२०८१ कात्तिक २८ बुधवार | Wednesday, Nov 13 2024

धार्मिक एवं पर्यटकीय क्षेत्र गोसाइँकुण्डको यात्रा स्मरण

Untitled
Untitled
Untitled

नेपाल प्रकृतिको वरदान हो । यहाँ स्वदेशी–विदेशी पर्यटकहरुको भ्रमणका लागि अतुलनीय सुन्दर स्थानहरु प्रशस्त छन् । केही वर्षअघि पोखरा, चितवनतिर विदेशी पर्यटकहरुको आगमनमा कमी भए पनि आन्तरिक पर्यटकहरुबाटै व्यवसायीलाई राहत पुगेको समाचार पनि पढ्न पाइएको अवस्था थियो । नेपाल सरकारले पनि आवश्यक विकास र आर्थिक गतिविधि चलायमान बनाउने हेतु कर्मचारीहरुलाई पर्यटन काजको व्यवस्था गरेकाले पनि पर्यटन क्षेत्रमा अतुलनीय सहयोग पुगेको छ । त्यसैले सरकारको यस्तो व्यवस्थालाई सकारात्मक रुपमा लिन सकिन्छ ।

गतवर्षहरुमा कोरोना प्रकोपको कारणले देशको अर्थतन्त्रमा निकै असर परेको थियो । पर्यटन व्यवसाय पनि यसबाट अछूतो नरहेको प्रस्ट नै छ । कोरोना मत्थर हुँदै गएपछि यो वर्ष अन्तर्राष्ट्रिय पर्यटकहरुको आगमनमा वृद्धि भएको खबर सुन्न पाएकोलाई सुखकर मान्न सकिन्छ ।
मनोरञ्जन र आफ्नो स्वास्थ्यका लागि पनि आफूले बसोबास गरिरहेको स्थान परिवर्तन, कार्यबोझ र मानसिक थकानबाट विश्राम अनि नयाँ परिवेश र जनजीवन बझ्नका लागि पनि यस्ता भ्रमणहरु जीवनका अनिवार्य पाटा नै हुन् ।

यसै परिवेशमा गत कार्तिक अन्तिमतिर मलाई चार दिनको गोसाइँकुण्ड भ्रमणको अवसर मिल्यो । त्यो भ्रमणको केही पक्ष उल्लेख गर्न समसायिक नै हुने ठान्छु । भ्रमण गर्न इच्छुक वर्गलाई फाइदाजनक हुने अपेक्षा पनि गर्दछु ।

पहिलो दिन काठमाडौंबाट थानकोट, त्रिशूली हँदै धुन्चेमा पुगेर बास बसियो । धुन्चे प्रवेश नाकामा प्रवेश शुल्क, झोला जाँच, फर्किंदा पनि जाँच हुने कुराको जानकारी, स्वास्थ्य स्थिति आदि हुने रहेछ । यात्रामा आवश्यक तयारीका रुपमा हिँडाइ, भारी बोकाइको अवस्थालाई पनि मध्यनजर राखिनुपर्ने देखिन्छ । लाङटाङ राष्ट्रिय निकुञ्जबाट वितरीत ब्रोसर पनि पढ्नु उपयोगी छ । यसमा आगुन्तकहरुले पालन गर्नुपर्ने नियम उल्लेख रहेछ । त्यस्तै वन्यजन्तु संरक्षणमा बाधा नपुर्याउन अन्यथा कानुन बमोजिम सजाय हुने कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ । प्रवेश शुल्कको आम्दानी विभिन्न क्षेत्रमा लगानी हुने जानकारी पनि दिएको हुने रहेछ ।

यस क्षेत्रमा मुख्यतया तामाङ, योल्मो, भोटियाको बस्ती भएको उल्लेख सो ब्रोसरमा उल्लेख छ । भ्रमणस्थलको दूरी, समय, भ्रमण गर्न उपयुक्त मौसम आदि पनि सुन्दर पक्ष नै हुन् । यसै गरी यस क्षेत्रको नक्सा पनि समावेश भएबाट इच्छुक व्यक्तिहरुलाई थप पे्ररणादायी नै भएको छ । धुन्चेमा भएको शंखपार्क, पद्मसम्भवको मूर्ति र नजिकको हिमालको दृश्य पनि निकै मनमोहक लाग्छ ।

दोस्रो दिन धुन्चेबाट (समुद्री सतहबाट करिब १९०० मिटर उचाइ) हिँडेर उकालो बाटो लाग्दै, विश्राम लिँदै ५ कि।मि।को बाटो करिब ६ घन्टा लगाई चन्दनबारी ९३२५० मिटर उचाइ० मा पुगियो । त्यहाँ खाना खाने र आरामको क्षण पनि मिल्यो । समूहगत भ्रमण र हिँडाइको फरकपनबाट ढिलो–चाँडो पुग्नु पनि यसका मीठा पलहरु नै मान्न सकिन्छ । भमणका सबै सदस्यहरुले खाना खाएपछि पुनः बिस्तारै माथि चढ्न थाल्यौं । करिब तीन घन्टाको यात्रा, ३.५ कि.मि.को यात्रापछि च्यालाङपाटी (समुद्री सतहबाट करिब ३६०० मिटर उचाइ) मा पुग्यौं । हाम्रो रात्रिकालीन बास त्यहीँ भयो । यसरी त्यस दिन १७०० मिटर उचाइ र ८.५ कि.मि.को यात्रा भयो । रातिको खानापछि भोलिपल्ट चाँडै उठ्ने गरी सबैजना सुत्यौं ।

