२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

सोमबारदेखि सेयरबजारमा नयाँ नियम लागू, सूचीकृत कम्पनीको सेयरभाउ १५% घटबढ हुने

Untitled
Untitled
Untitled

काठमाण्डू, वैशाख ७ गते सोमबारदेखि सेयरबजारमा नयाँ नियम लागू हुने भएको छ ।

नेप्सेका प्रवक्ता मुराहरी पराजुलीका अनुसार सोमबारदेखि सेयरबजारमा ५ नयाँ व्यवस्था लागू हुने भएको हो ।

अब बजारमा सर्किट ब्रेकको सीमा र सेयरमूल्य परिवर्तनको सीमा परिवर्तन हुनेछ ।

नेप्सेले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली, २०७५’मा संशोधन गर्दै सोमबारदेखि लागू गरिने जनाएको छ ।

संशोधित व्यवस्थाअनुसार अब सोमबारदेखि लागू हुनेगरी सूचीकृत कम्पनीहरुको सेयरमूल्यमा लाग्दै आएको सर्किट सीमा र प्री–ओपन सेसनको मापदण्डमा परिवर्तन हुने नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले बताए ।

नेप्सेका अनुसार अबदेखि सूचीकृत कम्पनीको दैनिक सेयर घटबढ हुन पाउने सीमालाई १० प्रतिशतबाट बढाएर १५ प्रतिशत पुर्याइएको छ ।

अब कम्पनीहरुको सेयरभाउ १५ प्रतिशतसम्म घटबढ हुने सक्नेछ ।

त्यस्तै, बजार खुल्नुअघि सञ्चालन हुने प्री–ओपन सेसन (बिहान १०ः३० देखि १०ः४५ बजेसम्म) मा लागू हुने मूल्य सीमामा पनि परिवर्तन गरिएको छ ।

अब उक्त सेसनमा सेयरको मूल्य अधिकतम ५ प्रतिशतसम्म घटबढ गर्न पाइनेछ । यसअघि यो सीमा निकै न्यून भएकाले बजार खुल्नेबित्तिकै मूल्य सन्तुलनमा समस्या देखिने गरेको थियो ।

त्यस्तै, नेप्से इन्डेक्सको सर्किट ब्रेकर प्रणालीमा पनि संशोधन गरिएको छ ।

नयाँ व्यवस्थाअनुसार कारोबार शुरु भएको पहिलो दुई घण्टाभित्र नेप्से परिसूचक ५ प्रतिशतले बढे वा घटेमा कारोबार १५ मिनेका लागि स्थगन गरिनेछ ।

यसअघि ४ प्रतिशत वा घटे वा बढेमा २० मिनेटसम्म बजार स्थगित गर्ने व्यवस्था थियो ।

साथै ५ प्रतिशतको ब्रेकपछि बजार खुलेर नेप्से परिसूचक ८ प्रतिशतले घटे वा बढेमा उक्त दिनको लागि सम्पूर्ण कारोबार बन्द हुनेछ ।

यसअघि ६ प्रतिशतले बजार घटबढ भएमा बजार बन्द हुने व्यवस्था थियो ।

त्यस्तै, संशोधित विनियमावली अनुसार नेपालको पुँजी बजारमा पहिलो पटक ‘अफ्टर मार्केट अर्डर’ प्रणाली लागू गर्न लागिएको छ।

यस व्यवस्थाअन्तर्गत नियमित कारोबार समय बाहिर पनि सेयर किनबेचका लागि अर्डर दिन सकिनेछ ।

यसका साथै अब सोमबारदेखि नियमित कारोबार समयमा हुने प्रत्येक सेयर कारोबारमा मूल्य ३ प्रतिशतसम्म घटबढ हुन सक्नेछ ।

यसअघि भने २ प्रतिशतसम्म मात्रै मूल्य परिवर्तन हुने गरी अर्डर दिन पाइने व्यवस्था थियो। अब उक्त सीमालाई बढाएर ३ प्रतिशत पुर्याइएको हो ।

Untitled
Untitled
Untitled