२०८३ जेठ २१ बिहीवार | Thursday, Jun 04 2026

भारतको अदानी ग्रुपले नेपालमा चिनियाँ कम्पनीसँग मिलेर ३ परियोजनामा लगानी गर्ने

Untitled
Untitled
Untitled

काठमाडौ, विश्वकै धनीमध्येका गौतम अदानीको अदानी ग्रुपले नेपालमा लगानी गर्ने विषयमा छलफल सुरु गरेको छ।

सो समूहले विभिन्न परियोजनामा लगानी गर्नका लागि नेपाली कम्पनीहरुसँग छलफल अघि बढाएको हो।

अदानी ग्रुपको नेपालमा अहिलेसम्म लगानी भने छैन। अदानी ग्रुपका प्रतिनिधि दरबारमार्गको एक होटलमा बसेर नेपालका परियोजनामा लगानी गर्ने विषयमा छलफल गरिरहेका छन्।

उनीहरुले नेपालको आयोजनाहरुको मूल्याङ्कन गरिरहेका छन्। र, त्यसमा सहकार्य गर्ने कम्पनीहरुसँग पनि कुराकानी गरिरहेका छन्।

तर, सो समूहले कुन परियोजनामा लगानी गर्ने भनेर अहिलेसम्म कुनै प्रस्ताव नेपाल सरकारका निकायमा भने गरेको छैन।

लगानी प्रस्ताव पेस गर्नुपर्ने नेपाल लगानी बोर्ड तथा उद्योग विभागमा उसले प्रस्ताव लगेको छैन। तर, मुख्यतः तीन परियोजनामा छलफल लगानी गर्नेबारे छलफल गरिरहेको छ।

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी निकट मानिने गौतम अदानी विश्वकै धनीमध्येका एक व्यवसायी हुन्। अदानी ग्रुपका एक सम्पर्क व्यक्तिका अनुसार नेपालमा सो समूहले तीन परियोजनामा लगानीको लागि चासो राखेको हो।

उनले भने, नेपालमा पहिलेदेखि नै लगानी गर्न खोजेको सौर्य उर्जामा हो, त्यस परियोजनामा केही कुरा अघि बढेको छ। त्यसका अलावा जलविद्युत आयोजना र प्रसारण लाइनमा लगानी गर्ने विषयहरु समावेश छन्।’

अहिले सहकार्य गर्ने कम्पनीहरुसँग छलफल भइरहेको उनी बताउँछन्। अदानी ग्रुपले यसअघि पनि सौर्य उर्जाको लागि नेपालमा लगानी गर्ने जनाएको थियो।

त्यस्तै, नेपाल इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट बैंकसँग मिलेर प्रसारण लाइनको लागि लगानी गर्ने विषयमा पनि सो समूहले छलफल सुरु गरेको छ।

खासगरी पूर्व–पश्चिम प्रसारण लाइन र मेगा जलविद्युत आयोजनामा उसको चासो छ। मुगु कर्णाली जलविद्युत आयोजना र कर्णालीको चिसापानी बहुउदेश्यीय आयोजनामा यो ग्रुपले चासो राखेको हो।

त्यसका बाहेक नेपालमा एक सिमेन्ट उद्योग स्थापना गर्ने विषयमा समेत यो ग्रुपले छलफल गरेको छ। अदानी ग्रुपले चासो राखेका योजनाहरु निकै महत्वपूर्ण छन्।

मुगु कर्णाली १ हजार ९ सय मेगावटाको जलविद्युत आयोजना हो। नेपालमा विद्युत् उत्पादन गर्न सकिने ठूलो आयोजना मध्ये एकमा पर्छ यो।

यसको डीपीआरका लागि अदानी ग्रुपले चासो राखेको हो। त्यस्तै कर्णालीकै चिसापानी बहुउदेश्यीय आयोजनामा अदानी ग्रुपको चासो छ।

यो आयोजनाबाट नेपाल र भारत दुवैतिर सिंचाइ परियोजना चलाउन सकिने र विद्युत् उत्पादन १० हजार मेगावाटभन्दा बढी गर्न सकिने अनुमान छ। यस आयोजनाको प्रारम्भिक अध्ययन नै अदानी ग्रुपले गर्न चाहेको छ।

महत्वपूर्ण कुरा के छ भने अदानी ग्रुपले नेपालमा लगानी तथा प्राविधिक सहकार्यको लागि चिनियाँ कम्पनीसँग पनि छलफल गरेको छ।

उसले चीनको निर्माण क्षेत्रमा लगानी तथा अध्ययन गर्ने सिनोमा इन्टरनेसनल कम्पनीसँग लगानी सहकार्यकोे लागि छलफल गरेको हो।

भारत र चीनका यी दुवै व्यवसायी समूहबीच अहिले नेपालमा छलफल भइरहेको उच्च स्रोतहरूले जनाएका छन्।

चिनियाँ सिनोमा कम्पनी टेक्नोलोजी र इन्जिनियरिङ प्लाटफर्म होे। यो सिमेन्ट प्रविधि, उपकरणका लागि विश्वको अग्रणी सेवा प्रदायक पनि हो।

र, इन्जिनियरिङ प्रणाली एकीकरण, चीनको उच्च प्रविधि र प्राविधिक नवप्रवर्तन प्रदर्शन गर्ने कम्पनीमा पर्छ।

सन् २००१ मै चीनको सिमेन्ट प्रविधि, उपकरण र इन्जिनियरिङ व्यवसायको सबैभन्दा गुणस्तरीय कम्पनीमा छनोट भएको यो कम्पनी पब्लिक कम्पनी हो। जुन सांघाइ स्टक एक्सचेन्जमा सूचीकृत छ।

यस कम्पनीले चीनको पूर्वाधार निर्माण र आर्थिक विकासमा ठूलो योगदान पुर्‍याएको छ। कम्पनीले हालसम्म ८० भन्दा बढी देशहरूमा सिमेन्ट उत्पादन गरिरहेको छ।

यस्तो कम्पनीसँग मिलेर अदानी ग्रुपले नेपालको आयोजनाको अध्ययन तथा विकास गर्नेबारे छलफल गरेको छ। तर, आधिकारिक प्रस्ताव भने अहिलेसम्म नभएको लगानी बोर्डका सीईओ सुशील भट्ट बताउँछन्।

‘नेपालमा अदानी ग्रुपले लगानी गर्न चाहेको भन्ने विषयहरु सुन्नमा आएका छन्,’ लगानी बोर्डका सीईओ भट्टले भने, ‘तर अहिलेसम्म आधिकारिक रुपमा उनीहरुको कुनै प्रस्ताव आएको छैन।’

 

Untitled
Untitled
Untitled