तेस्रो दिन बिहानै उकालो चढी करिब दुई घन्टाको यात्रामा लौरीविना (३९०० मिटर उचाइ र दूरी करिब २ कि.मि.) पुगियो । त्यहाँ केहीबेरको आरामपछि अन्तिम र मूल गन्तव्य गोसाइँकुण्डको लागि प्रस्थान गर्यौं । करिब चार घन्टामा ३.५ कि.मि. तथा ४३८० मिटर उचाइको गोसाइँकुण्ड नपुगेसम्म, उताबाट फर्किरहेका स्वदेशी–विदेशी यात्रुहरुसँग सामान्य हाई हेलोदेखि अब कति बाँकी छ, कहाँबाट आउनुभएको आदि कुराहरु पनि यात्राका मनमोहक पक्ष नै मान्न सकिन्छ ।

चिसो बतास, नजिकै हिमाल, पहाडको मनमोहक दृश्य, गोसाइँकुण्ड नपुग्दै भैरव कुण्ड, स्वरस्वती कुण्ड अवलोकन गर्दै गन्तव्यस्थलमा पुग्दा सबैको मुहारमा अनुपम खुशीको लहर प्रस्ट नै देख्न सकिन्थ्यो । त्यहाँ पुगेपछि कोही पूजाआजामा, कोही नुहाउनपट्टि लागे । त्यहीँ खाना खाई केहीक्षणको विश्रामपछि पुनः फर्किन तयारी भयो ।

खाना खाएको होटलमा भएको कुराकानी, हिउँदमा करिब तीन महिना सो स्थानमा बस्न नसकिने, धुन्चे, स्याफु्रबेसी आदि स्थानमा झर्ने, स्कूल, स्वास्थ्यका जटिलता आदिको छलफल पनि विशेष यादगारका पल नै हुन् । यसरी स्थानीयवासीहरुले आवश्यकता बमोजिमको सेवा दिइरहेकोप्रति कृतज्ञताको भाव नै आउँछ । यसै गरी यात्रुहरुको भारी बोक्ने र अस्वस्थताको अवस्थामा भरियाको सेवा दिइरहेका व्यक्तिहरु, गधाबाट ओसारपसार गरिरहेको सेवा पनि त्यस भेग र यात्राको एउटा अभिन्न अंग भएको सर्वविदित नै छ ।

आफू उकालो चढ्दै गर्दा फर्किरहेकाहरुसँग अब कति समय लाग्छ भनेर सोध्ने अनि फर्किंदाचाहिँ उकालो लागिरहेकाहरुले अब कति समय लाग्छ भनेर सोध्ने प्रसंग निकै रोमाञ्चकारी अनुभव नै मान्न सकिन्छ । अझ कोही हिँड्न कठिन भएका, सँगै आएका साथीहरु पनि एक्लाएक्लै यात्रा गर्न पर्ने बाध्यता, अब कहाँ बास पाइन्छ, बासस्थान पुग्न कति समय लाग्छ आदि कुरा झनै स्मरणीय हुनेछन् । देशका विभिन्न क्षेत्रका यात्रुहरुसँगको क्षलफल पनि सुखकर पक्ष नै हुन् ।

चौथो दिन बिहानै चन्दनबारीबाट भार्खुतर्पm लाग्यौं र करिब ४ घन्टामा त्यहाँ पुग्यौं । भार्खुबाट धुन्चे प्रवेश विन्दुमा पुनः झोलाहरुको जाँचपश्चात् त्रिशूली हुँदै फर्कियौं । यसरी धुन्चे (करिब १९०० मिटर) देखि ४३८० मिटर (आधा सगरमाथा) को उचाइसम्मको सामूहिक यात्रा, तीन रात बसाइ, ठाडो उकालो, लेक लाग्ने कहावत, एक दिनमा बढीमा १००० मिटरभन्दा बढी उकालोको यात्रा गर्न नहुने आदि जानकारी पनि जीवनको अनमोल पलहरुकै रुपमा रह्यो ।

यात्रापूर्वको तयारीको क्रममा व्यक्तिगत आवश्यकताका सामग्रीबाहेक लौरो, यात्राको लागि उपयुक्त झोला, जुत्ता, चश्मा (कालो), तातो पानीको लागि थर्मस, बेलाबेलामा पानी पिउने, स्याउ, खुर्पानी खाने, यात्रामा कुन खान हुने/नहुने, लेक लाग्नबाट बच्च दिनमा १००० मिटर भन्दा बढी यात्रा नगर्ने, कहाँ बास बस्ने, कति हिँड्ने आदि जानकारी भएमा यात्रा सहज हुने देखिन्छ । खाली लहड र इच्छा गरेर मात्र जाँदा कष्टकर नै हुने देखिन्छ । आवश्यक तयारीसहित यात्रा भएमा मात्र निकै हर्षित र मन प्रफुल्लित हुुन्छ ।

Untitled
Untitled
Untitled