा पहिलो भनेको नियामक निकायहरुको नीति नै रहेको बिष्ट बताउँछन्। ‘जुन विस्तार सहज बन्दै गएको छ’, उनले भने।

अर्को भनेको ब्याजदर रहेको बिष्टले बताए। ‘ब्याजदर पनि घट्दै गएको छ’, उनले भने।

बजारको चक्रलाई बिष्टले तेस्रो आधारका रुपमा प्रस्तुत गरे। ‘यी तिनै कुरा सकारात्मक बन्दै गएकोले बजार पनि माथि जाने देखिन्छ’, उनले भने।

राष्ट्र बैंक बैंकहरुलाई कर्जा पुनर्तालिकीकरण र पुनर्संरचना गर्न सुविधा दिएकोले बैंकहरुको खराब कर्जा घट्ने बिष्टको भनाइ छ।

आज नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा रातो पोतिएको छ। यो दिन उत्पादन तथा प्रशोधन समूह सर्वाधिक २.४६ प्रतिशतले ओरालो लागेको छ।

व्यापार समूह १.६७ प्रतिशतले घट्दा बैंकिङ समूहमा ०.७५ प्रतिशत, विकास बैंक समूहमा १.४५ प्रतिशत, वित्त समूहमा १.१० प्रतिशत, होटेल तथा पर्यटन समूहमा ०.८० प्रतिशत, जलविद्युत समूहमा ०.४८ प्रतिशत, लगानी समूहमा ०.८१ प्रतिशत, जीवन बीमा समूहमा १.२७ प्रतिशत, लघुवित्त समूहमा ०.५३ प्रतिशत, म्युचुअल फन्ड समूहमा ०.२३ प्रतिशत, निर्जीवन बीमा समूहमा ०.६१ प्रतिशत र अन्य समूहमा १.५१ प्रतिशतको गिरावट आएको छ।

धेरै कारोबार गर्ने कम्पनीहरु

आज नेप्सेमा सूचीकृतमध्ये २७७ कम्पनीका ५६ लाख २० हजार ३८१ कित्ता सेयर १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँमा किनबेच भएका छन्।

यो दिन शिवम सिमेन्टको सर्वाधिक १९ करोड ८९ लाख रुपैयाँ बढीको कारोबार भएको छ। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ९ करोड ९८ लाख रुपैयाँबराबरको भएको आज चिलिमे हाइड्रोपावरको ९ करोड १९ लाख रुपैयाँ, सानिमा माई हाइड्रोपावरको ७ करोड ४७ लाख रुपैयाँ, सोल्टी होटेलको ७ करोड ३० लाख रुपैयाँ, हिमालयन डिस्टिलरीको ३ करोड ८८ लाख रुपैयाँ, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोड ८१ लाख रुपैयाँ, एनआईसी एसिया बैंकको ३ करोड ७१ लाख रुपैयाँ, हिमालयन एभरेस्ट इन्स्योरेन्सको ३ करोड ६४ लाख रुपैयाँ र नेपाल इन्स्योरेन्सको ३ करोड ३७ लाख रुपैयाँ बढकिो कारोबार भएको छ।

धेरै कमाउने र धेरै गुमाउने

आज रिभर फल्स पावरका सेयरधनीहरुले धेरै कमाए। यो कम्पनीको सेयरभाउमा १० प्रतिशतको बढोत्तरीका साथ पोजिटिभ सर्किट लागेको छ।

यो दिन शिवम सिमेन्टका सेयरधनीहरुले धेरै गुमाए। यो कम्पनीको सेयरभाउ साढे ४ प्रतिशतले ओरालो लागेको छ।

 

Untitled
Untitled
Untitled